पछिल्लो समय सुन्दर देखिनका लागि बजारका अनेकौँ सामग्री पाइन्छ । त्यसमा पनि पछिल्लो समय हाइड्राफेसियल लोकप्रिय बन्दै गएको छ । ‘हाइड्राफेसियल’ अनुहारको छालालाई चमक र सुन्दर बनाउन गरिने उपचारमध्ये एक हो। यो अनुहारमा गरिने नयाँ प्रविधिको फेसियल हो। घाम, धुलो र धुवाबाट बच्नको लागि मानिसहरू फेसियल गर्ने गर्दछन् । हाइड्राफेसियल गर्दा प्रयोग हुने मेसिनले अनुहारका मरेका सेल निकालिदिन्छ । साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको हुन्छ । जसले छालाको फोहोर निकाली चम्किलो बनाउने काम गर्छ । हाइड्राफेसियल भनेको के हो? हाइड्राफेसियल किन गर्नुपर्छ र यो कसरी गरिन्छ ? यी र यस्तै विषमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. राजन बात्स्यासँग गरिएको कुराकानीको सम्पादित अंश :
हाइड्राफेसियल भनेको के हो ?
हाइड्रा भनेको पानी र फेसियल भनेको अनुहार सफा र चम्किलो बनाउने काम अर्थात् पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ । यसमा सफा गर्ने र मरेको सेलहरू निकाल्ने गरिन्छ । हाइड्राफेसियल हाइड्रो-डर्माब्रेसन प्रक्रिया हो । यसले सफा गर्ने र हाइड्रेट गर्ने प्याटेन्ट टेक्नोलोजीको प्रयोग गर्दछ। यो अहिलेको समयमा छालाको लोकप्रिय उपचार विधिमा पर्छ ।
हाइड्राफेसियल कसरी गरिन्छ ?
यो हाइड्राफेसियल गर्ने क्रममा जुन पानी हुन्छ, त्यो पानी त्यसमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ । त्यसमा कुन ठाउँमा गर्ने आँखाको वरिपरि गरिन्छ । त्यो केमिकलहरूको नलेज भएकोले गर्दा राम्रो हुन्छ । कुनै स्किनमा रोग छ, कुनै औषधि खानु भएको छ भने गर्न मिल्दैन । नभए गर्दा हुन्छ । यसको लागि १५ देखि २० मिनेट समय लाग्छ ।
हाइड्राफेसियलका फाइदा के के हुन्?
हाईड्राफेसियल गरेपछि अनुहारमा भएको चायाँ, कालो दाग, ग्रेड एक डन्डिफोर (साना कनिका जस्ता दाना), फाइन लाइन्स, ओपन पोर्स, आदि जस्तो समस्यालाई हटाउन सकिन्छ। बढ्दो प्रदूषणले हाम्रो छालाको छिद्रहरू बन्द हुन्छ, अशुद्धताहरू जम्मा हुन्छ, जुन हाइड्रोफेसियलद्वारा छिटो हटाउन सकिन्छ। शारीरिक तनावका कारण छालामा आउने (टुट-फुट) जस्ता परिवर्तनमा शिघ्र निखार ल्याउनलाई यो एक उपयुक्त प्रविधि हो।
यो कस्तो व्यक्तिले गर्यो भने राम्रो हो ?
यो उपचार जुनसुकै उमेरमा र कुनै पनि प्रकारको छालाको टोनमा प्रयोग गर्न सकिन्छ। धेरै संवेदनशील छालाले पनि यो उपचार सहन सक्छ। यसले पिम्पलहरू हटाउन धेरै मद्दत गर्दछ । धेरै छालाको केयर गर्ने मान्छेहरूले गर्नु हुन्छ ।
हाइड्राफेसियल कसले गर्न मिल्दैन?
गर्भवती वा स्तनपान गराउनुभएकोले हाइड्राफेसियल गर्नु हुँदैन। छालाको एलर्जी वा छाला सम्बन्धी कुनै रोग छ भने गर्नु हुँदैन । धेरै डन्डिफोर (रातो, पोटिलो दाना) भएका र रोजेसिया हुनेले पनि हाइड्राफेसियल गर्नु हुँदैन।
ब्युटी पार्लर गरिने फेसियल र हाइड्राफेसियलमा के फरक छ ?
हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ । त्यसले मसाज गर्ने हुन्छ, यसले ब्लड सर्कुलर मिलाउँछ । पार्लरमा हातले गरिन्छ भने हामी मेसिनले नै सबै गर्छौँ । सुरुमा सबै प्वालहरू सफा गरिन्छ ।
मानिसको छाला फरकफरक हुन्छ । छाला हेरेर फरकफरक तरिका अपनाइन्छ कि एउटै तरिकाले गरिन्छ ?
प्रेसर मिलाउनु पर्दछ । कसैको कमलो स्किन हुन्छ । कसैको पिम्पल हुन्छ । त्यसका आधारमा हामीले कुन केमिकल लगाउने भनेर गर्छौँ।
एक पटक हाइड्राफेसियल गरेपछि पटकपटक गर्नुपर्छ कि पर्दैन ?
छाला फेर्ने प्रक्रिया त हुन्छ । तर भिटामिनहरू लगाउँदा एक महिनाको फरकमा गर्दा हुन्छ । धेरै फेस केयर गर्न नसक्ने मान्छेले यो गर्ने हो ।
हाइड्राफेसियलको साइड इफेक्ट हुन्छ कि हुँदैन ?
कुनै रोग छ भने गर्नु हुँदैन । नभए सबै मान्छेले गर्दा हुन्छ । छाला घाममा जोगिन नसक्ने मान्छेहरूले पनि गर्न मिल्छ । कुनै डर मान्नु पर्दैन।
हाइड्राफेसियल गरेपछि के गर्नु हुँदैन ?
यसको नियमित केयर गर्नुपर्छ । जसमा घाममा धेरै नजाने गर्दा राम्रो हुन्छ । समयमा उपचार गर्ने, पानी प्रशस्त मात्रामा खाने, कोक फेन्टाहरु धेरै नखानु राम्रो हुन्छ । धेरै नुहाउने मान्छेले धेरै साबुन प्रयोग नगर्नु ठिक हुन्छ । नुहाउन साथ बढी लोसनहरू लगाउने गर्दा धेरै राम्रो हुन्छ ।













प्रतिक्रिया