विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इण्डोनेसियाको समुद्री तटमा २ सय रोहिङ्ग्या अलपत्र

इण्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुन्द्री तटमा आइतबार करिब दुई सय रोहिङ्ग्या शरणार्थीहरू अलपत्र परेका छन् ।

सन् २०१५ यता उत्पीडनमा परेका म्यान्मारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायको सबैभन्दा ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका शरणार्थी स्थानीय समयअनुसार शनिबार बिहान ३ः०० बजे डुङ्गाबाट आएका हुन् । सन् २०१७ मा म्यान्मारको सेनाले गरेको कारबाहीको निशानामा अधिकांश मुस्लिम रोहिङ्ग्या समुदाय परेपछि संयुक्त राष्ट्रसङ्घले नरसंहारको अनुसन्धान शुरू गरेको थियो ।

करिब १० लाख मानिस भागेर बङ्लादेश पुगेका छन् र त्यहाँबाट हरेक वर्ष हजारौंले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इण्डोनेसिया पुग्न लामो र महङ्गो समुद्री यात्रा गर्छन् । “उनीहरूलाई अवतरण स्थलमा राखिनेछ । यस पटक सरकारले कुनै खर्च ब्यहोर्ने छैन,” आचे प्रान्तको पीडी सोसल एजेन्सीका प्रमुख मुस्लिमले बताए ।

उनले शरणार्थीलाई टेन्ट वा अन्य कुनै आधारभूत आवश्यकताको व्यवस्था गर्ने जिम्मेवारी स्थानीय सरकारले नलिने बताए । शरणार्थीहरू समुद्र तटमा भेला भएका र केही महिला (आमा) हरूले आफ्ना बच्चाहरूलाई काखमा बोकेको भिडियो स्थानीय सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको छ ।

बालबालिकामध्ये कतिपय नाङ्गै अवस्थामा रहेको भिडियोमा देख्न सकिन्छ । लामो समुद्री यात्रापछि आरामका लागि अधिकांश व्यक्ति समुद्र किनारमा सुतेका देख्न सकिन्छ । मुस्लिमले भने, “पीडीमा आश्रयको कुरा गर्ने हो भने अब कुनै ठाउँ उपलब्ध छैन ।”

स्थानीय अधिकारी र स्थानीयबासिन्दाले उत्पीडनमा परेका रोहिङ्ग्यालाई अस्वीकार गर्दै आएका छन् र गत महिना एक हजारभन्दा बढी रोहिङ्ग्यालाई समुद्रमा फर्काउने धम्की दिइरहेका छन् । बुधबार आचेको सबाङ टापुमा करिब १५० जना प्रदर्शनकारीले रोहिङ्ग्या शरणार्थीलाई अन्यत्र सार्न माग गर्दै प्रहरीसँग झडप गरेका थिए ।

राष्ट्रपति जोको विडोडोले स्थानीय समुदायको हितलाई प्राथमिकतामा राखेर शरणार्थीका लागि अस्थायी राहत उपलब्ध गराइने बताएका छन् । डुङ्गाबाट आफ्नो देश पुग्ने रोहिङ्ग्या शरणार्थीको बढ्दो संख्याका पछाडि मानव बेचबिखनको सञ्जालको हात रहेको आरोप लगाउँदै उनले दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इण्डोनेसियाले संयुक्त राष्ट्रसंघीय शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यानमारबाट शरणार्थी ल्याउन बाध्य नहुने बताएको छ । छिमेकी देशहरूले पनि आफ्नो ढोका बन्द गरेका कारण अल्पसङ्ख्यक शरणार्थी समूहलाई जोखिम मोलेर टाढा टाढा पुगी गुजारा चलाउनु बाध्यता बनेको छ ।

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार

रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।

इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करिब १० ३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपतकालीन कोठासम्म फैलिएको थियो ।

मृतक चार जनामध्ये दुई जनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको र अर्का एक जनाको जलेर मृत्यु भएको छ । शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ ।

उद्धार गरिएका मध्ये सात बालबालिका र धेरैजसो बच्चाहरू रहेका छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएका मध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् ।

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल लगिएको छ ।

घटना लागूऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ ।

गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६ सय ३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।

राष्ट्रपति चयनका लागि इजिप्टमा मतदान सुरु

इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल छ ।

निर्वाचनमा प्रत्यासी अब्देल फताह अल सिसी विजयी हुने अपेक्षा गरिएको छ। करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ।

पूर्वसेना प्रमुख रहेका अल सिसी इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ०७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः