खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग | Khabarhub Khabarhub

खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग



काठमाडौं– अछामको शिरमा रहेको खप्तड बाजुरा, डोटी, बझाङ र अछामको संगमस्थल हो । ‘भू–स्वर्ग’को उपमाले परिचित खप्तड समुद्री सतहदेखि ३२ सय मिटरको उचाइँमा रहेको छ । यसलाई २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलले आफ्नो हिस्सा बनाएर सुरक्षित गरेको पाइन्छ । ठूला र साना गरी २२ वटा फाँट रहेका खप्तडमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुख सौन्दर्यका मुख्य विशेषता हुन् ।

२ सय ६० प्रजातिका चरा, ५ सय बढी जडिबुटी पाइने खप्तड जैविक विविधताले भरिपूर्ण पृथ्वी लोकको एउटा टुक्रा हो । देशको सुन्दर सुदूरलाई आफ्नो सौन्दर्यले छपक्क छोपेको खप्तडलाई संरक्षण गर्ने भन्दै सरकारले सन १९८४ मा खप्तड राष्ट्रिय निकुञ्जको घोषणा गरेको थियो । 

भावी पुस्ताका लागि भन्दै इकोसिस्टम तथा प्राकृतिक पहिचानको संरक्षणको उद्देश्यले घोषणा हुने राष्ट्रिय निकुञ्जले सो क्षेत्रमा मानव आवत जावत कम गराउने गर्दछ । नेपालमा राष्ट्रिय निकुञ्जहरुको संरक्षण गर्ने जिम्मा नेपाली सेनाको रहेको छ, जसले गर्दा आम नागरिक यस्ता निकुञ्ज क्षेत्रसँग आफ्नो सामिप्य प्रगाढ बनाउन सकिरहेका छैनन् । 

यसैको प्रभाव हुनसक्छ प्राकृतिक सौन्दर्यको खानी भएर पनि खप्तडले सोचेको जस्तो पर्यटक आवागमनलाई सहज बनाउन सकिरहेको छैन् ।

उदासिन सरकार

प्राकृतिक छट्टाले पूर्ण खप्तड उच्च पर्यटकीय सम्भावना बोकेको स्थान हो । प्रचुर सम्भावना भए पनि भौगोलिक समस्या र प्रवर्द्धनमा सरकारी निकाय उदासिन हुँदा सो क्षेत्रले सोचेको जस्तो गति लिन सकेको छैन् । 

खप्तड क्षेत्रलाई व्यवस्थित गर्न र पर्यटन विकासका पूर्वाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको थियो । खप्तडको विकासका लागि भन्दै समितिलाई प्रदेश सरकार मातहत लाने निर्णय गरियो । 

प्रदेश सरकार मातहत गएको समिति विभिन्न कारण लामो समय गठन हुन सकेनन् । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले खप्तड क्षेत्र विकास तथा व्यवस्था समिति गठन आदेश २०७५ लाई स्वीकृति गरेको २ वर्षपछि २०७७ सालमा समितिले पूर्णता पायो । 

त्यसयता समितिले खप्तडमा पर्यटकीय गतिविधि बढाउन काम गर्दै आए पनि त्यो सोचेजस्तो हुन नसकेको खप्तड क्षेत्र विकास तथा व्यवस्था समितिका अध्यक्ष भीम खड्काले बताए । खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक क्षेत्रको विकास गर्न धेरै सम्भावना भए पनि त्यसमा सरकारी तवरबाट सहयोग हुन नसकेको उनको गुनासो छ । 

यस क्षेत्रमा रहेका खप्तड आश्रम, त्रिवेणी, सहस्रलिङ्ग, खडुली, डडुली, माईको थान, खापर मष्टा माण्डु, खापर दह, नागढुङ्गा, डाँफेकोट धार्मिक तथा पौराणिक स्थलहरू हुन । यस ठाउँमा ब्रम्हलिन १००८ खप्तड स्वामी श्री सच्चिनानन्द सरस्वतीले तपस्या र साधना गरेकाले यसलाई आध्यात्मिक क्षेत्रको रुपमा विकास गर्न सहज हुने अध्यक्ष खड्काको भनाई छ ।

यतिखेर खप्तडस्वामीको आश्रमस्थललाई संग्रहालय बनाएको छ । त्यहाँ उनले प्रयोग गरेका लत्ता कपडा, जुत्ता, पादुका, ओछ्यानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीत साधन हेर्न पाइन्छ । समग्रमा खप्तड आफैँ प्रकृतिको एक जीवित संग्रहालय भएको बताउँछन् अध्यक्ष खड्का । 

खप्तडको विकासका लागि भन्दै केही महिना अघि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न भएको थियो ।  जेठ २३ देखि २५ सम्म चलेको सम्मेलन शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने आश्वासन दिएका थिए ।

चर्चामा रहेको खप्तडको प्रचारप्रसार हुन नसकेको भन्दै यसलाई विश्वव्यापी प्रचार गर्ने जनाएका थिए । सम्मेलनमा योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताएका थिए ।

आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना खप्तड भएको भन्दै रामदेवले जीवित छँदा नै एकपटक खप्तड पुग्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री दाहालले आफूले त्यो पावन भूमिमा टेकेर लिएको संकल्प बिर्संदा काम गर्नेहरूको पनि हात बाँधिएको छ ।  नीतिगत समस्याका कारण स्रोत व्यवस्थापन हुँदा पनि काम गर्ने अवस्था छैन । 

भएन पूर्वाधारको विकास 
खप्तड आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको क्षेत्र हो । तर, खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्न अझै समस्या छ । सो क्षेत्रमा सुविधा सम्पन्न होटल नबन्दा स्तरीय पर्यटक जान नसकेको बताउँछन समितिका अध्यक्ष खड्का ।
सरकारले सो क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन नसकेको उनको गुनासो छ । राष्ट्रिय निकुञ्जका कारण पनि त्यहाँ लगानी गर्न व्यवसायीहरू हच्किने गरेको उनको भनाई छ । त्यसका लागि सरकारी स्तरबाट नै नीतिगत काम हुनुपर्ने र लगानीका लागि प्रोत्साहन गर्नुपर्ने खड्का बताउँछन् ।

खप्तडको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न आन्तरिक मात्रै होइन, विश्वकै पर्यटक ओइरिने खड्काको विश्वास छ । खप्तड क्षेत्रको अन्य भौतिक निर्माणको जिम्मा पाएको समितिले पनि सोचे अनुरूप काम गर्न सकिरहेको छैन् । संघीय सरकारबाट प्रदेश सरकार मातहत गएपछि कम बजेट हुने भएका कारण भौतिक निर्माणको काम गर्न समस्या हुने गरेको अध्यक्ष खड्काको भनाई छ । 

सामान्य सडक मर्मतका लागि पनि नपुग्ने गरी विनियोजन गरिएको बजेटबाट खप्तड क्षेत्रको विकासका लागि काम गर्न समस्या हुने उनको तर्क छ । खप्तडको विकासका लागि कुनै एक समितिलाई मात्र भन्दा पनि स्थानीय, प्रदेश तथा संघीय तीन तहका सरकारको सक्रियतामा काम हुनुपर्ने उनी बताउँछन् । 

भौगोलिक कठिनाइ तथा आवासीय सुविधा नहुँदा पनि अहिले खप्तडमा आन्तरिक तथा केही मात्रामा बाह्य पर्यटक आइरहेका छन् । यो क्षेत्रमा सुविधासम्पन्न होटल तथा आरामदायी यात्राका लागि सडक हुने हो भने सम्पूर्ण प्रदेशलाई चलायमान बनाउने गरी पर्यटक आउने खड्काको विश्वास छ । अझ यो क्षेत्रलाई अन्तराष्ट्रिय ध्यान केन्द्रको रुपमा विकास गर्न सके यसले सम्पूर्ण देशलाई फाइदा पुग्ने उनको तर्क छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं– मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक

जब मुसाको कानुन बिरालोले लेख्छ…

छोरा : बुबा, आजदेखि मैले चुरोट खान छोडेँ बुबा :

उपनिर्वाचन : कर्णालीमा आठ पदमा ४४ जनाको उम्मेदवारी

कर्णाली– कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४

ढोरपाटनमा निःशुल्क आँखा शिविर, एक हजार बढीले लिए सेवा

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक