डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक « Khabarhub

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका हुन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाईफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् ।

चितवनबाट रारा तालमा घुम्न आएका र्‍याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, “तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४–१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ ।”

क्षमताभन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए । “लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातिमा बाँध्ने फिता नभएका अवस्थामा छन्”, उनले भने, “यसले कुन बेला दुर्घटना निम्ताउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।” यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्‍याफ्टिङ गाइड गुरुङको भनाइ थियो ।

“म ८० जनाको टिम लिएर रारा आउँदैछु । यस्तो अवस्था देखे के भन्लान ? समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ”, पर्यटन घुमाउन ल्याउनुपूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने । यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताए ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुङ्गा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । नाम बताउन नचाहने डुङ्गा चालक भन्छन् “यहाँका डुङ्गा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ । लाइफ ज्याकेटका बारेमा निकुन्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।”

समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुङ्गा रहेका जानकारी दिए । “निकुञ्जले ज्याकेट खरिद गरेको छरसात वर्ष पुगिसकेको छ”, उनले भने, “कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।” डुङ्गाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो ।

निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै सत्यता नभएको बताए । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दो र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो ।

यहाँ रहेका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे । गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : २९ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी