नयाँ वर्ष र नयाँ उत्साह | Khabarhub Khabarhub

नयाँ वर्ष र नयाँ उत्साह



सदाझै नेपालीका घर आँगनीमा नयाँ वर्षको आरम्भ भएको छ। नल नामको सम्वत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि भनौँ चैत्र ८ गते देखिनै पिंगल नामको सम्वत्सर सुरु भएर विक्रम सम्वत् २०८० सुरु भएको छ। नयाँ वसन्त, नयाँ उत्साह, नवीन वर्षले नयाँ जोस र जाँगर प्राप्त रहोस्। सबै नेपाली स्वदेश वा विदेश जहाँ बसे रहे पनि वर्षभर नै शुभ रहोस् भन्ने शुभ कामना अर्पण गर्दै संक्षेपमा यस वर्षका विषयमा चर्चा गर्ने यो लेखको आशय रहेको छ।

श्रीशाके १९४५, श्रीसम्वत् २०८० पिँगल नामक सम्वत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख कृष्ण नवमी तिथि, श्रवण नक्षत्र,साध्य योग, गरकरण शुक्रबार, दिउँसो १७:२६ प्रवादन कालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्र मास सकिएर वैशाख महिना सुरु भएर नयाँ वर्षको आरम्भ हुँदैछ। तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पञ्चांगको श्रवण मात्रैले पनि गंगास्नानको फल मिल्ने शास्त्रीय मान्यता रहेको छ।

वर्षमा जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५१ औँ सम्वत्सर पिंगल परेको छ। आउने वर्ष काल नामको हुनेछ। सृष्टि सुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २४ वर्ष व्यतीत भएको छ। कलि आरम्भको समय भने ५ हजार १ सय २४ वर्ष व्यतीत भएको छ। यो वर्ष इ सं २०२३। २०२४ हो भने नेपाल सम्वत् ११४३। ४४ हो। यो वर्षको राजा बुध हो र मन्त्री शुक्र हुन्। स्वभावैले बुधको प्रभाव धेरै जलवर्षा हुने, नेपालीका घर, समाजमा धार्मिक कार्य धेरै हुने, सामान्यतया आम नेपाली हाँसी खुसी नै रहने छन्। मन्त्री शुक्र छन्। जसले गर्दा अनाजमा महंगी वृद्धि यसैले आम जनाता फेरि निराश हुनुपर्ने, अन्न बालिमा सलहको कष्ट सहनु पर्ने, चन्द्रमाले वर्षा अनुकूल रहने र दूग्ध पदार्थको अवस्था सामान्य नै रहने छ, मुख्य बाली धानमा शनिका कारण उत्पादनमा वृद्धि खासै हुन नसक्ने, भएकाको वितरण प्रणाली अव्यवस्थित हुँदा दूर्भिक्षको सम्भावना रहने, खाद्य संकट, विदेशबाट आयात गर्नुपर्ने, देशमा आन्तरिक कलह रहने, वादल वर्षाको मालिक वृहस्पतिका कारण जल वर्षामा खासै समस्या नहुने, रसक्षेत्रका मालिक बुधको सकारात्मक प्रभावले अन्य कृषिक्षेत्र सरस नै हुने, उत्पादनमा बढोत्तरी नै हुन्छ।

कपडा, चाँदीसेतो सरसामग्रीको भाउ बढ्न सक्ने, फलपूmल आयात नै भएर पनि गुरु वृहस्पतिका कारण राम्रै हुनेछ। धनमा सूर्यका कारण व्यापारी थप मोटाउँने छन्, सिमा, किल्लाको रक्षा गुरु वृहस्पतिले गर्ने हुँदा सिमा समस्यामा खासै चासो दिनु पर्ने हुन्न, शासक वर्गहरु भने मिठा, चिल्ला कुरा गर्न छोड्दैनन्। राम्रा योजना ल्याउँछन् तर पूरा गर्न सक्दैनन्। वि सं २०७९ मा राजा शनि भएकाले जनताले बढी कष्ट पाए। निराश चुनावमा होमिरहे, राजनीतिक बखेडा पनि धेरै भयो। यो वर्ष बुध राजा हुन्, मन्त्री पनि शुक्र भएकाले देशमा धेरै मारमुग्री भने हुन्न।

समग्रमा वर्षभरि शुभाशुभ फल मध्यम हुन्छ। वायु प्रदूषण, फोहोर हटाउने विवाद पहिलेकै हो र यसपालि पनि हानथाप नै हुनेछ। नागरिकको स्वास्थ्य समस्या, बलियाको रजाइँ, निर्धाहरुको आत्मग्लानी पनि साविक अनुसारै होला। खासगरी चोर फटाहाको बिगबिगी रहने छ। गाँस, बास कपासको पीडा र रोगसँग लड्ने नागरिक क्षमतामा कमी हुनेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा इन्धन आपूर्तिमा कठिनाइ, राज्य राज्यका बीच फाटो, शासकका बीच मतैक्यताको अभाव, म ठूलो भन्ने अहंपन, फलाम आदि धातुको मूल्यको तीव्र चाप, संसारभर नै आर्थिक मन्दीको समस्या, आर्थिक वृद्धि दरमा कठिनाइ विविध समस्या रहनेछन् यो वर्ष।

यो वर्ष शनि क्रुर ग्रह वर्षभर नै कुम्भ राशिमा रहने त्यसपछि मीन राशिमा सर्ने छ। अत: कुम्भ राशिलाई वर्षभर नै मध्य साँढे साती दशा हुनेछ, मीन राशिलाई आद्य र मकर राशिलाई अन्त्य साँढे साती दोष हुनेछ। कर्कट र वृश्चिक राशिलाई अढैया शनि दोष रहने छ। यस्ता दोष भएकालाई झुटा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सन्चित धनको नोक्सानी हुने हुन्छ। चोट पटकको डर, काममा ढिलाइ, मान सम्मानमा आघात विभिन्न समस्या हुनसक्छन्।

आफ्नो जन्म कुण्डलीमा ग्रह उच्च छ, राम्रो स्थानमा बसेको छ, शनि ३, ६ ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ। अशुभ फल दिने संकेत भएकाले शनिको विशेष साधना, मन्त्र, जप, पीपलमा जल, गायत्री, दीक्षा मन्त्र, नित्य पाञ्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नुपर्ने हुन्छ। नित्य उपासना, शरीर शुद्धि, पितृको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनु पर्ने हुन्छ, यथाशक्य दान पुण्य गर्नुपर्ने हुन्छ।

समय शुद्धिको हिसाबले हेर्दा यो वर्ष वृहस्पति वैशाख १५ गते शुक्रबार पूर्वमा उदाउँछन्। श्रावण १८ गते शुक्र पश्चिममा अस्ताउँछन् भाद्र १ गते पुनः शुक्र पूर्वमा उदाउँछन्। वृहस्पति एवं शुक्र अस्त भएका बेला हामीले गरेका काम उनीहरुले नदेख्ने भएकाले नित्य पूजा आजा र नैमित्तक पितृकार्य बाहेक अन्य काम्य कर्म गर्न निषेध छ, फल मिल्दैन। काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि, नयाँ उद्यानको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि, दीक्षा ग्रहण, व्रत उद्यापन, चूडा कर्म, ब्रतबन्ध, विवाह, वधु प्रवेश, महादान, उपाकर्म आदि पर्दछन्।नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय चार लाख ३२ हजार वर्ष मध्ये जम्मा पाँच हजार १ सय २४ वर्षमा प्रवेश हुनेछ भने सृष्टिको क्रम भने १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्षमा हुनेछ।

विगत वर्ष राजा र मन्त्री मंगल भएकाले राजनीति उल्टो गतिमा फर्कियो, गठ जोड घटाउ आदि। गत वर्ष भय, त्रास, चिन्ता, हिंसाका घटनामा संसारमा वृद्धि भए। यो शनि राजा हुँदा, मंगल अग्नि ग्रह हो जसबाट आगलगी, चट्याङ, डँढेलो अल्प, खण्ड, अति वृष्टिको बाहुल्यता पनि देखियो। जनतामा त्रास, भय, कृषिमा पनि खासगरी दुग्ध पदार्थमा उत्पादनको कमी र मूल्य वृद्धि भयो।

ग्रह मध्ये बुध र शुक्र सकारात्मक भएकाले यो वर्ष कामना गरौँ असहज नहोस् देशमा तर राज्यले लिने अचाक्ली करले सबैलाई त्राहिमाम पारेको छ। शिक्षा, स्वास्थ्य, समग्रमा बजार धानिनसक्नु छ। उत्पादनको कमी छ, केही निर्यातको वृद्धि देखिए पनि आफ्नो वस्तु होइन, आयातको वृद्धिले पहिलेझै व्यापार घाटामा सुधार भएन, बरु थपियो। विप्रेषणले केही मुद्रा सन्चिति देखिए पनि बैंक, वित्तीय संस्थाप्रति आम जनाधारणा सकारात्मक छैन।

अनावश्यक खर्चिलो चुनाव र उप चुनावले देश थंगथिलो भएको छ। शनिलाई खुसी गराउन भने ॐ शनैश्चराय नमः १०८ मन्त्र जप्दै पिपलको फेदमा पानी हाल्दा पनि हुन्छ। गणेशको सेवा त सधैँ गर्नुपर्छ, नयाँ वर्षमा झन् गर्नै पर्छ।

स्नानले तन शुद्धि, दानले धन शुद्धि, ध्यानले मन शुद्धि हुन्छ। दानमा महिना विशेष, समय विशेष तोकिएको छ। गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुको दानले तन, मन, धन सबै पवित्र बन्छ। वैशाखमा जल र अन्नदानको महत्त्व बढी छ भने तप र पूजाको अधिक महत्व छ। स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन्। सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्कामभावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ। अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने वैशाख स्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रले गर्जन गरेका छन्।

कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन। पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रले पुष्टि गरेका छन्। विभिन्न क्षेत्रमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ। मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो। ज्ञानको प्रयोगको समय द्धापरयुग हो। कलियुग धर्म र कर्म दुवैको समय हो। तीर्थहरुमा सबैतिर पुग्न सकिन्न, अतः आम सन्चारबाट प्रवाह हुने यस्ता भावबाट सबैमा तीर्थको फल मिलोस्, सबैमा शुभकामना।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ५७ बजे

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक