'नेम्वाङको निधनबाट कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै राष्ट्रकै लागि अपूरणीय क्षति' | Khabarhub Khabarhub

‘नेम्वाङको निधनबाट कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै राष्ट्रकै लागि अपूरणीय क्षति’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ ।

कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उनको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन् ।

नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, “उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।”

उनी सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहेको कार्यवाहक महासचिव ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो,” विज्ञप्तिमा भनिएको छ, “अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।”

नेता ज्ञवालीले नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेलेका उनको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको उल्लेख गरे । विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मेका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङले चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गरेका थिए । यस्तै २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहेका उनी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेको नेकपा (एमाले) को सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्रीका हैसियतमा जिम्मेवारी सम्हालेका थिए । उनले मुुलुकमा कानूनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका पनि खेलेका थिए । “उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ”, ज्ञवालीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।

विसं २०५६ मा प्रतिनिधिसभा सदस्यको रूपमा इलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उनले खेलेको भूमिका पनि उल्लेखनीय छ । आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहेका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरे । उनी महेन्द्ररत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित भएका थिए ।

नेपाल ल क्याम्पस, काठमाडौँमा बीएल अध्ययन गर्दा सरकारविरुद्ध पर्चा छरेको आरोपमा उनले राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताएका थिए । विसं २०४६ को संयुक्त जनआन्दोलन, २०६२÷६३ मा शान्तिपूर्ण जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा उनी पटक–पटक हिरासतमा परेका थिए । विसं २०३३ असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गरेका उनी २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित भएका थिए ।

उनी छैटौँ महाधिवेशन (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दशौँ राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी निर्माण तथा विस्तारमा उनको योगदानको पार्टी उच्च मूल्याङ्कन गर्ने नेता ज्ञवालीले बताए । विसं २०३६ देखि नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गरेका उनले नेपाल बार एसोसिएसन केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियशनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो । कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहेका उनी बहुआयामिक व्यक्तित्वका धनी भएको नेता ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : १५ बजे

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

खजुरा– वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा