सांकेतिक तस्वीर

देश/प्रदेश

आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ वर्षको जेल सजाय

By खबरहब

September 14, 2023

लमजुङ– आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिका–९ का प्रकाश थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।

यस्तै, उनै बालिकालाई बलात्कार गरेको भनी परेको अर्को मुद्दामा सोही ठाउँका अर्जुन विक्रम थापालाई पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेको छ । 

छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

२०७७ माघमा भएको बलात्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नंं ९ मा रहेको भैरव माविका शिक्षक प्रकाश थापालाई पहिलोपटक पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।

उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । 

विद्यालयका अध्यक्ष नै शिक्षकको विरोधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयको पठनपाठन नै अवरूद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आरोप प्रत्यारोपको अनौठो सिलसिला नै चलेको थियो ।

पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरूको सहयोगमा मनोविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदौ १ मा ती बालिकाले प्रकाश थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

सो क्रममा ती बालिकाले आफूलाई राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरुन्तै अर्जुन बिक्रम थापालाई पक्राउ गरेको थियो । 

शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूको ‘कासमु’ बुझाउन काठमाडौँ गएको बताइए पनि उनी लमजुङमै लुकेर बसेको किटानी जाहेरी परेको १४ दिनपछि पक्राउ परेका थिए ।

प्रहरीले पीडित बालिकाको किटानी जाहेरीका आधारमा दुवै आरोपीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । लमजुङ जिल्ला अदालतको फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।