ललितपुरमा दुर्व्यवहार भएपछि ईः ले भने- काठमाडौंको गरिमा बढ्यो | Khabarhub Khabarhub

ललितपुरमा दुर्व्यवहार भएपछि ईः ले भने- काठमाडौंको गरिमा बढ्यो


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगनखेलका फुटपाथ व्यवसायीको पक्षमा ललितपुर महानगरपालिका अगाडि उभिएर शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका सामाजिक अभियन्ता ईः ले आफूलाई स्थानीय राजनीतिक दलका कार्यकर्ताले दुर्व्यवहार गरेको गुनासो गरेका छन् ।

‘सडकमा शान्तिपूर्ण रुपमा उभिएर आफ्ना कुरा राख्न खोज्दा नपाइने हो भने गणतन्त्रकै औचित्य के ?’ ईःले खबरहबसँग कुरा गर्दै भने,‘लोकतन्त्रको बुझाइमै उहाँहरुमा धेरै ठूलो कमजोरी रहेछ भन्ने देखियो ।’

मंगलबार दिउँसो ललितपुर महानगरपालिका अगाडि केहीबेर उभिएर प्रदर्शन गर्नै लाग्दा स्थानीयले अवरोध र नारावाजी गरेपछि प्रहरीले ईः लाई सुरक्षा दिएको थियो । दिउँसोको यो घटनाबारे ईः ले खबरहबसँग यसरी वर्णन गरे :

हामीले आज दिउँसो तीन बजे ललितपुर महानगरपालिका अगाडि उभिने कार्यक्रम घोषणा गरेका थियौं । अस्ति राति घोषणा गरेर हिजो बिहानबाट प्रचार थालेका थियौं । ललितपुर महानगरपालिका अगाडिको मेट्रोपार्कमा कार्यक्रम गर्ने कुरा थियो । तर, त्यो स्थानमा पहिल्यै २ बजे नै स्थानीय राजनीतिक दलका कार्यकर्ताहरु आएर बसिसक्नुभएको रहेछ ।

 त्यसपछि हामी ठिकै छ, द्वन्द्व गर्न खोजेका होइनौं भनेर पारि लफिङ मल अगाडि उभियौं ।

हामीले ३ बजेर १० मिनेटमा भर्खरै प्लेकार्ड मात्र निकाल्दैथ्यौं, उहाँहरुले एक्कासी आएर ठेलमेल गरेर प्लेकार्डहरु च्यातिदिनुभयो । दुर्व्यवहार गर्नुभयो । तर, हामी भद्र अवज्ञा गरिरहेको मान्छे, प्रतिकार गर्ने, गाली गलौज गर्ने केही कुरा भएन । उहाँहरुले जे-जे गाली गर्नुभयो, सुनेर बस्यौं । प्ले कार्डहरु देखाउनै पाएनौं ।

नाराबाजी भइरहँदा प्रहरीहरु बीचमा बसिदिनुभयो । हामी उभिँदासम्म सुरक्षा दिनुभयो । हामीलाई गेटभित्र उभिन आग्रह गर्नुभयो । बाहिरबाट ठेलमेल भयो । हामी भित्रै उभियौं । बाहिर स्थानीय भनिएका पार्टीका कार्यकर्ताले विरोध गरे । कराए । नाराजुलुस गरे । 

उहाँहरुको त फुटपाथको कुनै कुरै थिएन । यो रातो मच्छिन्द्रनाथ गुड्ने ठाउँमा बाहिरको मान्छे आएर रजाइँ गर्न पाउँदैन, ललितपुरमा तिमीहरुलाई निषेध छ, ललितपुर भनेको स्थानीयको हो, अरुको होइन भन्नेजस्तो कुरा थियो ।

यसरी कुरा गर्न थाल्ने हो भने त अस्ति मैले जनकपुरमा जुम्लाको दाइ देखेको थिएँ, ढाकाटोपी लगाएर सामान बेच्दै हिँडिराख्नुभएको थियो । स्थानीयले यस्तो व्यवहार गर्ने हो भने त जनकपुरको मान्छेलाई तँ पहाडिया भनेजस्तै व्यवहार हुने भयो नि त । यसले त सामाजिक सदभावमा नै खलल पुर्‍याउने भयो । हाम्रो देश के हो भनेर नबुझेको मान्छेले यस्तो तर्क गर्ने हो ।

म अस्ति बिराटनगर पुगेको थिएँ । बिराटनगरको बजार धुलिखेलका नेवारहरु झरेको ठाउँ हो । धुलिखेलदेखि धरानसम्म जति पनि व्यवसायीहरु छन्, पृथ्वीनारायण शाहका पालामा काठमाडौं उपत्यकाबाट उहाँहरु व्यापार व्यवसाय गरेर बजार बसाल्नुभएको हो । हाम्रो देशको यथार्थ भनेको त यही हो नि ।

शहर भनेको सबैको साझा सम्पत्ति हो, चाहे त्यो जनकपुर होस् चाहे धनगढी वा धरान होस् । शहरमा कसैले कसैलाई निषेध गर्न नपाउनुपर्ने हो । तर, समाजवादी भनिएकै दलका कार्यकर्ताहरु, समाजवादी नेतृत्वमै भएको महानगर, संघीय सरकार पनि हिजो समानताका लागि भनेर हतियार उठाएको दलका नेता छन् । यस्तो सरकार भएका बेलामा शहरी गरीबको पक्षमा बोल्नै पाइँदैन, सडकको व्यवस्थापन हुनुपर्छ भनेर कुरा राख्नै पाइँदैन भने त गणतन्त्रको औचित्य नै के भयो त ? समाजवाद भनेर संविधानमा लेखेको औचित्य नै के भयो त ? अहिले मलाई यो चिन्ताले सताएको छ ।

अहिलेसम्म ललितपुर जसरी चलिरहेको छ, यो एउटा आदर्श महानगर हो । चिरीबाबु महर्जन, सीताराम हाथेछु जस्ता आदर्श व्यक्तिको नेतृत्व छ । सडक व्यवसायीहरुको व्यवस्थापन र शहरी गरीबहरुको दृष्टिकोणमा यो महानगरको चिनारी नै करुणा, सद्भाव र सहअस्थित्वलाई राखेर उहाँहरु अगाडि बढिराख्नुभएको छ ।

हामीले प्लेकार्डमा के मात्रै भन्न खोजेका थियौं भने अहिलेसम्म जसरी चलिराखेको छ, त्यो ठीक छ, तर सबैभन्दा धेरै सडक व्यवसायी रहेको लगनखेलमा अवरोध गर्न लाग्नुभएको हो कि ? लगनखेललाई पूर्णरुपले निषेध गर्ने भनिसकेपछि त राम्रो कुरा भएन नि । हाम्रो भनाइ यत्ति थियो । तर, यत्ति कुरालाई उहाँहरुले एकदमै विरोधका रुपमा लिइदिनुभयो । लोकतन्त्रको बुझाइमै उहाँहरुमा धेरै ठूलो कमजोरी रहेछ भन्ने देखियो ।

काठमाडौंको गरिमा बढ्यो

सारमा भन्दाखेरि यो घटनाले काठमाडौंको गरिमा बढ्यो । ललितपुरको गरिमा घट्यो । हामीले त राम्रो, आदर्श महानगरपालिका भनेर सोचिरहेका थियौं । यो घटनाले शुभसंकेत दिएन ।

काठमाडौं महानगरसँग भएको सम्झौता अनुसार पछिल्लो समयमा समिति गठन भएको छ । समितिको एउटा मिटिङ पनि बसिसक्यो ।

अहिलेसम्म हाम्रो भद्र सहमति के भएको छ भने सडक व्यवसायीलाई बिहान–बेलुका अलिकति खुकुलो गर्ने । पहिलाजस्तो हस्तक्षेप वा हिंसा नगर्ने, सामानहरु जफत नगर्ने भन्ने कुरा सकारात्मक नै देखिएको छ । हाम्रो सहमति भएपछि काठमाडौंका धेरै ठाउँमा बेलुका ७ बजेपछि सडक व्यवसाय खुल्ला भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ०९ बजे

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार