समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ « Khabarhub

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फूल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ ।

दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रसस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन् । “पहिला त पैयुँ वनैभरी थियो”, उनी भन्छन्, “कात्तिक लाग्न थालेपछि फूलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।”

खड्का भन्छन्, “विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर, अहिले यो पाउन छाडेको छ ।” गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । “यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?”, उनी प्रश्न गर्दै भन्छन्, “यो हराउनु सामान्य कुरा होइन ।”

पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन् । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालीगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फूल्न थाल्थ्यो । तर, अहिले पुस महिनादेखि नै फूल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालीगुराँस फूल्ने समयमा परिवर्तन आएको बताउँछन् ।

“पहिला लालीगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फूल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फूल्न सुरु गर्छ ।” शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फूल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन् ।

पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमासमेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदै आएका प्रध्यापक डा पुष्पराज आचार्य बताउँछन् । उनी भन्छन्, “अहिले विश्वमै तापमानमा वृिद्ध भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धीको असर फूल फूल्ने बिरुवामा अधिक पाइएको छ ।” पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौंमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । “पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो”, उनले भने ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउँछिन् । “पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन”, उनले भनिन् । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : २३ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ