पूर्व विदेशमन्त्रीको अत्तोपत्तो नहुँदा चीनका रक्षामन्त्री र जर्नेल बेपत्ता | Khabarhub Khabarhub

पूर्व विदेशमन्त्रीको अत्तोपत्तो नहुँदा चीनका रक्षामन्त्री र जर्नेल बेपत्ता



गएको वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेईजिङ फर्किए लगत्तै चीनका रक्षामन्त्री जनरल ली शाङ्गफु चिनियाँ अधिकारीको निगरानीमा परेका थिए। रुसको राजधानी मस्कोमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको समाचार बाहिरिएको थियो।

सुरक्षा मञ्चको एउटा बैठकमा सहभागी भएर फर्किएपछि सार्वजनिक रुपमा रक्षामन्त्री जनरल ली शाङ्गफुले दिएको एउटा प्रतिक्रिया मात्रै बाहिर आएको छ। फुले भनेका थिए, ‘अमेरिकाले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरिरहेको छ। आगोसँग नखेल्न अमेरिकालाई चेतावनी दिन चाहन्छु।’

यो उनले सुरक्षा मञ्चकै बैठकमा दिएको अभिव्यक्ति थियो भनिएको छ। त्यसपछि रक्षामन्त्री जनरल ली शाङ्गफु कहाँ गए ? चिनियाँ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यसबारे केही पनि सार्वजनिक भएको छैन।

गएको साउन ९ गते चीनको व्यवस्थापकीय अंग ‘नेश्नल पिपल्स कंग्रेस’ को ‘स्थायी समिति’ को विशेष बैठकले कुनै पनि कारण नखुलाई तत्कालीन विदेशमन्त्री काङलाई विदेश मन्त्रीको पदबाट मुक्त गरिएको सूचना निकालेको थियो।

लामो समय सार्वजनिक जीवनमा देखा नपरेका काङको स्थानमा यसअघिका विदेश मन्त्री वाङ यीलाई नै नियुक्त गरियो। स्वास्थ्यका कारण जिम्मेवारीबाट हटाइएको भनिएका तत्कालीन विदेशमन्त्री काङ कहाँ छन् भन्ने विषयमा अहिलेसम्म चिनियाँ अधिकारीले औपचारिक जानकारी बाहिर ल्याएका छैनन्।

२५ जुनमा श्रीलंकाका विदेश मन्त्रीसँग बेइजिङमा भएको बैठकपछिसार्वजनिक जीवनमा देखा नपरेका काङ शङ्ककास्पद रुपमा गायव भएपछि उनी वाङ यीसँगको शक्ति संघर्षका कारण सरकारी हिरासतमा पुगेकोविश्लेषण गरिएको छ। तर उनको अनुपस्थिति, एक जना टेलिभिजन प्रस्तोतासँगको सम्बन्धसँग जोडिएको छ। अहिले उनीहरु दुबै जना बेपत्ता छन्।

रक्षामन्त्री भ्रष्टाचार कसुरमा हिरासत पुगे
चिनियाँ जनकंग्रेसको १७५ सदस्यीय स्थायी समितिका प्रभावशाली सदस्य चीनको रक्षामन्त्री जनरल ली शाङ्गफु एकाएक गायव भएपछि उनी भ्रष्टाचारजन्य कसुरमा हिरासतमा पुगेको अनुमानसमेत गर्न थालिएको छ। किनकी, रक्षामन्त्री नै गायव भएपछि आगामी महिनामा हुने स्थायी समितिको बैठकबाट नयाँ रक्षामन्त्री नियुक्त हुनसक्ने चर्चा सुरु भइसकेको छ।

अगस्ट २९ अर्थात दुई सातायता रक्षामन्त्री जनरल ली कतै देखा नपरेको समयमा राष्ट्रपति सी चिन फिङले राष्ट्रिय एकता कायम राख्न र युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्। यसले चीनमा सम्भावित सैन्य विद्रोह अथवा सुरक्षा संकटको पनि संकेत गर्छ। यो अवस्थामा नियमित कार्यतालिका विपरीत चिनियाँ कम्युनिष्ट पार्टीको आकस्मिक बैठक बस्नसक्छ। किनकी चीनमा अहिले केही राजनीतिक उलटपुलटका संकेत देखिन थालेको छ।

जापानका लागि अमेरिकी राजदूत, हेरम ईमानुएलले सामाजिक सञ्जाल एक्समा ट्वीट गरेका छन्, ‘चिनियाँ रकेट फोर्सका एक जना जनरल गायब भएको दुई साता नबित्तै चिनियाँ रक्षामन्त्रीसमेत रहेका अर्का जनरल ली शाङ्गफु सार्वजनिक रुपमा देखानपर्नु कुनै राजनीतिक उलटपुलटको संकेत हुनसक्छ। यही समयमा चिनियाँ राष्ट्रपतिले सेनालाई राष्ट्रिय एकता कायम राख्न निर्देशन दिनु संयोग मात्रै होइन।

चीनमा अहिले केही जटिल समस्या देखिन थालेका छन्, अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्, चिनियाँ राष्ट्रपति सी चिनफिङ निकट नेता चीन गाङ गत डिसेम्बरमा वरिष्ठ नेतालाई पन्छाउँदै विदेश मन्त्री बनाइएका थिए। तर ६ महिना मै उनीविदेश मन्त्रीबाट हटाइए र चीनको मुख्य प्रशासकीय संरचना ‘स्टेट काउन्सिल’ मा समेत उनलाई जिम्मेवारीमुक्त गरियो।

एजेन्सीका अनुसार, चीनमा अहिले पनि सन् २०१७ मा चलाइएको भ्रष्टाचार विरोधी विशेष छानबिन तथा कारबाही अभियान चलिरहेको छ। सोही भ्रष्टाचार विरोधी अभियान कै क्रममा अहिले रक्षामन्त्री जनरल लीलाई सैन्य हिरासतमा राखिएको अनुमान गरिएको हो। गएको सेप्टेम्बर ९ अर्थात् भदौ २२ गते चीनका राष्ट्रपति सीसमेत सहभागी राष्ट्रिय सुरक्षा सम्बन्धी एउटा समारोहमा वर्तमान रक्षामन्त्री फु देखिएका थिएनन्।

डाक्टर अफ इन्जिनियरिङ डिग्रीहाँसिल गरेका चिनियाँ जनमुक्ति सेनाका अत्यन्तै पुराना सदस्य शाङ्गफु सन् १९८२ को अगस्टमा चिनियाँ जनमुक्ति सेनाको सदस्य बनेका पुराना इमान्दार सैन्य जनरल मानिन्छन्। तर अगस्ट २९ मा बेइजिङमा भएको चीन अफ्रिका शान्ति तथा सुरक्षा मञ्चको तेस्रो सम्मेलनमा अन्तिम पटक देखा परेका उनी त्यसयता कतै देखिएका छैनन्।

द इण्डियन एक्स्प्रेसले लेखेको छ, गएको जुलाई २१ मा चीनका राष्ट्रपति सीले दुई विशेष प्रकारको रकेट फोर्स कमाण्ड गठन सम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए। जमिनबाट जमिनमा प्रहार गर्नसक्ने आणविक अस्त्र उत्पादन तथा विकासका लागि गठन गरिएको उक्त फोर्सको कमाण्ड सम्हालेका वाङ होउ विन र फेलिटिकल कमिसर सु सेन्जेनलाई जनरल तोकिएको थियो।

यी दुबै अधिकारीले चिनियाँ सुरक्षा संयन्त्रमा अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए। तर एक साता नबित्दै उनीहरु दुबैलाई हटाइयो। उनीहरु दुबैलाई हटाएर जनरल लुई गाउन विन र जनल ली युचाओलाई नियुक्त गरियो। मुलुकको आणविक अस्त्र क्षमता विकासका लागि गठन गरिएको फोर्सको पहिलो कमाण्ड सम्हालेका सैन्य जनरल वाङ होउ विन अहिले सम्पर्क मै छैनन्। उनलाई समेत भ्रष्टाचार विरोधी संयन्त्रले नियन्त्रणमा लिएको आशंका गरिएको छ।

कुनै समय मानव अधिकारकर्मी तथा पत्रकार निशानामा पर्ने चीनमा पछिल्ला वर्षमा राजनीतिज्ञ, सैन्य अधिकारी तथा अर्बपति यसरी बेपत्ता हुनुलाई सामान्य घटना मान्न थालिएको छ।

किनकी अन्तर्राष्ट्रिय समुदायको अलोचना र दबाबका बीचमा समेत चीनले २०७७ साल असोजमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको प्रमुख नै रहेका चिनियाँ नागरिक मेंग होंगवेईलाई पक्राउ गरेको थियो।

फ्रान्सको लिओन सहरबाट बेपत्ता भएका उनलाई चीनले इन्टरपोलको मुख्यालय रहेको सो सहरबाटै बेपत्ता बनाएप्छि चीनले देशको कानुन उल्लंघन गरेको मामिलामा सोधपुछका लागि नियन्त्रणमा लिइएको जवाफ दिँदै घटनाको जिम्मेवारी स्वीकारेको थियो।

चीनको जन सुरक्षा विभागको उपमन्त्रीसमेत बनिसकेका मेंग चीनको पहिलो यस्तो नागरिक हुन् जसलाई इन्टरपोलको प्रमुख पदका लागि छनौट गरिएको थियो। तर चीनले पुरा समय काम गर्नै दिएन।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १० : ०७ बजे

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा