जलविद्युत आयोजना निर्माणपछि नारच्याङमा बसाइ सरेर आउनेको संख्या बढ्यो « Khabarhub

जलविद्युत आयोजना निर्माणपछि नारच्याङमा बसाइ सरेर आउनेको संख्या बढ्यो


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने  नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसपछि हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत आयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ ।

जलविद्युत आयोजना निर्माण हुने क्रम बढेसँगै यहाँ बसाइ सरेर आउने मानिस उल्लेख्य रूपमा वृद्धि भएको छ । तीन दशक अघिसम्म ७०-७५ घरधुरी रहेकामा अहिले पाँच सयभन्दा बढी घरधुरीको बसोबास छ । यस वर्ष मात्रै करिब ४० भन्दा बढी व्यक्ति अरू गाउँबाट बसाइँ सराइ गरी यहाँ आएका छन् । पछिल्लो समय नारच्याङ ‘हाइड्रो भिलेज’का नामले चर्चित छ । यहाँ केही निर्माणाधीन र केही निर्माण सम्पन्न भएका चार सय २१ मेगावाटका नौ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यी आयोजनामा काम गर्न उत्तरी म्याग्दीका विभिन्न गाउँबाट बसाइ सरेर अहिले नारच्याङ आउनेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार जलविद्युत आयोजना निर्माणका कारण यहाँका युवाले गाउँमै रोजगार पाएका छन् । रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको छ । आयोजनामा शेयर लगानी गर्ने र लगानीबापत पाउने बोनस रकमले यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ ।

उक्त गाउँपालिका–५ पाउद्वारबाट बसाइँ सरेर नारच्याङमा आएका फत्तेबहादुर तिलिजाले गाउँमै रोजगारीका साथै सुरक्षित व्यवसायको सम्भावना देखेर यहाँ आएको बताए । ‘पोखरा, काठमाडौँलगायत सहरमा जान सकिँदैन, यहाँ जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका छन्, आफ्नै गाउँघरमा रोजगारी पाइने भएपछि परिवारको सुरक्षित भविष्यका लागि पाउद्धारबाट बसाइँ सरेर यहाँ आएका हौँ’, उनले भने।

एक वर्षयता ४० भन्दा बढी बसाइँ सरेर यहाँ कामका लागि आएका छन् । काम र शिक्षाका लागि बसाइँ सर्ने क्रम नरोकिएकाले यहाँ आउनेको सङ्ख्या अझै बढ्ने वडा नं ४ का वडा सचिव अमृत नेपालीले जानकारी दिए ।

नारच्याङमा जलविद्युत निर्माण हुनाका साथै प्राविधिक शिक्षालय सञ्चालन भएपछि इन्जिनियरिङ पढ्न यहाँ आउनेहरूले पनि बसाइँ सर्ने गरेका उनको भनाइ थियो । रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने भएपछि बसाइसराइ गरेर आउनेको सङ्ख्या बढेको वडाध्यक्ष फगामीले बताए ।

‘यहाँबाट रोजगारी तथा शिक्षाका लागि काठमाडौँ, पोखरालगायत सहरमा गएका व्यक्ति पनि धमाधम गाउँ फकिँदै छन्, बाहिरबाट बसाइसराइ गरेर आउनेहरू पनि थपिएका छन्’ उनले भने ‘जलविद्युतले जग्गाको मूल्य राम्रै दिएको छ । पुराना घर हट्दै नया पक्की घर बनेका छन् । स्थानीयवासीले गाउँमै रोजगारी पाउनाका साथै होटल सञ्चालन गरी व्यवसाय गरेर पर्यटक समेत भित्रिएका छन् ।’

कालिगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा गरी दुई दर्जन बढी जलविद्युत आयोजना म्याग्दीमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये नौ वटा जलविद्युत आयोजना नारच्याङमा मात्रै सञ्चालित छन् । कालिगण्डकी नदीसँगै अन्नपूर्ण र नीलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, नीलगिरि, रेलेखोलालगायत खोलामा जलविद्युत आयोजना निर्माण हुन थालेपछि यहाँका बासिन्दाको जीवनस्तर फेरिएको वडासदस्य यामकुमारी सोतन्जाले बताइन् ।

जलविद्युत आयोजना भित्रिएसँगै गाउँका युवा रोजगारीका लागि विदेश जाने क्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टङ्कबहादुर पुनले बताए । ‘पहिले गाउँमा रोजगार नहुँदा ‘विदेश, विदेश भन्थे’, अहिले धमाधम जलविद्युत आयोजनाले युवालाई रोजगारी दिएकाले उनीहरूको दैनिक जीवन  सहज भएको छ,’ उनले भने । अन्नपूर्ण र नीलगिरि हिमालको काखमा रहेको नारच्याङका पाँच सय घरधुरीका प्रत्येक व्यक्ति गाउँमा नै रोजगार छन् ।

विसं २०४४ मा दुई मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएपश्चात् ४० मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् । एक सय सात मेगावाटको नीलगिरि खोला–एक र नीलगिरि खोला–दुईले कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । छ मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, दुई सय मेगावाटको कालिगण्डकी गर्ज निर्माणाधीन अवस्थामा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : २३ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति