देशभर आज जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन, प्रमुख तीन दलको बैठक स्थगित, नेकपा एसको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाइने, थप १३६ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।
आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।
उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। उहाँले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रचण्डले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन्।
जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’
उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए । प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरूले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
प्रमुख तीन दलको बैठक स्थगित
सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ ।
संसद्को बिजनेसलगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए । तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने यकिन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले संसद्को बिजनेस, संसदको विषयगत समिति गठनलगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए ।
नेकपा एसको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाइने
नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उनले बताए । खतिवडाले न्यौपानेले लगाएका आरोपहरू खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे । न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनको भनाइ छ । त्यस्तै सचिवालय बैठकले आगामी बैशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।
उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने र प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी अमेरिका प्रस्थान
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।
कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ बाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।
सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहत् छलफल हुनेछ । मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरू सुबोधसिंह थारु, भोलाराम चौधरी, डा। उमा शंकर प्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन् ।
नेकपा एसको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाइने
नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उनले बताए । खतिवडाले न्यौपानेले लगाएका आरोपहरू खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे । न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनको भनाइ छ । त्यस्तै सचिवालय बैठकले आगामी बैशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।
उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने र प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको बताए ।
सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा विचलन
सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो ।
गत आर्थिक वर्ष २०७८-०७९ मा सरकारले पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर गरेको देखिन्छ । गत आर्थिक वर्षमा सरकारको कूल पूँजीगत खर्च दुई खर्ब १६ अर्ब बराबर थियो । जबकि, सरकारले विभिन्न योजना तथा कार्यक्रमका लागि गरेको रकमान्तर मात्रै दुई खर्ब हाराहारी छ । गत आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये एक खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार अर्थात कुल बजेटको १२ दशमलव ०३ प्रतिशत रकमान्तर भएको देखिन्छ ।
सरकारले ठूलो मात्रामा गरेको रकमान्तरमध्ये अधिकांश रकम आर्थिक वर्ष सकिने बेला अर्थात असारमा भुक्तानी दिइएको छ । ‘गत असार महिनामा ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार र असारको अन्तिम हप्तामा मात्र २६ अर्ब ९९ करोड ६९ लाख ९१ हजार बराबर रकमान्तर भएको देखिन्छ’, महालेखाको प्रतिवेदनमा भनिएको छ ।
‘एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत’
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औँल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश, २०७४ को व्यवस्थासँग बाझिने गरी परामर्शदाताले खाता चलाएको उल्लेख छ ।
गठन आदेशमा रहेको व्यवस्था र नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको कार्यक्रम कार्यान्वयन सम्झौताको व्यवस्था फरक-फरक हुँदा यस्तो अवस्था देखिएको हो । ‘एमसीए नेपाल विकास समितिले गर्ने खर्चको भुक्तानीका लागि छुट्टै परामर्शदाताबाट सेवा लिई अन्तिम भुक्तानीका लागि चेक तयार गरी हस्ताक्षर गर्ने कार्यसमेत परामर्शदाताबाटै भएको छ । गठन आदेश र सम्झौतामा भएको व्यवस्था बाझिएको देखिन्छ’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
देशको समृद्धिका लागि चरित्रवान् नेतृत्व आवश्यक
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान् नेतृत्वको आवश्यक हुने बताएका छन् ।
प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महसुस गर्न सक्ने बताए ।
उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरूपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताए ।
नेपालमा थप १३६ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । मन्त्रालयका अनुसार ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।













प्रतिक्रिया