लम्पी स्किन पीडित काभ्रेका किसानलाई राहत प्रदान « Khabarhub

लम्पी स्किन पीडित काभ्रेका किसानलाई राहत प्रदान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति व्यहोरेको पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् ।

रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई रु सात हजार र गाई मरेको किसानलाई रु पाँच हजार राहत दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइने छ । चौरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ ।

यस्तै नमोबुद्ध नगरमा पीडित किसानलाई विपद् व्यवस्थापन राहत वितरणसम्बन्धी मापदण्ड–२०७७ को व्यवस्थाअनुसार राहत व्यवस्था मिलाइएको नगरप्रमुख कुनसाङ लामाले बताए । “लम्पीको सङ्क्रमणबाट पशुचौपाया क्षति ब्यहोर्ने किसानलाई नियमित राहत व्यवस्था गर्ने प्रबन्ध मिलाएका छौँ”, उनले भने । नगरको मापदण्डमा घरपालुवा पशु पूर्ण क्षति भएमा भैँसीको हकमा रु सात हजार, गाई÷गोरु क्षति भएमा रु पाँच हजार र भेडा÷बाख्राको हकमा प्रतिगोटा रु एक हजार राहत उपलब्ध गराइने उल्लेख छ ।

नगरको पशु सेवा शाखाका अनुसार नमोबुद्धमा ५५ गाई लम्पी स्किनका कारण क्षति भएका छन् । मरेका पशु गाड्न नगरले स्काभेटरसमेत उपलब्ध गराउँदै आएको छ । यस्तै दैनिक पशुहरु मर्न थालेपछि धुलिखेल–२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग अलग राहत दिने निर्णय गरी प्रदान गर्न थालिएको छ । काभ्रेपलाञ्चोकमा २०८० साल वैशाखमा पहिलो पटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको थियो । हालसम्म उक्त वडामा ६५ गाई मरिसकेको वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार गाई तथा भैँसी मरेकोलाई प्रतिगोटा रु १० हजार र चार महिना कटेको कोरली बाच्छी, पाडा तथा पाडी मरेको अवस्थमा रु पाँच हजार उपलब्ध गराउने निर्णय गरिएको हो । बिरामी गाईको हकमा ५० प्रतिशत औषधिमा अनुदान उपलब्ध गराउँदै आइएको जनाइयो ।

यसैबीच लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा हाल सप्ताहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम सुरु गरेको हो । एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ ।

धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताए । उनका अनुसार यसअघि जिल्लामा ३६ हजार एक सय तीन पशुलाई सङ्क्रमण हुन नदिन खोप लगाइसकिएको छ ।

उक्त सङ्क्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार ६ सय ५६ वटा पशु सङ्क्रमित भएका छन् । सो रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आठ सय ७३ गाई र एक लाख ४८ हजार ६ सय ४० भैँसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ४२ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा