एमालेमा ‘बा ब्रान्डिङ’ को सकस | Khabarhub Khabarhub

एमालेमा ‘बा ब्रान्डिङ’ को सकस



एमालेका ‘केपी बा’ यतिबेला आफ्नो नाडी आफैं छाम्ने अभियानमा हुनुहुन्छ । गाडीका लावा लस्कर छन् । जताततै भक्तका झुण्ड छन् । देशभरका धार्मिक मठ मन्दिरमा खपत हुनेभन्दा बढी फूलमाला नेताका आभूषण बनेका छन् ।

बिहेमा बजाउन नपाएको नौमती र पन्चेबाजा अगाडि पछाडि लागेका छन् । सरकारी फौज र पार्टी कार्यकर्ता ‘सुरक्षा’ नाममा यथेष्ट सेवा चाकरी पुर्‍याएकै छन् ।

र्‍यालीमा हिँड्नेका लागि पाइला पाइलामा ठाउँ अनुसारको मेवा मिष्ठान्न तयार छ । यही शैलीको कार्यक्रम पूर्वराजा ज्ञानेन्द्रले गरेको हुन्थ्यो भने पञ्चायतको ‘प्रेत जगाउन’ निकालिएको पञ्चर्‍याली वा कार्यक्रम नै गर्न नदिने राष्ट्रिय सहमति बन्थ्यो होला । तर दलको कार्यक्रम भएकाले यसलाई सुशासन र समृद्धिको महायात्राका रुपमा व्याख्या गरिएको छ ।

एमाले अहिले प्रतिपक्षीमा छ । ऊ जनताले दिएको म्यान्डेटले प्रतिपक्षी बेन्चमा पुगेको होइन । सत्तामा हुँदा निर्माण भएका कीर्तिमान जग वर्तमान सरकारले भत्काएपछि त्यस विरुद्धको आक्रोश पनि होइन ।

अभियानको प्रकृति पिकनिक शैलीको छ । नेताहरु मंसिर उत्तराद्र्धको न्यानो घाम ताप्दै हिँडेका छन् । सांगठनिक दबाब कसैमा छैन । बरु महासचिव शंकर पोखरेलले सिन्धुपाल्चोक र दोलखाको सीमावर्ती मुढेमा खाएको खान्कीको माहोललाई ‘पिकनिक’ झल्को भनेर आफ्नै फेसबुकमा लेख्नुभएको छ ।

‘बा’ का अर्का सारथी विष्णु रिमालले बालाई नेपाली राजनीतिको बाघ भनेर उल्लेख गर्नुभएको छ । स्वयं बाले पनि माछा तार्नेदेखि बेहुला–बेहुलीलाई शुभकामना दिनसम्म भ्याउनुभएको छ । एमालेजनले पोष्ट गरेको भिडियो र फोटो अभियान हेर्दा धेरै समय यसैमा खर्च भएको स्पष्ट हुन्छ । केपी बा मुस्कुराउँदा एमाले धपक्कै बल्ने सबको बुझाइ छ ।

एमालेजस्तो सुझबुझ भएकाहरुको पार्टी चुनाव भएको एक वर्षमै चार वर्षपछिको अनिश्चित सपना बोकेर सामथ्र्य दुरुपयोग गरिरहेको प्रष्ट छ । आफैं बेहिसाव चल्दै सुशासनको नारा लगाएर त्यसको जमिन आफैं भत्काइरहेको छ ।

दोस्रो तहका नेताहरुमा ‘बा’लाई खुसी पार्ने प्रतिस्पर्धा छ । तल्लो तहसम्म बा रिझाउने रिहर्सल प्रवाहित गराइएको छ ।

सन्तानविहीन ओलीलाई मनोवैज्ञानिक उर्जा दिन अघि बढाइएको ‘बा’ अभियान राजनीतिक नेतृत्वको हैकमवादी चरित्रको एउटा नमूना हो । कांग्रेसका ‘दाइ-भाउजू’ र माओवादीको ‘सुप्रिमो हेडक्वार्टर’ नामका सम्बन्ध देवत्वकरणमा दिलाउने थलो हुन् ।

दलमार्फत नेताहरुले गर्ने राजनीतिको उडान निसन्देह सत्ता नामकै विमानस्थलमा अवतरण हुने हो । राजनीतिलाई नीतिहरुकै राजा मानिने कारण पनि यसको महात्म्य आफैंमा पूर्ण छ । त्यसमाथि सांगठनिक संरचनाका दृष्टिले एमाले देशकै अब्बल पार्टी हो ।

क्षमता र दक्षताका आधारमा कार्यविभाजन गरेर पार्टी जग मजबुत बनाउन अग्रजहरुले कडा मेहनत गरेका छन् । अघिल्लो पुस्ता तन, मन, धनले पार्टीलाई सघाउँथे । पसिनाको मूल्य खोज्ने चलन थिएन ।

अहिले पनि ब्रम्हनालदेखि सिंहदरबारसम्म एमालेको संरचनागत इँटा संस्थागत पर्खालमा आड लिएरै बसेको देखिन्छ । यति हुँदाहुँदै पनि ‘बा मेनिया’ लीला बुझिसाध्य छैन ।

कांग्रेस सत्ताले मातिँदा वा एमाले शक्तिले पातिँदा जनताले वर्षौंसम्मआलोपालो यी दलको विकल्प सोचेनन । आफूले पाएको राष्ट्रिय राजनीतिको लालपूर्जा माओवादीलाई बुझाएपछि प्रचण्डले थापेको खालमा च्याँखे थाप्ने बाहेकको हैसियतबाट कांग्रेस-एमाले च्यूत भएकै हुन् ।

केपी ओलीको अनावश्यक ताउरमाउरले सबै सत्ताबाट एमाले बढारिएकै हो । तर, यो सत्य ओकल्ने सामथ्र्य एमालेजनमा छैन । बरु पार्टी राजनीतिबाट चित्त नबुझाएकाहरु पार्टी राजनीति छोडेरै असन्तुष्टि जाहेर गर्न थालेका छन् ।

सत्तामा हुँदा कार्ययोजनाभन्दा आत्मरन्जनाले एमालेको प्राणवायुमा अक्सिजन प्रवाहित हुन सकेन । मुलुकका २४ वटा मन्त्रालय भएपनि बाको ओलीटिक्सका अगाडि ती सबै निष्प्रभावी भए । भक्तहरुले बाको लहडी सपनालाई दूरदर्शिताको उपमा त भिडाए तर पानीजहाज, रेलसेवा, चुल्होचुल्होमा ग्यास पाइप र टोलटोलमा गाडिएका भ्यू टावरका अस्थिपञ्जरले नेताको उन्मादी राजनीति सम्झाइरहन्छन ।

अनौपचारिक सम्बन्धमा केपी बा घिउ छन् । ओलीको घर छिर्ने उनको अनौपचारिक स्वागत पाएका प्रशंसक बन्ने गर्छन । आफ्ना घरमा टेक्नेहरुको मनोविज्ञान बुझेर व्यवहार गर्ने शैलीले धेरैलाई मन्त्र मुग्ध बनाउँछ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुजस्तै तिनै पुस्तामा प्रभाव जमाउन खोज्ने उहाँको तिर्खा मनासिव लाग्छ ।

त्यसमाथि सधैं उत्सुक, सधैं सक्रिय, हार नमान्ने, अध्ययनशील र आशावादी चरित्र अध्यक्ष ओलीका दुर्लभचरित्र हुन । यी सबै गुणलाई प्रतिशोध र क्षमाशील नहुने अवगुणले भने पार्टी पंक्तिले नै अपुरणीय क्षति व्यहोर्नु परेको तीतो अनुभव सहकर्मीहरुको छ ।

ओलीका सहयोद्धा पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली आफ्नो पुस्तकमा ओलीप्रतिको मूल्याङ्कन गर्दै भन्नुहुन्छ, ‘केही मानिसहरुमा आफ्नो अतीत पनि बदलिएको भान पर्दोरहेछ ।

त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २/४ सय जयजयकार गर्ने मानिसहरु भएनन भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् ।

आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ । केपी सुन्दरता के छ भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसँग च्याप्छन् । प्रधानमन्त्री बनेपछि उनले देश विकास र समृद्धिको सपना देखाइदिएका छन् । सम्झना पूरा भएका दिन नेपालीले अवश्य केपी ओलीलाई सम्झने छन् ।’

मुलुकको अर्थतन्त्र ध्वस्त छ । विकास बजेटको आधा प्रतिशत तलबमा खर्च भइसकेको छ । राजश्वका बाटाहरु खुम्चिएका छन् । देशको राज्य संयन्त्र पूर्णत दलालको हातमा छ । सरकारी काम न सरकारी समयमा हुन्छ, न सरकारी कार्यालयमै हुन्छ । तीन दशकबाट जनताको सपना जपना बनेको मेलम्ची खानेपानी आयोजनाका सम्पूर्ण निर्माण प्रक्रियामै खोट रहेको रिपोर्ट आएको छ ।

जनता बन्धकी राखी ऋण लिएर बनाइएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइनसक्दै प्रयोगविहीन प्रमाणित भएका छन् । जनताको जनजीविका धरापमा छ । एक चौथाई नागरिक विदेशमा छन् । शैक्षिक संस्था रितिने क्रम तीब्र छ ।

तर, देशको प्रमुख प्रतिपक्षी बाको विकल्प बा नै हो भन्ने शैलीमा देशदर्शनमा छ । एमाले मिसन ०८४ लागि कुदिरहँदा वर्तमानको जवाफ कसले कोसँग माग्ने ? नेताहरुले भावनात्मक भाषा एउटा होला, तर वित्तशास्त्रका तथ्यांकले आशा छर्दैनन् । त्यसैले एमाले ओलीटिक्सबाट यथार्थको पोलिटिक्समा अवतरण हुनु जरुरी छ ।

धेरै हल्ला, धेरै प्रचार व्यक्तित्व निर्माणमा साधक नभएर बाधक ठर्हछन । इन्दिरा गान्धीको हत्यापछि कांग्रेस आईका विचारकहरुले राजीव गान्धीको राजनीति उजिल्याउन उनलाई मिडियामा अधिक प्रयोग गरे । जताततै मिडियाबाजी गरेपछि उनीहरुलाई लाग्यो- ‘अब नयाँ सुकुमारजुनिय गान्धी ढुंगा माटोमा पनि परिचित भए ।’

परीक्षणका लागि गुच्चा खेलिरहेका बच्चाहरुलाई राजीवको फोटो देखाएर सोधियो- ‘यिनलाई चिन्छौ ?’ निर्दोष वयका बच्चाहरुले छिनका छिन उत्तर दिए- ‘टीभीमा समाचार पढ्ने मान्छे ।’ खोजेको एउटा परिणाम आयो अर्को । तत्काल उनीहरुले रणनीति बदले । बाको प्रसिद्धि खोज्दा यस्तै दुष्परिणाम आउला कि भन्ने एमालेजन सचेत हुन आवश्यक छ ।

एमालेसंग बीसौं वर्ष अघि देखिका राष्ट्रिय एजेण्डा छन् । जनजीविकाका विषय छन् । देश निर्माणका रोडम्याप छन् । अग्रजहरुले देखेका सपना पूरा गर्ने दायित्व बोकेका नेताहरु छन् । देश विदेशमा ज्ञान हासिल गरेका प्रज्ञा र चेतनाका धरोहरहरुको ठूलो पंक्ति छ ।

अझ पार्टीले जनतामा संकल्प गरेका घोषणा पत्र छन् । आफ्नै घरका तीनपुस्ताको अनुहार सम्झियो भने पनि काम गर्नुपर्ने विषयका थुप्रै ठेली बन्न सक्छन् । यति विधि सत्यको साक्षी रहँदा रहँदै एमाले चार वर्षपछिको स्वप्न बगैंचामा अल्मलिनुको पहेली बुझिनसक्नु छ ।

अध्यक्ष ओलीले ठाउँ ठाउँमा पुगेर सत्तायात्रा सन्निकट रहेको सन्देश पनि दिइरहनु भएको छ । यदि यसो हो भने यो यात्रालाई समृद्धि र संकल्पको नभएर सत्तायात्राका लागि रिफ्रेसमेन्ट हो भनेर इमानपूर्वक भनिदिनुपर्‍यो ।

चुच्चे नक्सा जारी गरेर राष्ट्रियताको शंखघोष गरेको स्वामित्व लिने ओली त्यही ठाउँ पुगेर मौन रहनुभयो । सत्तामा रहेसम्म अन्य कार्डको स्वार्थमा चल्ने त्यहाँबाट झरेपछि भने चाइना कार्डको बहस उराल्ने रोगबाट मुक्त नरहेको ठाउँ कुठाउँमा छनक दिने परम्पराबाट पनि ओली निरपेक्ष रहन सक्नुभएन । यो पनि ओलीजस्ता परिपक्व नेताबाट अपेक्षा गरिएको विषय होइन ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ०० बजे

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग

हेटौँडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको

संघीय व्यवस्थाविरुद्ध ‘प्रचण्ड’ सरकार !

काठमाडौं – आफूलाई ‘संघीयताको हिमायती’ दाबी गर्ने गरेका प्रधानमन्त्री पुष्पकमल

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर– जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा  निर्वाचित