महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट « Khabarhub

महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ। बर्दिबास-१२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन्।

पीडित परिवारकाअनुसार स्थानीय युवाहरू रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरे।  प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरूले बालकलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारको आरोप छ।

गत २३ माघमा भएको उक्त घटनाको अहिले खुलासा भएको हो। सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजे मात्र छाडेको पीडित वालक इन्द्रजित महतोले बताए। ‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाँधेर झुन्ड्याएर कुटपिट गरे।’  पीडित इन्द्रजितले रुँदै भने, ‘खुकुरी देखाए। पैतालामा तारले कुटे। मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असह्य हुने गरी पिटे। टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे।’

पीडित बालकको पैतालामा सिर्कनाले हानेको अझै नीलडाम देख्न सकिन्छ। हिँडडुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय जान सकेका छैनन्। महतोको ढाडमा लट्ठीले हानेजस्तो सुम्ला देखिन्छन् भने खुट्टामा गहिरो नीलडाम छ। निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको क्लिनिकमा पुर्‍याएर उपचार गरेका थिए। ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन’, पीडित बालककी आमा कोशिला देवीले भनिन्। घटना पछि कोशिला देवीलाई समेत घरमा आएर ती युवाहरूले अभद्र व्यवहार गरेको थिए।

पीडित वालकका बुबा भोला महतो बर्दिबासस्थित एक वेकरीमा काम गर्छन्। आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवाहरुलाई कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ। घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएता पनि प्रहरीले त्यसको खासै वास्ता गरेको छैन। हात्तिलेटस्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएता पनि पीडितहरू नै जाहेरी दिन नआएको जिकिर गरेका छन् तर पीडित पक्षले प्रहरी चौकीबाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन्।

प्रहरी उपरीक्षक प्रकाश मल्लले पनि घटनाको विषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताएका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : १९ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा