देश/प्रदेश

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

By खबरहब

October 11, 2023

सङ्खुवासभा– सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । 

मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्क विच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेलाबेला टावरमा समस्या आउने गरेको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । 

अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मङ्गलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको उनको भनाइ छ । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरे ।