खडेरीले अलैँचीका बोट सुक्न थाले, बगानमा डढेलोको जोखिम | Khabarhub Khabarhub

खडेरीले अलैँचीका बोट सुक्न थाले, बगानमा डढेलोको जोखिम


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन् । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यति बेला सुकेर रातै देखिन थालेको लिम्बूले बताए ।

विगतका वर्षमा पुसको तोस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यस वर्ष भने खासै हिमपात भएको छैन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ–५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए । उनले भने, ‘खासै हिमालमा हिउँ परेको छैन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।’

सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यति बेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकूल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्नेमा माबोको चिन्ता छ । ‘यति बेला पालो गरी गरी बोट भिजाउनुपर्ने हो’, उनले भने, खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।’

साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने । ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन)बाट सिँचाइ गरिरहेका छन् ।’

गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन् । न त हिमपात नै भएको छ । यति बेला जिल्लाका बेँसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ ।

कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ ।

वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्याउँछ । यति बेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ । जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । विगतमा एक मन (४० किलो) को एक लाख २० हजार रुपैयाँसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३५ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको फुङ्लिङ नगरपालिका–५ का व्यापारी दिनेश अधिकारीले बताए । गत साता  ३२ हजार रुपैयाँमा कारोबार भएको अलैँची बुधबार ३५ हजार रुपैयाँमा कारोबार भएको उनले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : २२ बजे

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको