रुसी सेनामा भर्ती भएका नेपाली भन्छन्- वारजोनबाट निकालियोस् | Khabarhub Khabarhub

रुसी सेनामा भर्ती भएका नेपाली भन्छन्- वारजोनबाट निकालियोस्


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


26.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बिर्तामोडमा बसोबास गर्दै आएका इलामका राजकुमार नाम गरेका युवाको आफ्नै रेष्टुरेन्ट व्यवसाय थियो । साथमा तीन वर्षको छोरो अनि श्रीमती । परिवार राम्रैसँग चलिरहेको थियो । तर, मोरङको बेलबारी घर बताउने सूर्य राईले राजकुमारको बुद्धि भुटे ।

युक्रेनविरुद्ध लडिरहेको रुसी सेनामा भर्ती भएमा मासिक अढाई लाख रुपैयाँसम्म कमाइ हुने राईले आश्वासन दिएपछि राजकुमार त्रिभुवन विमानस्थलबाट यूएई हुँदै मस्को पुगे । अहिले युद्धग्रस्त क्षेत्रमा उनी सम्पर्कविहीन बनेका छन् । परिवारमा रुवाबासी छ ।

इलामकै अर्का भुजेल थरका युवा पनि छोरी जन्मेको तीन महिनामा दलाललाई ८ लाख रुपैयाँ बुझाएर दिल्ली र यूएईको बाटो हुँदै  राजकुमारसँगै रसिया पुगेका छन् । २४ जना नेपाली युवासँगै युक्रेनको सीमानामा अवस्थित क्याम्पमा राखिएका उनलाई यसै साता ‘वारजोन’ पठाउने तयारी भइरहेको छ । ह्वाट्एपमार्फत नेपालमा सम्पर्क गरेर उनले आफ्नो उद्धार गरिदिन माग गरेका छन् ।

भुजेललाई नेपालमा रहँदा रोजगारीको समस्या थिएन । उनको आफ्नै टिप्पर व्यवसाय थियो । तर, उनी दलालको उल्काइमा लागे । र, रसियन सेनामा भाडाको सिपाहीका रुपमा भर्ना भए ।

इलामकै एक स्थानीय तहका प्रमुखको सालो नाता पर्ने तामाङ थरका युवक पनि भुजेल र राजकुमारसँगै त्रिभुवन विमानस्थलबाट खादा लगाएर रसिया हानिए । उनी पनि वारजोनमा जानुपूर्वको तालिमका लागि भुजेलसँगै अस्थायी क्याम्पमा राखिएका छन् ।

आफूहरुजस्तै रुसी सेनामा भर्ना भएका नेपालीहरु मारिएको खबरले भुजेल र तामाङमा त्रास छाएको छ । आफूसँग आएका साथी राजकुमार एक हप्तादेखि सम्पर्कविहीन बन्दा उनीहरुको भोक निद्रा हराएको छ ।

युक्रेनको भूमिबाट ह्वाट्सएप मार्फत सम्पर्कमा आएका भुजेलले खबरहबसँग आफ्नो अवस्थाबारे यसरी सुनाए–

‘यहाँ हामीलाई राखेको ठाउँको नाम, लोकेसन पनि केही थाहा छैन । यहाँ हामी नेपालीहरु २४ जनाको ग्रुप छौं । यसमध्ये कोही नेपाल फर्कने, कोही नफर्कने भन्ने पनि छन् । हामी ३/४ जना चाहिँ तत्कालै फर्कन चाहन्छौं ।

राजकुमारचाहिँ वारजोनतिरै गएको होला । लोहान सिटीको आसपासमा होला । अस्तिबाट कन्ट्याक्ट, सन्ट्याक्ट केही छैन ।

हामी यहाँ आएको दुई महिना हुन आँट्यो । हामीभन्दा पछाडि आएका केटाहरु पनि छन् । ४/५ तारेखमा पाँचजना नेपालीहरु मरेछन् । दोहोरो भिडन्त भएको भन्ने सुनिन्थ्यो । उनीहरुको मृत्यु भएछ । यहाँ केही थाहा भएकै छैन, घरमा त भर्खर भन्दिँदैछ । हामी मोरङ बेलबारीका सूर्य राईले दुनियाँ आश्वासन देखाएर यहाँ आएको हो । हामीलाई पठाउने अर्को काठमाडौंको तीनकुनेमा भेटिएको सुरज थापा हो ।’

सम्झौता गरेर भर्ना

रसिया पुगेका नेपाली युवालाई त्यहाँको रक्षा मन्त्रालयले सम्झौता गरेर सेनामा भनिाए लिने गरेको पाइएको छ । रुसको सैन्य सेवासँग सम्बन्धित संघीय कानून २००८ अनुसार सम्झौता गरिएको खबरहबलाई प्राप्त कागजातमा उल्लेख छ । सैन्य सेवामा काम गर्नेहरुका लागि क्षतिपूर्ति र परिवारले पाउने सुविधाहरु पनि सुनिश्चित गरिएको सम्झौतामा उल्लेख छ ।

त्यस्तै, तालिम र प्रशिक्षण दिइने । साप्ताहिक विदासम्बन्धी अधिकार दिइने र विदाको दिनका काम गर्नेहरुलाई क्ष्तिपूर्ति दिने पनि कागजपत्रमा उल्लेख छ । विदा रुसको संघीय कानून अनुसार हुने र सैनिकले आवासीय अधिकार पाउने भनिएको छ । नपाएको खण्डमा त्यसवापत रकम पाउने उल्लेख छ ।

रुसले २०१६ र २०१९ मा उसको सेनामा काम गरिरहेका सैनिक, सेवानिवृत्त नागरिक र तिनका परिवारका सदस्यका लागि आवासीय परिसरको भाडाका लागि क्षतिपूर्ति दिने नीति ल्याएको थियो । विदेशी नागरिकका सन्दर्भमा भने त्यहाँको कानूनले केही भनेको देखिँदैन । तथापि, नेपाली युवासँग गरिएको सम्झौतामा भनिएको छ, ‘सर्भिसम्यानलाई बस्ने क्वार्टरको ग्यारेन्टी गरिन्छ वा उसलाई रकम उपलब्ध गराइन्छ ।’

त्यस्तै, संघीय बजेटको खर्चमा अनिवार्य व्यक्तिगत बीमा गरिने र शिक्षामा सैनिक सेवाकर्मीको अधिकारको कार्यान्वयन सुनिश्चित गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्र हेर्दा नेपालबाट तस्करहरुले फकाएर रुस पुर्‍याएका नेपाली युवालाई भाडाको सिपाही बनाउने कार्यमा रुसी सरकार र त्यहाँको रक्षा मन्त्रालयको हात रहेको देखिन्छ ।

यसैसाता नेपाल सरकारले रुसी सेनामा भर्ना हुने नेपालसँग कुनै सम्झौता नभएका कारण उनीहरुलाई फिर्ता पठाउन रुस सरकारलाई भने पनि मस्कोले यसमा कुनै अग्रसरता देखाएको छैन । रुसमा मृत्यु भएका छ नेपालीको शवसमेत अहिलेसम्म आएको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : २६ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले