कूटनीतिक परीक्षणमा अर्को हार | Khabarhub Khabarhub

कूटनीतिक परीक्षणमा अर्को हार



६५ वर्षअघि इजरायललाई स्वतन्त्र देशको मान्यता दिने नेपाल सरकारको निर्णयलाई अहिले पनि साहसी कुटनीतिका रुपमा स्मरण गरिन्छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुलाई उछिनेर तात्कालिन प्रधानमन्त्री बीपी कोइरालाले त्यो साहसिक निर्णय गरेका थिए । संयोगले श्रम र प्रज्ञाका लागि तीर्थ बन्दै आएको त्यही मुलुकमा रहेका हजारौं नेपाली अहिले प्राणको भीख मागिरहँदा देश किंकर्तव्यविमूढ छ ।

छिमेकी मुलुक भारतले आफ्ना नागरिक सुरक्षित अवतरण गराइसक्दा हाम्रो याचना काठमाडौं उपत्यकाको चारभन्ज्याङ कट्न सकेको छैन । राजनीतिक भागवण्डामा परेका राजदूतका लागि यो घडी टोक्नु न बोक्नु भएको छ । न उनीहरुको बोली सुनुवाई हुन्छ, न कूटनीतिक ज्ञान नै छ । नेपाली कुटनीतिज्ञको इजरायली सरकारतर्फ केन्द्रित हुनुपर्ने कुटनीतिक स्वर फेसबुक लाइभमा साँघुरिएको छ ।

हमासको निर्दयी आक्रमणमा १० जनाले ज्यान गुमाएका छन् । अन्य केही घाइते एवम् बेपत्ता भएका छन् । अरु धेरै नेपाली अझै अलपत्र परेका छन् । उनीहरुले आफूहरुलाई स्वदेश फर्काइदेउ भनेर सरकारसँग गुहार लगाइरहेका छन् ।

इजरायलमा चाइल्ड गिभरका रुपमा हजारौं महिलाले काम गर्ने गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश, खुलापत्र, तस्वीर पोस्ट गर्दै चित्कार गरिरहेका छन् । उनीहरुलाई कसरी त्यहाँबाट उम्किने भन्ने पिरलो छ । इजरायलमा रहेका नेपालीका परिवारलाई यहाँ एक निमेष चैन छैन । यस्तो अवस्थामा इजरायलमा युद्ध सुरु भएको चार दिन बितिसक्दा पनि सरकारले आवश्यक पहल गर्न सकेको छैन ।

सरकारी आँकडाअनुसार हालझण्डै ४५ सय नेपाली वैदेशिक रोजगारीको सिलसिलामा र अन्य १ सय जनाविद्यार्थी ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा बसोबास गर्दै आएका छन् । सरकारले त्यहाँ असुरक्षित नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको बताए पनि सास र लास खोज्ने परिवारलाई आश्वस्त पार्न सकेको छैन ।

सरकारको कूटनीतिक पहलप्रति जनता आश्वस्त हुन सकेका छैनन । नेपाली दूतावासले स्वदेश फर्कन चाहनेलाई ‘अनलाइन फाराम’ भर्न सुझाएको छ । सरकारको यस्तै कूटनीतिक सुस्तता रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा देखिएको थियो । हमासजस्तो कुख्यात लडाकु समूहले मानव वस्ती नै कब्जा गरेर लामो समयसम्म यसरी आक्रमण गरेको घटनामा हरेका घडी महत्वपूर्ण हुन्छ ।

केही सञ्चार माध्यमहरुमा आएका समाचारमा अन्य देशले आफ्ना नागरिकको सकुशल उद्धार गरिसक्दा नेपाली भने सामाजिक सञ्जालमा ज्यानको भीख माग्न बाध्य छन् । यसबीचमा फसेका र बन्धक बनाइएकाहरुको ज्यान पनि आततायी लडाकुको दयामा निर्भर रहन्छ ।

युवालाई विदेशमाश्रम गराएर अर्थतन्त्र धान्ने सरकारी नीतिका कारण हाल आधा करोड नेपाली इजरायलजस्तै विश्वका विभिन्न देशमा पुगेका छन् । उनीहरुको सुरक्षाप्रति न त सरकारले तदारुकता देखाएको छ न त भैपरी आउने सुरक्षा संकट वा प्राकृतिक विपदमा परेका नेपालीलाई सुरक्षित साथ स्वदेश फर्काउने कुनै संयन्त्र निर्माण गरिएको छ ।

हाम्रो सोचाइ नै केबल विश्वको सबै ठाउँमा शान्ति होस्, युद्ध नहोस्, कुनै प्रकोप नआओस्, यति भए नेपाली पनि सुरक्षित रहन्छन् भन्ने किसिमको भगवान भरोसा केन्द्रित हुन पुगेको छ । कथंकदाचित् कहीँ, कतै केही भइहाले, सुरक्षा संकट आइहाले वा धेरै मानवीय क्षति निम्त्याउने गरी दैवीप्रकोप आए के गर्ने भन्ने हाम्रो पूर्वतयारी नै छैन ।

इजरायल घटना त एउटा उदाहरण मात्रै हो । यस्तो नहोस् भनेर ईश्वरसँग कामना गरौँ, तर केही गरी इजरायलकै छरछिमेकमा रहेका साउदी अरब, संयुक्त अबर इमिरेट्स, कतार, ओमन, बहराइन, कुवेतजस्ता मुलुकमा यस्तै किसिमको सुरक्षा संकट अथवा ठूलो जनधनको क्षति हुने कुनै दैवीप्रकोप आइपरेको खण्डमा सरकारले के गर्छ ? खाडीका देशहरुमा झण्डै २५–३० लाख नेपाली कामदार रहेको बताइन्छ ।

इजरायलमा केबल ४५ सय–५ हजार नेपाली हुँदा त सरकारलाई उद्धार गर्न हम्मेहम्मे परेको छ भने भोलिका दिनमा केही गरी खाडीका देशमा रहेका दशौँ लाख नेपालीको उद्धार गर्नुप¥यो भने यसका लागि सरकार सक्षम छ ? यो प्रश्न महत्वपूर्ण छ ।

गत शनिबार प्यालेस्टाइनको गाजा क्षेत्रमा सक्रिय लडाकुले एकाबिहानै हजारौँ रकेट इजरायलतर्फ प्रहार गरेपछि उम्दा १० जनशक्ति नेपालले विदेशी माटोमा गुमाएको छ । हजारौँ रकेट प्रहार भएपछि इजरायलको अत्याधुनिकआइरन डोम हवाई प्रतिरक्षा प्रणाली नै असफल सिद्ध भयो, र एकाएक रकेटहरु इजरायली भूमिमा खस्न थाले । रकेटबाट घर, सडक, पूर्वाधारमा क्षति पुग्न गयो ।

त्यसलगत्तै ग्लाइडर, प्याराशुटमार्फत् एकाएक हजारौँ लडाकुहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरे । केही लडाकुहरु गाजा र इजरायली सीमाक्षेत्रमा लगाइएको छेकबार तोडेरै इजरायली भूमिमा प्रवेश गरेका थिए ।

त्यसपछि गाजा क्षेत्रको सीमानामा रहेका इजरायली मानव वस्ती कब्जा गरी जथाभावी गोली चलाउन थाले । त्यस्तै, केही इजरायली नागरिकलाई उनीहरुले अपहरण गरी गाजा क्षेत्रमा लगेर बन्दी बनाए । आफ्नो भूमिमा घुसपैठ गरेका लडाकुलाई परास्त गर्न इजरायललाई हम्मेहम्मे नै प¥यो । हालसम्म यस आक्रमणमा परी ८ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने अरु हजारौँ घाइते भएका छन् ।

अत्यन्त चुस्त सुरक्षा व्यवस्था रहेको मानिने इजरायलमा लडाकुहरुले घुसपैठ गरेर आक्रमण गरेको घटनाले आफैँमा ठूलो अर्थ राख्छ ।अझ सन् १९७३ मासिरिया र इजिप्ट मिलेर इजरायलमाथि सुरु गरेको योम किपुर युद्धको ५० औँ वार्षिकोत्सवमा भएको यस आक्रमणले धेरैलाई आश्चर्यमा पारेको छ ।

इजरायली सेना र मोसाद भनिने त्यहाँको जासुसी निकाय मध्यपूर्व मात्रै नभएर पूरा विश्वमै सक्षम र प्रभावकारी मानिन्छ । कसरी र के कारणले इजरायलको जासुसी र सैनिक संयन्त्र यस प्रकारको भीषण आक्रमणलाई रोक्न असफल भयो भन्ने प्रश्न पनि उठ्न थालेका छन् । यस आक्रमणको जवाफस्वरुप इजरायलले युद्धको घोषणा गरेको छ । इजरायली प्रत्याक्रमणमा परी कैयौँ प्यालेस्टाइनी हताहत भइसकेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ५३ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको