तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

By खबरहब

October 11, 2023

सिड्नी- जासुसी गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन् ।

उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन् ।

“उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो”, प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने । पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ ।

यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन । अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ ।