एमालेका ‘केपी बा’ यतिबेला आफ्नो नाडी आफैं छाम्ने अभियानमा हुनुहुन्छ । गाडीका लावा लस्कर छन् । जताततै भक्तका झुण्ड छन् । देशभरका धार्मिक मठ मन्दिरमा खपत हुनेभन्दा बढी फूलमाला नेताका आभूषण बनेका छन् ।
बिहेमा बजाउन नपाएको नौमती र पन्चेबाजा अगाडि पछाडि लागेका छन् । सरकारी फौज र पार्टी कार्यकर्ता ‘सुरक्षा’ नाममा यथेष्ट सेवा चाकरी पुर्याएकै छन् ।
र्यालीमा हिँड्नेका लागि पाइला पाइलामा ठाउँ अनुसारको मेवा मिष्ठान्न तयार छ । यही शैलीको कार्यक्रम पूर्वराजा ज्ञानेन्द्रले गरेको हुन्थ्यो भने पञ्चायतको ‘प्रेत जगाउन’ निकालिएको पञ्चर्याली वा कार्यक्रम नै गर्न नदिने राष्ट्रिय सहमति बन्थ्यो होला । तर दलको कार्यक्रम भएकाले यसलाई सुशासन र समृद्धिको महायात्राका रुपमा व्याख्या गरिएको छ ।
एमाले अहिले प्रतिपक्षीमा छ । ऊ जनताले दिएको म्यान्डेटले प्रतिपक्षी बेन्चमा पुगेको होइन । सत्तामा हुँदा निर्माण भएका कीर्तिमान जग वर्तमान सरकारले भत्काएपछि त्यस विरुद्धको आक्रोश पनि होइन ।
अभियानको प्रकृति पिकनिक शैलीको छ । नेताहरु मंसिर उत्तराद्र्धको न्यानो घाम ताप्दै हिँडेका छन् । सांगठनिक दबाब कसैमा छैन । बरु महासचिव शंकर पोखरेलले सिन्धुपाल्चोक र दोलखाको सीमावर्ती मुढेमा खाएको खान्कीको माहोललाई ‘पिकनिक’ झल्को भनेर आफ्नै फेसबुकमा लेख्नुभएको छ ।
‘बा’ का अर्का सारथी विष्णु रिमालले बालाई नेपाली राजनीतिको बाघ भनेर उल्लेख गर्नुभएको छ । स्वयं बाले पनि माछा तार्नेदेखि बेहुला–बेहुलीलाई शुभकामना दिनसम्म भ्याउनुभएको छ । एमालेजनले पोष्ट गरेको भिडियो र फोटो अभियान हेर्दा धेरै समय यसैमा खर्च भएको स्पष्ट हुन्छ । केपी बा मुस्कुराउँदा एमाले धपक्कै बल्ने सबको बुझाइ छ ।
एमालेजस्तो सुझबुझ भएकाहरुको पार्टी चुनाव भएको एक वर्षमै चार वर्षपछिको अनिश्चित सपना बोकेर सामथ्र्य दुरुपयोग गरिरहेको प्रष्ट छ । आफैं बेहिसाव चल्दै सुशासनको नारा लगाएर त्यसको जमिन आफैं भत्काइरहेको छ ।
दोस्रो तहका नेताहरुमा ‘बा’लाई खुसी पार्ने प्रतिस्पर्धा छ । तल्लो तहसम्म बा रिझाउने रिहर्सल प्रवाहित गराइएको छ ।
सन्तानविहीन ओलीलाई मनोवैज्ञानिक उर्जा दिन अघि बढाइएको ‘बा’ अभियान राजनीतिक नेतृत्वको हैकमवादी चरित्रको एउटा नमूना हो । कांग्रेसका ‘दाइ-भाउजू’ र माओवादीको ‘सुप्रिमो हेडक्वार्टर’ नामका सम्बन्ध देवत्वकरणमा दिलाउने थलो हुन् ।
दलमार्फत नेताहरुले गर्ने राजनीतिको उडान निसन्देह सत्ता नामकै विमानस्थलमा अवतरण हुने हो । राजनीतिलाई नीतिहरुकै राजा मानिने कारण पनि यसको महात्म्य आफैंमा पूर्ण छ । त्यसमाथि सांगठनिक संरचनाका दृष्टिले एमाले देशकै अब्बल पार्टी हो ।
क्षमता र दक्षताका आधारमा कार्यविभाजन गरेर पार्टी जग मजबुत बनाउन अग्रजहरुले कडा मेहनत गरेका छन् । अघिल्लो पुस्ता तन, मन, धनले पार्टीलाई सघाउँथे । पसिनाको मूल्य खोज्ने चलन थिएन ।
अहिले पनि ब्रम्हनालदेखि सिंहदरबारसम्म एमालेको संरचनागत इँटा संस्थागत पर्खालमा आड लिएरै बसेको देखिन्छ । यति हुँदाहुँदै पनि ‘बा मेनिया’ लीला बुझिसाध्य छैन ।
कांग्रेस सत्ताले मातिँदा वा एमाले शक्तिले पातिँदा जनताले वर्षौंसम्मआलोपालो यी दलको विकल्प सोचेनन । आफूले पाएको राष्ट्रिय राजनीतिको लालपूर्जा माओवादीलाई बुझाएपछि प्रचण्डले थापेको खालमा च्याँखे थाप्ने बाहेकको हैसियतबाट कांग्रेस-एमाले च्यूत भएकै हुन् ।
केपी ओलीको अनावश्यक ताउरमाउरले सबै सत्ताबाट एमाले बढारिएकै हो । तर, यो सत्य ओकल्ने सामथ्र्य एमालेजनमा छैन । बरु पार्टी राजनीतिबाट चित्त नबुझाएकाहरु पार्टी राजनीति छोडेरै असन्तुष्टि जाहेर गर्न थालेका छन् ।
सत्तामा हुँदा कार्ययोजनाभन्दा आत्मरन्जनाले एमालेको प्राणवायुमा अक्सिजन प्रवाहित हुन सकेन । मुलुकका २४ वटा मन्त्रालय भएपनि बाको ओलीटिक्सका अगाडि ती सबै निष्प्रभावी भए । भक्तहरुले बाको लहडी सपनालाई दूरदर्शिताको उपमा त भिडाए तर पानीजहाज, रेलसेवा, चुल्होचुल्होमा ग्यास पाइप र टोलटोलमा गाडिएका भ्यू टावरका अस्थिपञ्जरले नेताको उन्मादी राजनीति सम्झाइरहन्छन ।
अनौपचारिक सम्बन्धमा केपी बा घिउ छन् । ओलीको घर छिर्ने उनको अनौपचारिक स्वागत पाएका प्रशंसक बन्ने गर्छन । आफ्ना घरमा टेक्नेहरुको मनोविज्ञान बुझेर व्यवहार गर्ने शैलीले धेरैलाई मन्त्र मुग्ध बनाउँछ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुजस्तै तिनै पुस्तामा प्रभाव जमाउन खोज्ने उहाँको तिर्खा मनासिव लाग्छ ।
त्यसमाथि सधैं उत्सुक, सधैं सक्रिय, हार नमान्ने, अध्ययनशील र आशावादी चरित्र अध्यक्ष ओलीका दुर्लभचरित्र हुन । यी सबै गुणलाई प्रतिशोध र क्षमाशील नहुने अवगुणले भने पार्टी पंक्तिले नै अपुरणीय क्षति व्यहोर्नु परेको तीतो अनुभव सहकर्मीहरुको छ ।
ओलीका सहयोद्धा पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली आफ्नो पुस्तकमा ओलीप्रतिको मूल्याङ्कन गर्दै भन्नुहुन्छ, ‘केही मानिसहरुमा आफ्नो अतीत पनि बदलिएको भान पर्दोरहेछ ।
त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २/४ सय जयजयकार गर्ने मानिसहरु भएनन भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् ।
आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ । केपी सुन्दरता के छ भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसँग च्याप्छन् । प्रधानमन्त्री बनेपछि उनले देश विकास र समृद्धिको सपना देखाइदिएका छन् । सम्झना पूरा भएका दिन नेपालीले अवश्य केपी ओलीलाई सम्झने छन् ।’
मुलुकको अर्थतन्त्र ध्वस्त छ । विकास बजेटको आधा प्रतिशत तलबमा खर्च भइसकेको छ । राजश्वका बाटाहरु खुम्चिएका छन् । देशको राज्य संयन्त्र पूर्णत दलालको हातमा छ । सरकारी काम न सरकारी समयमा हुन्छ, न सरकारी कार्यालयमै हुन्छ । तीन दशकबाट जनताको सपना जपना बनेको मेलम्ची खानेपानी आयोजनाका सम्पूर्ण निर्माण प्रक्रियामै खोट रहेको रिपोर्ट आएको छ ।
जनता बन्धकी राखी ऋण लिएर बनाइएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइनसक्दै प्रयोगविहीन प्रमाणित भएका छन् । जनताको जनजीविका धरापमा छ । एक चौथाई नागरिक विदेशमा छन् । शैक्षिक संस्था रितिने क्रम तीब्र छ ।
तर, देशको प्रमुख प्रतिपक्षी बाको विकल्प बा नै हो भन्ने शैलीमा देशदर्शनमा छ । एमाले मिसन ०८४ लागि कुदिरहँदा वर्तमानको जवाफ कसले कोसँग माग्ने ? नेताहरुले भावनात्मक भाषा एउटा होला, तर वित्तशास्त्रका तथ्यांकले आशा छर्दैनन् । त्यसैले एमाले ओलीटिक्सबाट यथार्थको पोलिटिक्समा अवतरण हुनु जरुरी छ ।
धेरै हल्ला, धेरै प्रचार व्यक्तित्व निर्माणमा साधक नभएर बाधक ठर्हछन । इन्दिरा गान्धीको हत्यापछि कांग्रेस आईका विचारकहरुले राजीव गान्धीको राजनीति उजिल्याउन उनलाई मिडियामा अधिक प्रयोग गरे । जताततै मिडियाबाजी गरेपछि उनीहरुलाई लाग्यो- ‘अब नयाँ सुकुमारजुनिय गान्धी ढुंगा माटोमा पनि परिचित भए ।’
परीक्षणका लागि गुच्चा खेलिरहेका बच्चाहरुलाई राजीवको फोटो देखाएर सोधियो- ‘यिनलाई चिन्छौ ?’ निर्दोष वयका बच्चाहरुले छिनका छिन उत्तर दिए- ‘टीभीमा समाचार पढ्ने मान्छे ।’ खोजेको एउटा परिणाम आयो अर्को । तत्काल उनीहरुले रणनीति बदले । बाको प्रसिद्धि खोज्दा यस्तै दुष्परिणाम आउला कि भन्ने एमालेजन सचेत हुन आवश्यक छ ।
एमालेसंग बीसौं वर्ष अघि देखिका राष्ट्रिय एजेण्डा छन् । जनजीविकाका विषय छन् । देश निर्माणका रोडम्याप छन् । अग्रजहरुले देखेका सपना पूरा गर्ने दायित्व बोकेका नेताहरु छन् । देश विदेशमा ज्ञान हासिल गरेका प्रज्ञा र चेतनाका धरोहरहरुको ठूलो पंक्ति छ ।
अझ पार्टीले जनतामा संकल्प गरेका घोषणा पत्र छन् । आफ्नै घरका तीनपुस्ताको अनुहार सम्झियो भने पनि काम गर्नुपर्ने विषयका थुप्रै ठेली बन्न सक्छन् । यति विधि सत्यको साक्षी रहँदा रहँदै एमाले चार वर्षपछिको स्वप्न बगैंचामा अल्मलिनुको पहेली बुझिनसक्नु छ ।
अध्यक्ष ओलीले ठाउँ ठाउँमा पुगेर सत्तायात्रा सन्निकट रहेको सन्देश पनि दिइरहनु भएको छ । यदि यसो हो भने यो यात्रालाई समृद्धि र संकल्पको नभएर सत्तायात्राका लागि रिफ्रेसमेन्ट हो भनेर इमानपूर्वक भनिदिनुपर्यो ।
चुच्चे नक्सा जारी गरेर राष्ट्रियताको शंखघोष गरेको स्वामित्व लिने ओली त्यही ठाउँ पुगेर मौन रहनुभयो । सत्तामा रहेसम्म अन्य कार्डको स्वार्थमा चल्ने त्यहाँबाट झरेपछि भने चाइना कार्डको बहस उराल्ने रोगबाट मुक्त नरहेको ठाउँ कुठाउँमा छनक दिने परम्पराबाट पनि ओली निरपेक्ष रहन सक्नुभएन । यो पनि ओलीजस्ता परिपक्व नेताबाट अपेक्षा गरिएको विषय होइन ।
प्रतिक्रिया