फाइल फोटो

राजनीति

‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’

By खबरहब

January 13, 2023

काठमाडौँ– सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ मा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भने ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ सुशासन र समृद्धिको मुद्दाले सार्थकता नपाएको जनाउँदै संविधान बनाउँदा कायम भएको राजनीतिक सहमतिलाई कायम राख्न आग्रह गरे । नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको उल्लेख गरे । 

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष भए पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको बताए । उनले गठबन्धन सरकारको भावनाअनुरुप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतन्त्रमाथिनै खतराको संकेत रहेकाले आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताए । बैठकमा जनता समाजवादी पार्टीका मोहम्मद खालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।