कुश्मा-बुटवल प्रसारण लाइनको उद्घाटन | Khabarhub Khabarhub

कुश्मा-बुटवल प्रसारण लाइनको उद्घाटन


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा-नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरेका हुन् । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।  

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व-पश्चिम विद्युत् जोड्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण भएको बताएका छन् । एक-डेढ वर्षभित्रमा सुक्खायाममा समेत विद्युत् आयात गर्न नपर्ने गरी काम गरिरहेको उल्लेख गर्दै बस्नेतले २०९२ सालभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने  कार्यादेश र कार्यदिशाका साथ अगाडि बढिरहेको बताए । उनले संघीय , प्रदेश र स्थानीय तीनवटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने उल्लेख गरे।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय रुपमा विद्युत् खपत गर्न, पूर्व-पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रुपमा रहेको बताएका छन् । देशभर नै प्रसारण लाइनको सञ्चालन बनाउन काम भइरहेको उल्लेख गर्दै घिसिङले यसका लागि आगामी पाँच-छ वर्षभित्रमा झन्डै रु सात खर्ब आवश्यक पर्ने बताएका छन् ।

एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले कोभिड–१९ को महामारी, रूख कटानमा रहेको जटिल कानुनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताए । हिमाली क्षेत्रमा उत्पादन भएको नेपालको हरित स्वच्छ ऊर्जा दक्षिण एसियाली क्षेत्रमा विस्तार र औद्योगिक क्षेत्रमा खपतका लागि प्रसारण लाइनले योगदान पुग्ने उल्लेख गर्दै उनले कालीगण्डकी करिडोर आयोजना निर्माणमा अवलम्बन गरिएका राम्रा अभ्यासहरूलाई अन्य आयोजनामा पनि अनुकरण गर्न सकिने बताए ।

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुबै सबस्टेसनमा १००-१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।

कुश्मा–नयाँ बुटवल खण्डमा दुई सय ३६ वटा टावर निर्माण गरिएको छ । सुनवल नगरपालिका–-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको छ ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि नयाँ बुटवल २२० केभी सबस्टेसनको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायत क्षेत्रको भोल्टेज सुधार भएको छ । मुस्ताङ, म्याग्दीलगायत जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् कालीगण्डकी यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ ।

रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९को महामारीलगायत कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताए  ।

कुश्मा-नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब ११ अर्ब छ ।

नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । 

अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा चार सय केभीको सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । नयाँ बुटवल–लमही (दाङ) चार सय केभी प्रसारण लाइन निर्माण हुँदैछ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ०२ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन