अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति « Khabarhub

अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

गण्डकी– बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति ब्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 

‘२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा बङ्गुर मरे, करिब रु  २४ करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ’, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले भने, ‘भाइरसजन्य यो रोगको सङ्क्रमण दर र मृत्युदर दुवै उच्च छ ।’

पछिल्लो समय भने उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताएका छन्। शंकास्पद लक्षण देखिएका बङ्गुरको अहिले पनि नियमित स्वास्थ्य परीक्षण हुँदै आएकामा उक्त रोगको सङ्क्रमण नदेखिएको हो ।  

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएका बङ्गुर फार्मलाई ४५ दिनसम्म खाली गराई निसङ्क्रमण गरेरमात्र किसानले बङ्गुर पाल्न सुरु गरेको डा न्यौपानेले बताए । उनका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङलगायत जिल्लाका बङ्गुर फार्ममा बढी देखिएको थियो ।

‘सबैभन्दा बढी क्षति कास्कीमा भयो, अफ्रिकन स्वाइन फिभरबाट क्षति ब्यहोरेका किसानलाई आर्थिक सहायता दिन मन्त्रालयले व्यावसायिकता विकास कार्यक्रमका लागि यो वर्ष बजेट विनियोजन गरेको छ, त्यसबाट किसानलाई केही मात्रामा राहत पुग्छ’, डा न्यौपानेले भने ।

उक्त रोगको अहिलेसम्म ठोस औषधि र खोप पत्ता नलागेका कारण बङ्गुरलाई लक्षण कम गर्ने औषधिमात्र चलाउने गरिएको छ । ‘अफ्रिकन स्वाइन फिभर’ हुँदा बङ्गुरमा उच्च ज्वरो, शरीरमा धब्बा आउने, बढी र्‍याल छोड्ने, छेर्ने आदि समस्या देखिने गरेको पशु चिकित्सक बताउँछन् । सय वर्षअघि अफ्रिकामा देखिएको उक्त रोग दक्षिण एसिया हुँदै नेपाल प्रवेश गरेको बताइन्छ ।

डा न्यौपानेले अन्तर्राष्ट्रिय सीमा नाकामा पशु क्वोन्टिन र चेकजाँचस्थल व्यवस्थित नहुँदा यस्ता रोगहरु भित्रने गरेको बताए। उनले सरकारले खुला सिमाना भएको भारतसँगका नाकामा विशेष निगरानी गर्नुपर्ने उल्लेख गरे । अन्तरप्रदेश नाकामा पनि पशु क्वोन्टिन राख्नुपर्ने उनले बताए ।

‘अफ्रिकन स्वाइन फिबर’ थामिएसँगै किसान गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट समस्यामा परेका छन् । दुवै रोगका कारण गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा पनि ह्रास आएको छ । पछिल्ला दुई वर्षमा दूध, मासु र अण्डाको उत्पादन घटेको मन्त्रालयले जनाएको छ । आव २०७८-७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमा सीमित रह्यो । जुन छ दशमलव १४ प्रतिशतले कमी हो । 

मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८-७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार आव २०७८-७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा पुगेको जनाइएको छ । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलव ७२ प्रतिशतले गिरावट आएको हो । दानाको मूल्यवृद्धि, चल्लाको उपलब्धतामा कमी जस्ता कारणले अण्डा उत्पादन घटेको डा न्यौपानेले बताए ।

‘लम्पी स्किन’ रोग लागेर गण्डकीमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्