महोत्तरी- महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट प्रक्रियालाई अगाडि बढाइने निर्णय गरिएको छ । लामो समय देखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिबास नगरपालिकाले विभिन्न १० शीर्षकमा रहेर जग्गा वर्गीकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो ।
व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्त्विक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र गरी नगर भरिको जग्गालाई १० भागमा विभाजन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।
जग्गा वर्गीकरण वैज्ञानिक ढङ्गबाट गरिएको हुनाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सको दाबी छ । नगर क्षेत्रको जम्मा ३१५.४ स्क्वायर फिट बर्गकिलोमिटर जगामध्ये कृषि क्षेत्रको लागी मापदण्डअनुसार ५ हजार ४ सय ८३ हेक्टर जग्गा रहेको सिटी विल्डर्सले जनाएको छ ।
त्यसैगरी आवासीय क्षेत्रको २७०७ हेक्टर, व्यावसायिक क्षेत्रको ८८४.०७ हेक्टर, औद्योगिक क्षेत्रको ०.१७ हेक्टर, कला, संस्कृति तथा पुरातात्त्विक महत्त्वको क्षेत्रको जग्गा ५.४९ हेक्टर, वन क्षेत्रको १८८७३.०६ हेक्टर, नदी, खोला, सिमसार क्षेत्रमा २९२६.२३ हेक्टर, खानी तथा खनिज क्षेत्रमा १०.८६ हेक्टर, सार्वजनिक उपयोगको क्षेत्रमा १०.८६ हेक्टर क्षेत्रफल रहेको नगरपालिकाले जनाएको छ ।
यो जग्गा अहिलेको मापदण्डअनुसार वर्गीकरण गरिएको हो । अहिलेको तथ्याङ्कलाई आधार मान्ने हो भने यसअघि भएको वर्गीकरणमा निर्धारण गरिएको क्षेत्रफल घटेको देखिएको छ ।
सहरीकरणको विकाससँगै कृषियोग्य जग्गा खुम्चिएको देखिएको छ भने आवासीय क्षेत्रमा वृद्धि भएको छ । २०७४ को तथ्यांकअनुसार कृषि क्षेत्रमा ८२३२ हेक्टर खेतीयोग्य जमिन थियो तर अहिलेको वर्गीकरणमा यो क्षेत्रफल खुम्चिएर ५४८३ हेक्टर क्षेत्रफल बनेको छ ।
यो ५ वर्षको अवधिमा व्यावसायिक क्षेत्रमा निक्कै बिस्तार भएको देखिएको छ । २०७४ मा १३.१ व्यावसायिक क्षेत्र रहेकोमा यो अहिले बढेर ८८४.०७ हेक्टर पुगेको नगरपालिकाले जनाएको छ ।
पहिले र अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने नदी, खोला, ताल तथा सिमसार क्षेत्रमा अतिक्रमण भएको देखिएको छ । ५ वर्ष अघि ३६६०.८४ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेको वर्गीकरणमा घटेर २९२६.२३ हेक्टरमा खुम्चिएको छ ।
सेवा प्रदायक कम्पनीले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरणलाई नगरपालिकाको कार्यपालिकाले आजै सदर गरेको हो । कार्यपालिकाको निर्णयसहित आइतबार राजपत्राङ्कितमा प्रकाशित गरी केन्द्रीय नापी कार्यालयमा पठाउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।
प्रक्रिया पूरा हुनासाथ तुरुन्त कित्ताकाट गरेर बैङ्क कर्जा तथा किनबेच गर्न सक्ने नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।जग्गा वर्गीकरण गरी कित्ताकाट प्रक्रियामा यो नगर मधेस प्रदेश कै पहिलो पालिका बनेको छ ।
ओइलानी जग्गाको प्रक्रिया तत्काल अगाडि बढाइने
एलानी तथा अव्यवस्थित जग्गाको विवाद पनि तत्काल टुङ्ग्याउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको भनाइ छ ।
अघिल्लो सरकारबाट भएका त्रुटिका कारण कतिपय जग्गामा विवाद भएकै कारण तत्काल लालपुर्जा वितरण प्रक्रियामा समस्या बनेको प्रमुख क्षेत्रीले बताए ।
विवादित जग्गामा पुन: नापी गर्ने नापी कार्यालयसँग सहमति भएको छ ।´ उनले भने । ` सोमवार वा मंगलबार यस विषय पनि टुङ्गोमा पुग्नेछ ।´
विवादित जग्गाको समस्या सावधान भएपछि लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्ने पनि नगरप्रमुख क्षेत्रीको जिकिर छ ।
प्रतिक्रिया