लम्पी स्किन पीडित काभ्रेका किसानलाई राहत प्रदान « Khabarhub

लम्पी स्किन पीडित काभ्रेका किसानलाई राहत प्रदान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति व्यहोरेको पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् ।

रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई रु सात हजार र गाई मरेको किसानलाई रु पाँच हजार राहत दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइने छ । चौरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ ।

यस्तै नमोबुद्ध नगरमा पीडित किसानलाई विपद् व्यवस्थापन राहत वितरणसम्बन्धी मापदण्ड–२०७७ को व्यवस्थाअनुसार राहत व्यवस्था मिलाइएको नगरप्रमुख कुनसाङ लामाले बताए । “लम्पीको सङ्क्रमणबाट पशुचौपाया क्षति ब्यहोर्ने किसानलाई नियमित राहत व्यवस्था गर्ने प्रबन्ध मिलाएका छौँ”, उनले भने । नगरको मापदण्डमा घरपालुवा पशु पूर्ण क्षति भएमा भैँसीको हकमा रु सात हजार, गाई÷गोरु क्षति भएमा रु पाँच हजार र भेडा÷बाख्राको हकमा प्रतिगोटा रु एक हजार राहत उपलब्ध गराइने उल्लेख छ ।

नगरको पशु सेवा शाखाका अनुसार नमोबुद्धमा ५५ गाई लम्पी स्किनका कारण क्षति भएका छन् । मरेका पशु गाड्न नगरले स्काभेटरसमेत उपलब्ध गराउँदै आएको छ । यस्तै दैनिक पशुहरु मर्न थालेपछि धुलिखेल–२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग अलग राहत दिने निर्णय गरी प्रदान गर्न थालिएको छ । काभ्रेपलाञ्चोकमा २०८० साल वैशाखमा पहिलो पटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको थियो । हालसम्म उक्त वडामा ६५ गाई मरिसकेको वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार गाई तथा भैँसी मरेकोलाई प्रतिगोटा रु १० हजार र चार महिना कटेको कोरली बाच्छी, पाडा तथा पाडी मरेको अवस्थमा रु पाँच हजार उपलब्ध गराउने निर्णय गरिएको हो । बिरामी गाईको हकमा ५० प्रतिशत औषधिमा अनुदान उपलब्ध गराउँदै आइएको जनाइयो ।

यसैबीच लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा हाल सप्ताहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम सुरु गरेको हो । एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ ।

धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताए । उनका अनुसार यसअघि जिल्लामा ३६ हजार एक सय तीन पशुलाई सङ्क्रमण हुन नदिन खोप लगाइसकिएको छ ।

उक्त सङ्क्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार ६ सय ५६ वटा पशु सङ्क्रमित भएका छन् । सो रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आठ सय ७३ गाई र एक लाख ४८ हजार ६ सय ४० भैँसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ