नेपालीहरूको दोस्रो ठुलो चाड तिहार दसैँको १५ दिनपछि आउने अर्को महत्त्वपूर्ण पर्व हो। जुन पर्व आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामबाट सुरु भएर कात्तिक कृष्ण पक्षको तृतीया तिथिको भाइटीकासम्म ५ दिन मनाइन्छ। यो ५ दिनसम्म मनाइने यम पञ्चक अर्थात् तिहारको महत्त्व के छ भन्ने विषयमा संस्कृतिविद् प्राध्यापक डा. विना पौडेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
यम पञ्चकको महत्त्व के छ ? हामीले मनाउने पर्वले हाम्रो सामाजिक विकासलाई यहाँसम्म ल्याएको छ। त्यो क्रममा मानिसले सिक्दै गएको देखिन्छ। जीवनलाई एउटा सरल तरिकाले जिउने तरिका पनि सिकाउने काम पर्वले गरेका छन्। हाम्रो आ–आफ्नो धर्म दर्शन अनुसार त्यसमा ती कुराहरूलाई मनोरञ्जनको ढङ्गले प्रवेश गराउने काम भएको छ। तिहार मात्र होइन हरेक पर्वमा हाम्रो ईश्वर प्रतिको कृतज्ञता देखिन्छ। हामी हरेक दिन नै बिहान उठिसकेपछि मैले आजको रात बिताउन पाएँ। अर्को दिन मेरो लागि महत्त्वपूर्ण हुन्छ भनेर पृथ्वीलाई ढाकेर मात्र टेक्ने चलन छ।
पुराणहरू भनेको हाम्रो सबै कुरा सनातन धर्मको अधिकांश चिजहरू संस्कारका कुराहरू चाडपर्वका कुरा सबै लिखित रूपमा छन्। हामीसँग जुन मौखिक परम्परा हुन्छ किंवदन्तीको रूपमा रहेको घर परिवारको रूपमा चली आएका थोरै छन्। हाम्रो शास्त्रको कुरा गर्दा सुरुमा वेदहरूको बेलामा यो भर्खरको सुरुवातको समय भएकोले यो सृष्टिको क्रमको कुरा त्यसपछि पर्यावरणलाई संरक्षण गर्ने कुरा र कुल परम्पराका कुराहरू र आफूभन्दा एउटा शक्तिमान चिज छ भन्ने विश्वासको रुपमा विकास भएको देखिन्छ। जस्तो पृथ्वीमा बस्ने हामी प्राणीहरू भयौँ सूर्य उदाउँछ, अस्ताउँछ, हावा चल्छ, पानी पर्छ भनेपछि मैले गर्न नसक्ने कुरा कुनै यस्ता शक्तिमानले गरिराखेको छ भनिन्छ। वेदमा प्रकृतिको पूजा नै धर्म थियो। जसलाई मैले मान्नु पर्छ भन्ने कुरा आएको देखिन्छ।
त्यो बेलामा यस्ता धेरै पर्वहरू सुरु भइसकेका थिएनन् तर उनीहरूले बिस्तारै पर्वहरू सुरु गर्दै गइसकेपछि तिहारको प्रसङ्ग एउटा पर्यावरणसँग जोडिएको छ। यसमा पन्छीदेखि जनावरसम्म पुजिन्छन्। गोवर्धन पूजा हुन्छ। हरेक पर्वले प्रकृतिसँग जोडिएको सन्देश दिने हो। त्यसमा यसको विस्तृत चर्चा यम र यमुनासँग जोडिन्छ। यम वैदिक देवता हुन्। यम र यमुनाको दाजु बहिनीको प्रसङ्ग एउटा समाजमा परिवारको विकास हुनेक्रममा कसरी दाजु बहिनीको सम्बन्ध हुनुपर्छ भन्ने एउटा ज्वलन्त उदाहरण लिएको कुरा हो।
यसलाई अहिलेको समाजमा जोडेर हेर्दा के देखिन्छ ? यही कुरा सुरुमा देवी देउतासँग जोडिएर आउँछ। दुई पक्षको कुरा समुन्द्र मन्थनको कुरामा र अरूमा एउटालाई हामी देवताहरू भन्छौँ। जसलाई हामीले राम्रो गुण भएका सत्वगुण भएका देवता भनेर सम्मान र पूजा आराधना गर्ने संस्कार विकास गरेका छौँ। अर्को पक्ष असुरहरू दानवहरू भनेर हामी भन्छौँ। त्यो भनेको हामी भित्र भएको नकारात्मक पक्षको यो दुई बिचमा विभेद भइरहने र सत्यको जित हुने भनेर हरेक पर्वमा जोडिन्छ। हामीले धार्मिक रूपमा हेर्दा वेदहरूलाई पढ्दा धेरै ऋषिमुनिहरुले अनुभव गरेर ल्याएका कुराहरूलाई शक्तिका रूपमा वेदमा हाल्नुभयो। त्यसमा पनि जसरी यम र यमुना भनेको वेदमा उल्लेख गरेका पात्र हुन्।
यमुनाको प्रसङ्ग मैले मेरो दाजुभाइको लागि लामो आयु माग्न भनेको छ। हामी जो पनि जन्मेपछि मर्नुपर्छ तर पनि हामीले पूर्ण आयु बाच्ने प्रयास गर्नुपर्छ। खानपानको माध्यमबाट सकारात्मक सोचबाट र त्यो पूर्ण आयु जिउने क्रममा मनाइने पर्वमा तिहार पर्छ। यमुना कै इच्छा अनुसार मैले यस्तो व्यस्त दाइ यमराजलाई केही दिन आराम गराएँ। यो पृथ्वी लोकका बासिन्दाहरूले पनि गरे हुन्थ्यो भनिसकेपछि त्यो कुरा हामीसँग जोडिएको हो। । देवताहरूका कुरा पृथ्वीसम्म ऋषि मुनी नारदहरूबाट यहाँ आइसकेपछि यहाँका बासिन्दाहरूले पनि पूर्ण आयुको कामना गरेर मनाउने गरेको प्रसङ्ग छ।
परापूर्वकालदेखि कागको पूजा गर्ने परम्परा कसरी सुरु भयो ? तिहारमा विभिन्न पक्ष जोडिएका छन्। एउटा वास्तविक पक्ष छ। दर्शनमा शास्त्रमा जसरी देवताहरूको वर्गीकरण गरियो त्रिदेव भनियो। त्यसैगरी यमराज भनेर यमदूत चित्र गुप्त, धर्म गुप्त भनेर विभिन्न नामहरू छन्। उहाँहरूलाई सम्पूर्ण प्राणीहरूसँग जोडिएको छ मृत्युसँग देवता मान्ने हो र त्यो क्रममा उहाँका दूतहरू रक्षकहरूको रूपमा काग एउटा सन्देश बाहक बन्यो। पृथ्वीमा भएको कुराहरूको सन्देश कागले दिने भएकोले त्यो कागलाई दर्शनसँग जोडियो। पर्यावरणमा नेपालमा धेरै राम्रा चराहरू छन् तर पनि बाहिरी सौन्दर्य मात्र सबै चीज हैन है गुण भनेको पर्यावरणलाई सफा बनाउने क्रममा सबैको महत्त्व छ भनेर कागलाई जोडिएको छ। एउटा धार्मिक पक्ष यमराजसँग जोडिएको र अर्को प्रकृतिसँग जोडिएको छ। प्रकृतिमा भएका सबै कुराको हामीले सम्मान गर्नुपर्छ भनेर तिहारमा कागलाई जोडिन्छ।
यमराजको सन्देश बाहक दूतको रूपमा कागलाई बुझियो। यमराजकै भक्त थियो काग भनेर हेर्ने हो ? कागको प्रसङ्गहरू हाम्रो पुराणहरूमा आउँछ। यमको प्रसङ्गमा, रामायणमा रामको प्रसङ्गमा पनि काग कुसुन्डीको कुराहरू आउँछ। जुन ऋषिकै रूपमा जन्मिएको कुरा आउँछ। उनले एउटा प्रतिबद्धता जायर गरेको म पृथ्वीमा मेरो जन्म भनेको पृथ्वीका बासिन्दाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा उनीहरूको सन्देश एक ठाउँबाट अर्को ठाउँमा लग्नुपर्छ भन्ने मेरो माध्यमबाट गर्छु भनेर प्रतिबद्धता जनाएका थिए।
कुकुरको पूजालाई चाहिँ कसरी बुझ्ने ? कुकुर पनि हाम्रो धर्म र सामाजिक मान्यतामा जोडिन्छ। एउटा यमराजको रक्षकको रूपमा विभिन्न कुकुरहरूको नामहरू जोडिएर आउँछ। पुराणमा ती कुकुरहरू यमको द्वारमा बस्छन् भनेर व्याख्या गरिएको छ। यमलोकको रक्षकको रूपमा कुकुर आउँछ।
अर्को, पृथ्वीमा बस्ने विभिन्न प्राणी मध्य जङ्गलमा भएका चीजलाई आफ्नो आवश्यकता अनुसार घरपालुवा बनाएका छन्। गाईको दूध देखेर जङ्गलमा भएको गाईलाई पालन गरियो। अनि त्यसलाई धर्मसँग पनि जोडियो। त्यस्तै कुकुरलाई पनि रक्षाको हिसाबले घरमा पालियो। कुकुर हिमालदेखि मरुभूमिसम्म जुनै मौसममा पनि बस्नसक्छ। त्यसैले यसको महत्त्व फरक देखिन्छ। अहिले संसारमा कुकुरको महत्त्व छ। संसारका सबैभन्दा धनी व्यक्ति र गरिब फुटफाटमा सुत्नेले पनि कुकुर पालेको हुन्छ। कुकुरमा धेरै गुण हुन्छन्। मानिसले पत्ता लगाउन नसकेको कुरा उसले पत्ता लगाउने भएकाले सुरक्षाकर्मीलेसमेत कुकुर पालेका हुन्छन्।
हिन्दु धर्म संस्कृतिले गाईलाई के भन्छ ? हिन्दु धर्ममा गाईको ठुलो महिमा छ। यसको गुण हेरेर पोषक तत्व पनि महत्त्वपूर्ण छ। धर्ममा गाईका चार पाउलाई वेदसँग जोडिन्छ। गाईको आँखा नै चन्द्र सूर्य भन्ने गरिन्छ। अहिले विश्वभर नै हरेक राष्ट्रले लोप उन्मुख भनेर पशुपन्छीहरूलाई संरक्षण गर्न सिकाएको हुन्छ। यसको नष्ट नगरोस् भनेर धर्मसँग जोडिदिए। यो मानिसले आफ्नै फाइदाको लागि प्रयोग गरेको देखिन्छ। गो दानको महत्त्व फरक छ। गाईको सम्बन्ध कृषिसम्म जोडिएको छ। अझ संस्कार र संस्कृतिमा गाई नभएसम्म कुनै कर्म पुरा नहुने कुरा उल्लेख छ।
गोवर्धनको पूजा किन गरिएको हो ? तिहारको सबैभन्दा ठुलो सन्देश भनेको नै पर्यावरणको हो। पर्यावरणको संरक्षण हामीले गर्याै भने धेरै क्षतिबाट बच्न सक्छौँ। पर्वतमा हरेक पन्छीको बास छ। यो प्रसङ्ग कृष्णसँग जोडियो। इन्द्र वैदिक देउता हुन्। एउटा वैदिक देउताको साहस र पौराणिक देवताको उत्पत्ति भएको बेलाको कुरा हो यो। त्यसमा गोवर्धन भनेको पर्वतहरूमा रुखहरू बोटबिरुवा रोपेर मनाउने भनेर सिकाउँदा त्यसमा कृष्णको कुरा,वर्षा भएको इन्द्र रिसाएको सबै कुरा छन्। यसको सबैको सांकेतिक अर्थ भनेको पर्यावरण प्रकृतिको संरक्षणको कुरा छ।
पहिला खेत जोत्न पनि गोरुको पूजा गर्ने हलोको पूजा गर्ने भनिरहँदा अहिले ट्याक्टर आइसक्यो हामी यसरी सांस्कृतिक विचलित भएर जाँदा यो गोरुपूजाको महत्वलाई कसरी बुझ्ने ? कति चिजहरू संस्कारमा परिवर्तन भएर जान्छन्। त्यसलाई रोक्न सक्दैनौँ। यो गाईसँग जोडिएर आएको अहिले जानकारीमा दिनुपर्छ। सबै परम्पराहरू लागु हुँदैनन्। केही हट्दै जान्छन्। यसको चुरो कुरा मर्नु हुँदैन। संस्कारमा भएका कुराहरू यसमा भएका अन्धविश्वासहरू के के हुन् भनेर आउने पुस्तालाई पाठ्यक्रमका माध्यमबाट बुझाउनुपर्छ।
टीकाको दिनको महत्त्व विधि र महिमा के हो ? तिहारको महत्त्वपूर्ण दिन नै भाइटीका हो। बहिनीले आफ्नो दाजु यमराजलाई पूजा गरेको दिनमा सबैले दियो कलश गणेश स्थापना गर्ने, वरुण र गङ्गालाई कलशमा आह्वान गर्ने, अष्ठदल कमल पत्रमा देखिएको थालमा यमराजको प्रतीक बिमिरो ओक्खर राख्ने र पूरा गर्ने चलन छ। अष्टचीरञ्जीवीको पूजा हुन्छ। अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, मार्कण्डेय, परशुरामलाई अष्ट चीरञ्जीवी मानिन्छ। भाइटीकाको सबैभन्दा ठुलो कुरा भनेको चीरञ्जीवीलाई स्थापना गरेर हामी पनि पूर्ण आयु बाच्नुपर्छ है भनेर प्रयत्न गर्ने हो। भाइटीकाको महत्त्वपूर्ण सन्देश भनेको पूर्ण आयु बाच्ने हो। हामीले आत्महत्या गर्नु, अकाल मृत्यु हुनुलाई नराम्रो मानिएको छ। पूर्ण आयु बाच्ने प्रयत्न गर्याै भने मात्रै कुनै कुराको लक्ष्य प्राप्त गर्न सक्छौँ। त्यो लक्ष्य प्राप्त गर्ने क्रममा यहाँ प्रयोग गर्ने दुबो, फूल तेललाई प्रतिक मानिन्छ।
यसको दार्शनिक महत्त्व एउटा लामो आयु हो।त्यस कारण अष्ठ चीरञ्जीवीलाई पूजा गरेर मखमली फूल, सुपारी फुलहरू लाउनु भनेको त्यो फुल लामो समयसम्म रहन्छ।पृथ्वीमा धेरै फूल फुल्छन् तर कोहीको आयु एक घण्टाको मात्र पनि हुन्छ। त्यसैले लामो आयु यसको महत्त्व हो। यसमा अष्ट चीरञ्जीवीहरू यम यमुनाहरू सबैको स्थापना गरिसकेपछि दाजुभाइ र दिदीबहिनी दुवैले एक अर्कोको लामो आयुको लागि पूजा गर्नुपर्छ।
देउसी भैलोको परम्परा कहिलेबाट सुरु भएको हो ? चाडपर्वको समयमा जोडिएको ईश्वर प्रतिको कृतज्ञता पारिवारिक मूल्यमान्यता जस्तै मनोरञ्जन हो। अध्याँरोबाट उज्यालोमा जाऊ भनिन्छ। त्यो औँसीको रात तिहारको रात भनेको अध्याँरोमा हुने हो। त्यो बेलामा बत्ती बालेर हामीले दिएको सन्देश भनेको जीवनमा रात सधैँ भइराखेको हुन्छ।अध्याँरो भए पनि त्यसलाई चिरेर अगाडि जाने पर्यन्त गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। चाडपर्वको धार्मिक र सांस्कृतिक महत्त्वसँगै यसलाई जीवन्त राख्न मनोरञ्जनसमेत हुन्छ। यसले साथीभाइ छिमेकी समाजको भाइचारालाई बोकेको छ। अहिलेका पुस्ता टेक्नोलोजीमा एक्लै बस्ने गर्छ। त्यस्तो अवस्थामा यो पर्वले एक घरबाट अर्को घर एक टोलबाट अर्को टोलमा भाइचाराको भावना सिर्जना गराउँछ।
यसमा प्रयोग भएका धार्मिक पक्षहरू राजाहरूका प्रसङ्गहरू धेरै छन्। त्यसैले देउसी भैलो मौलिक संस्कृति हो। यो संस्कृतिका विकृतिलाई रोकेर यसमा भएको मौलिकता यसमा दिइने आर्शिवादलाई महत्त्वपूर्ण मान्नुपर्छ।