गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ? | Khabarhub Khabarhub

गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ?

सिटौलालाई आउन सक्छ राष्ट्रियसभा अध्यक्षको कार्यभार



काठमाडौँ– नेपाली कांग्रेसमा गुट–उपगुटको खेल प्रायः सधैँ भइरहेको हुन्छ । कुन नेताले कस्तो गुट चलाइरहन्छन् र कुन गुटमा को–को नेता सहभागी हुन्छन् भन्ने कुरा स्वयं कांग्रेसभित्रैका नेतालाई पनि थाहा हुँदैन ।

उसो त कांग्रेसमा गुटको खेल भए पनि जित भने संस्थापन पक्षका नेता शेरबहादुर देउवाकै हुने गरेको छ । यो कुरा कांग्रेसको महाधिवेशन र कांग्रेस संसदीय दलको नेता चुनिने निर्वाचनबाट पुष्टि हुँदै आएको छ ।

१४ औँ महाधिवेशनमा शेखर कोइराला समूहमा बसेर निर्वाचन जितेका गगन थापा अहिले शेखरको नेतृत्व मान्न नसक्ने अवस्थामा छन् । यता केन्द्रीय सदस्य प्रदीप पौडेल र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही नेताहरू लिएर थापाले अर्को गुट स्थापना गर्न लागेको चर्चा पनि कांग्रेसमा गाइँगुइँ चलिरहेको छ । तर, यी नेताहरू आफूलाई यसबारे कुनै जानकारी नभएको बताउँछन् ।

विश्व र गगनले पनि एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने कांग्रेस दोस्रो दर्जाका नेताहरूको भनाइ छ । यही कारण उनीहरुको गुट बनिहाले पनि त्यसले खासै अर्थ नराख्ने कांग्रेसका केही नेताहरूको तर्क छ ।

बेग्लै समूह बनाउने तर्खरमा गगन, शेखरलाई गयो रिपोर्टिङ
पार्टीमा संस्थापन पक्षमा देउवा छन् भने इतर समूहको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । गगन पनि विगतमा शेखर कोइराला निकट नेता हुन् । तर, उनी कांग्रेस संसदीय दलको निर्वाचनपछि शेखर कोइरालाको गुट छाडेर छुट्टै समूह बनाउने योजनामा छन् । कारण गतसाल पुस ५ मा भएको संसदीय दलको निर्वाचनबाटै उब्जिएको समस्या हो ।

त्यसबेला शेखर समूहबाट संसदीय दलको नेतामा गगन उठेका थिए । शेखर समूहमा त्योबेला ३२ भोट थियो । तर गगनलाई आफ्नै समूहका सांसदले भोट दिएनन् । उनले जम्मा २५ भोट मात्र ल्याए भने पार्टी सभापति देउवाले ६४ भोट पाए । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा कांग्रेस सभापति शेरबहादुर देउवा झनै शक्तिशाली बने ।

त्यो बेला शेखर कोइराला समूहकै केही नेताले भोट नदिएर थापा पराजित भएको गगन निकट केही नेताहरूले दाबी गर्दै आएका छन् । संसदीय दलको निर्वाचनमा पराजित भएपछि गगनले भनेका थिए, ‘नतिजा अनपेक्षित भए पनि त्यसलाई आफूले स्वभाविक रूपले लिएको छु । नेपाली कांग्रेसका नाममा हुने कुनै पनि निर्णयहरू, चाहे त्यो सरकारको आलोपालो होस्, चाहे त्यो राष्ट्रपतिका सन्दर्भमा होस्, ती कुनै पनि निर्णयहरू पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल नभईकन भएमा ती व्यक्तिगत निर्णयका रूपमा दर्ज हुनेछन् । कांग्रेसले कुनै खालको समझदारी गर्छ भने पार्टीसँग संस्थागत रूपमा भएको अवस्थामा पार्टीले बोक्छ । बन्द कोठाभित्र बसेर नेताहरूले गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन ।’

यहीँबाट थापाले नेतृत्वको कडा आलोचना थालेका हुन् ।

कहाँबाट उब्जियो बहस ?
कांग्रेस अहिले महासमिति बैठकको तयारीमा जुटिरहेको छ । यही बैठकबाट नीति महाधिवेशन गरेर कांग्रेस नयाँ ढंगबाट अगाडि बढ्न खोजिरहेको बताइएको छ । महासमिति बैठक अगाडि यही २९ गते कांग्रेसको कार्य सम्पादन समितिको बैठक छ ।

त्यसपछि पुस १६ देखि १९ का लागि महासमिति बैठकको मिति नै तय भइसकेको छ ।  राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । यसको तयारीमा लाग्न पनि कांग्रेसलाई समय लाग्छ ।

तर अचानक मंसिर २६ गते मंगलबार शेखर समूहले आफ्नो गुटको बैठक बेलाए त्यो बैठकको निम्तो गगन र विश्वप्रकाशलाई पुगेन । कांग्रेसका एक सिनियर नेताका अनुसार विश्वको लाइन प्रस्ट छ । उनी शेखर कोइरालाले बोलाइको दुई महिना अगाडिको बालुवाटारको बैठकमा पनि सहभागी थिएनन् ।

ती नेताले भने, ‘बालुवाटारमा दुई महिना अगाडि बसेको बैठकमा निम्तो थियो । विश्व जी आउँदिन भनेपछि यो पटक हामीले बोलाएनौँ । गगन जीको बारेमा कुरा अर्कै छ ।’

शेखरका विश्वासिला एक नेताका अनुसार गगनलाई पनि यो बैठकमा नबोलाउने कि भन्ने कुरा उठेको थियो रे ! ती नेताले भने, ‘यो पटकसम्म बोलाऊँ न भनेर हामीले कर गरेपछि बैठक बुधबारका लागि सारिएको हो । यो बैठकमा गगनले स्पष्ट रूपमा शेखर समूहमा बस्ने या आफ्नै सिद्धान्तमा हिँड्ने लाइन क्लियर हुन्छ ।’

मंगलबारको बैठकमा नबोलाएको हुनाले बुधवार बैठक सारिएको थियो । ती नेताले खबरहबलाई बताएअनुसार गगनले छुट्टै गुट निर्माण गर्छु भनेर जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरूलाई भनेको कुरा पुष्टि भएकाले शेखरले नबोलाएको स्पष्ट पारे ।

ती नेताले भने, ‘शेखर समक्ष नै गगनले नयाँ गुट निर्माण गर्न लागेको र शेखरविरुद्ध आफू लागिसकेको कुरा गगनले आफू मातहतका नेतालाई भन्नु भएको रहेछ । त्यो रिपोर्टिङ शेखर समक्ष आइपुग्यो, त्यस कारण पनि बैठकमा नबोलाउँ भन्ने सल्लाह भयो । तर केही साथीहरूले यो पटक बोलाएर सोधखोज गरौँ । भन्नु भएको छ ।’

उनका अनुसार गगन पछिल्लो समय आफू अनुकूलको माहोल बनाउन नेता कार्यकर्तामाझ पुगिरहेका छन् । उनले जिल्ला जिल्लाका तयारी रहन युवा पुस्ता र उनका समर्थक समेतलाई भनिरहेका छन् ।

गगन निकट एक नेताका अनुसार सम्भवतः पार्टीको १५ औँ महाधिवेशनसम्म गगनले नयाँ गुट निर्माण गरिसक्ने छन् । ती नेताले बैठकबारे भने, ‘मंगलबारको बैठकमा गगनजी नआउने भनेपछि बुधबारका लागि बैठक सारिएको हो । भोलि जानुहुन्छ । तर यो आफ्नै गुटको साथ नपाएपछि उहाँमा निराशा छाएको हो ।’

ती नेताले थपे, ‘विश्व जीको लाइन क्लियर छ । उहाँ आउनुहुन्न ।’

किन गर्छन् गगन प्रधानमन्त्री तथा सभापति हुने कुरा ?

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गगन काठमाडौँ क्षेत्र नम्बर ४ बाट उठेका थिए । त्यो बेला उनले सो क्षेत्रका जनतालाई नेपाली कांग्रेस पुस्तान्तरण र रूपान्तरणको अभियानमा रहेकाले आफूले पार्टीको जिम्मेवारी सम्हाल्ने समेत बताएका थिए ।

काठमाडौँ– ४ का जनतालाई आफू प्रधानमन्त्री हुने आश्वासन दिएर समेत भोट मागेका थिए । त्यो बेला उनकै पार्टीका प्रवक्ता प्रकाशशरण महतले गगनमाथि व्यंग्यसमेत गरे । तर, गगनले निरन्तर प्रधानमन्त्री बन्छु भन्दै जनतालाई आस देखाएर भोट मागेका थिए । जनताले जिताए । तर अहिले उनले आफूले बोलेको बोली पुरा गर्न सकेका छैनन् । तर उनी निरन्तर प्रयासमा छन् ।

खास गरेर नेतृत्व पुस्तान्तरण भन्दा पनि राजनीतिमा अनुभवको खाँचो भएको कांग्रेसका पुराना नेता बताउँछन् । तर दोस्रो पुस्ताका केही नेताहरू युवाको पक्षमा आवाजहरू बोल्दै आएका छन् ।

उसो त कांग्रेसका बौद्धिक नेता स्वर्णिम वाग्ले कांग्रेसमा चरम दमन भएको र युवाले अवसर नपाएको भन्दै पार्टी छाडेर नयाँ पार्टी रास्वपामा गइसकेका छन् ।

तर गगन, विश्वप्रकाश, प्रदीप पौडेल, चन्द्र भण्डारी जस्ता प्रभावशाली नेता पार्टी सुधार गरिछाड्ने अभियानमा छन् ।

पुराना र अनुभवी नेता संस्थापन पक्षमा
कांग्रेसमा भएका पुराना र अनुभवी नेता सबै सभापति देउवाको पक्षमा खुलिसकेका छन् । पार्टीको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका काग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि, शशांक कोइराला, उपसभापतिका उम्मेदवार प्रकाशमान सिंह लगायत सबै नेता सभापति देउवाको पक्षमा छन् ।

यता, पार्टीको १५औँ महाधिवेशनमा पार्टी ध्रुवीकरण भएर जाने कुरामा पार्टीका नेताहरू ढुक्क छन् । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने, ‘१५औँ महाधिवेशन सम्ममा सबै गुट उपगुट तोडिएर जान्छन् ।’

उनले पार्टीमा सबैलाई सभापति देउवाको आशीर्वाद चाहिएकाले सत्तामा जान सबैले प्रतिस्पर्धा गरिरहेको बताए । उनले भने, ‘नयाँ ढंगबाट जाने सभापतिले चाहना राख्नु भएको छ ।’

कांग्रेसमा सबै प्रभावशाली नेताहरू भएको उसले दाबी गरिरहेको छ । हुन त यो पार्टी आर्थिक रूपमा पनि बलियो तथा नेपालको इतिहास र विरासत बोकेको पार्टी भएकाले यस पार्टीमा गुट उपगुटको खेती सामान्य रूपमा रहेको कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय बताउँछिन् । उनी भन्छिन्, ‘ठुलो पार्टीमा अनेकौँ विचारधारा हुन्छन् । तर कांग्रेसमा जहाँ जहाँ जे भए पनि सभापति देउवाले गरेको निर्णय नमान्ने कोही हुनुहुन्न ।’

शशांक कोइराला बीपी कोइरालाका कान्छा छोरा हुन् । उनी महामन्त्री भइसकेका छन् । प्रकाशमान सिंह गणेशमानका छोरा हुन उनी पनि पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार भइसकेका छन् ।

बिमलेन्द्र निधि पनि सभापतिको उम्मेद्वार भइसकेका छन् । डा.शेखर कोइराला पनि सभापतिमा उठिसकेका छन् । यस्तै, पूर्णबहादुर खड्का पनि उपसभापति भइसकेका छन् । उनीहरू सबैले देउवालाई फुर्क्याएर सभापति बन्ने चाहना राखेको पाइन्छ ।

१४औँ महाधिवेशनमा देउवाको चरम दमन सहेको भन्दै आएका रामचन्द्र पौडेललाई देउवाकै पहलमा राष्ट्रपति बनाइसकेका छन् । यसो हुँदा कांग्रेसका पुराना नेता कृष्णप्रसाद सिटौला पनि शेरबहादुरले कुनै पद मिलाउँला कि भनेर दाउँमा रहेको कांग्रेसका युवा नेताको तर्क छ ।

ती नेताले भने, ‘सिटौला जीलाई राष्ट्रसभामा तान्ने तयारी छ ।’ डा. कोइराला १५औँ महाधिवेशनमा पार्टीको सभापति बन्ने तयारीका साथ देश दैडाहामा भएको देखिन्छ ।

राष्ट्रिय सभामा सिटौलालाई राम्रो स्थान दिने देउवाको दाउ
राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ । सभाको अध्यक्ष आफू हुनुपर्ने सिटौलाको माग छ । राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका गरी २० जना सांसदहरूको पदावधि सकिँदै छ । जसमा नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जनाको पदावधि सकिँदै छ ।

उनीहरूको पदावधि फागुन २१ गतेदेखि सकिँदैछ । एक जना मनोनीत हुन पाउने संवैधानिक व्यवस्था छ । यसो हुँदा १९ जनाको निर्वाचन हुन्छ । जसका लागि कांग्रेस सहितका दलले आन्तरिक तयारी गरिरहेका छन् । सत्ता गठबन्धनमा रहेको सबैभन्दा ठुलो पार्टी कांग्रेस भएकाले उसले अध्यक्षमा दाबी गरेको र सिटौलालाई नै अगि सार्ने आन्तरिक तयारी भएको नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताका अनुसार सिटौलालाई राष्ट्रपतिको निर्वाचन हुने बेलामा नै देउवाले राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएका थिए । यसबारे कांग्रेसका दोस्रो पुस्ताका नेताहरू भने यसबारे कुनै जानकारी नभएको बताउँछन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १० : १९ बजे

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’

मोरङ– सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह

राजतन्त्र ल्याउँछु भन्नु असम्भव : उपमहासचिव पोखरल

कटारी– नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा