बागलुङका गाउँ-गाउँमा किबी खेतीको लहर « Khabarhub

बागलुङका गाउँ-गाउँमा किबी खेतीको लहर


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो । 

गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किबी बिक्री हुन थालेको बताउँछन् । 

बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडाध्यक्ष जितबहादुर जिसीले किबी खेती गर्न थालेको दुई वर्ष भयो । पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उहाँले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिए । ‘आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ । अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ’, उनले भने।

पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ–गाउँमा किबी खेती विस्तार हुँदै गएको छ । बागलुङमा पछिल्लो समय बागलुङमा एक सय भन्दाबढी किसान किबी खेतीमा लागेका छन् ।

काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किबी बागलुङ बजारहुँदै चितवन पुगेको बताए । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उनको भनाइ थियो । 

गतवर्ष चार हजार केजी बिक्री गर्नुभएका बागलुङका पुराना किबी किसान मेहरसिंङ पाइजाले यसवर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताए । बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किबी लगाउने पाइजाले यसवर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाँट गर्दा राम्रो उत्पादन दिने बताए। प्रतिकेजी रू १०० मा बिक्री भए पनि किबीमा नाफा रहेको उनले अनुभव सुनाए । 

एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुण्डेका हर्कबहादुर थापाले बताए । उत्पादित किबी भकुण्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उनको भनाइ थियो । विसं २०७३ मा पोखरामा किबीको बिरुवा देख्नुभएका हर्कबहादुरले बारीमा जम्मा पाँचबोट मात्रै लगाएका थिए ।

उक्त बोटमै वार्षिक पाँच सय केजी किबी उत्पादन हुने गरेको थापाले जानकारी दिए। मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उनले बताए। थापाको घरनै अहिले किबीले ढाकेको छ । अहिले भकुण्डेमा मात्रै आधादर्जन किसानले व्यावसायिक किबी खेती गर्दै आएका छन् । 

किबी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए  । ‘आफैबाट सुरु गरेँ अरुलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किबी खेती गरेको छु । पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौँ लगानी थप्न नपर्ने खेती हो’, उनले भने, ‘एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किबी खेतीमा आकर्षित भएका छन् ।’

रेशमा वडा कार्यालयले अनुदानमा किबीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार किबीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि दुई सय ५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ । 

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । 

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : २२ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र