देशले नयाँ राष्ट्रपति पाइसकेको छ। नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपति बनिसकेका छन्। अब बाँकी रहेको उपराष्ट्रपतिको पदको पनि मनोनयन भइसकेको छ। गठबन्धनबाट साझा उम्मेदवार तय गर्न सकस भइसकेपछि अहिले उपराष्ट्रपति निर्वाचनको लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपतिको निर्वाचनमा एकै ठाउँमा अटेका दलहरू उपराष्ट्रपति चुनावमा एउटै पात्र ल्याउन किन सकेनन् ? अहिलेको नेपालको राजनीति र आम नागरिकको जीवनलाई अहिलेको राजनीतिले कत्तिको हेरेको छ ? यी र यस्तै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:
चुनावपछि नयाँ ऊर्जा पाउने आशा आम जनताको थियो, अहिलेको परिवेश के छ त ?
यस्तो अवस्था होला भनेर मैले परिकल्पना गरेको थिएनँ। अब यो चुनाव पछिको पाँच वर्ष अस्थिरताको कारण बन्ने छ। जस्ता पात्र, प्रवृत्ति र प्रविधिद्वारा यो देश चलेको छ। यसले त्यतै संकेत देखाउँछ। शासन गर्न योग्य प्रणाली हुनुपर्छ। त्यसले सुशासनको सम्भाव्यता हुनुपर्छ तर हामीले अवलम्बन गरेको प्रणालीले सुशासनको शासकीय सम्भाव्यता सुनिश्चित गर्दैन। आफूलाई त्यहाँ सुरक्षित गर्न मात्र उसको ध्यान केन्द्रित हुन्छ र चाहे त्यो प्रधानमन्त्री हो या अरू नेता। सबै कसरी सत्तामा टिक्ने भन्ने मात्र छन्। यो निर्वाचन प्रणालीमाथि हामी अपेक्षा गर्र्छौ तर परिणाम दिँदैन। समस्याको कारण पत्ता लगाएर यो प्रणालीको शल्यक्रिया आवश्यकता छ।
राष्ट्रपति कस्तो व्यक्ति बन्नुपर्छ ?
पछिल्लो समयको राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसरी खोट लाग्यो त्यस्तो अहिलेको राष्ट्रपतिमा नहोस्। राष्ट्रपतिले त प्रधानमन्त्रीले भनेको मान्नुपर्छ। प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ। यो संविधानले राष्ट्रपतिलाई काम नै दिएको छैन। बाटो बन्द गर्ने र जनतालाई दुःख दिने मात्र काम भयो। त्यसो हुँदा राष्ट्रपतिलाई संवैधानिक राजाले अतिक्रमण गरेको कुरा रोक्न यो व्यवस्था ल्याएको हो। तर हाम्रोमा राष्ट्रपतिको कुनै भूमिका नै छैन।
राष्ट्रपति पद शक्तिशाली भन्दा प्रयोग गर्ने पद भयो किन ?
हो। त्यो समस्या देखियो। सबै पार्टीले राष्ट्रपतिलाई प्रयोग गरेको देखियो। पहिलो राष्ट्रपति रामवरण यादवलाई पनि पार्टीले प्रयोग गरेको देखियो। त्यो पार्टीको इच्छा आकांक्षालाई पूरा गर्ने पद होइन। पार्टीको हतियार बन्ने व्यक्ति राष्ट्रपति बनोस् भन्ने मेरो धारणा हो। अहिले धेरै अनुभवी उच्च उमेरका व्यक्ति राष्ट्रपति बन्नु भएको छ। उहाँको सम्पूर्ण कार्यकाल नेपाली कांग्रेस जोडिएको हुँदा त्यसमा अपेक्षाकृत स्वतन्त्रता हुनुपर्छ। संविधानले दिएको ठाउँमा बस्नुपर्छ। संवैधानिक राष्ट्रपति भनेता पनि आलंकारिक नै हो।
त्यो प्रवृत्तिबाट कसरी छुटकारा पाउने त ?
त्यस्तो हाम्रो परिबन्द र व्यवस्था नै छैन। संवैधानिक मर्यादाभित्र बस्नु भनेको केही पनि नगरी बस्नु हो। संवैधानिक मर्यादामा नबस्नु भनेको केही गर्छु भन्नु हो। तर संविधानसँग बाँझिएको कुरा गर्न पाइँदैन। राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएको सुझाव बाहिर ल्याउन मिल्दैन। अभिभावकत्वलाई देखिने गरी काम गर्ने हो भने राष्ट्रपतिले संविधान संशोधन गर्नु पर्छ। हिजोका राजाहरूले शक्तिको चरम दुरुपयोग गरेको कारणले र शिखर व्यक्तित्व राष्ट्रपति बनाएको हो। त्यो कारणले गर्दा संविधानलाई खोस्टो बनाउने काम गर्नु हुँदैन।
राष्ट्रपतिमा जान व्यक्तिहरू किन लोभ गर्छन् ?
व्यक्तिहरू लोभी भएको भए शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बन्न जान्थे। जाने भनेको शक्ति प्रयोग गर्न पाउने ठाउँमा जान खोज्ने हो। राष्ट्रपतिमा शक्ति प्रयोग गरिँदैन।
उपराष्ट्रपतिमा सत्ता घटक दलहरूबाट एउटा साझा उम्मेदवार ल्याउन किन नसकेको ?
जसपालाई दिन नखोजेको अर्थमा बुझ्न सकिन्छ। उपेन्द्र यादवलाई संसदमा आउन नदिन प्रयास गरेको हुनसक्छ। जसपाबाट एउटा महिला दिएर गरेको भए हुन्थ्यो। नीति बनाउने विधायिका बनाउने तर त्यो विधायिकाबाट नीति, नियम बनाउने काम भएन। शुद्ध संसदीय प्रथा प्रारम्भ गर्नुपर्छ। हाम्रोमा पद भनेको खान जाने भन्ने परम्परा जस्तो छ। काम गर्न जाने भन्ने सोचको निर्माण गर्नुपर्छ। विधायिकाले कार्यपालिकालाई काम नै गराउँदैन। त्यो हुनु हुँदैन।
यो देश सुधारका लागि अहिलेको समयमा के गर्न सक्छ ?
सबैभन्दा पहिला निर्वाचन प्रणालीको पुनरावलोकन हुनुपर्छ। संसदले आफ्नो काम कर्तव्य र राजनीतिक अधिकार बुझ्नुपर्छ। अब संसद्ले आफ्ना अधिकारहरू कटौती गर्नुपर्छ। तर हाम्रोमा त प्रधानमन्त्री पद नै यता न उता भन्ने स्थिति छ। यो पद भनेको पाँच वर्षका लागि हुनुपर्छ भनेर संविधानमै लेखिनुपर्छ। पाँच वर्ष नेतृत्व स्थिर नभएसम्म देशको विकास सम्भव छैन।
प्रस्तुतिः पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया