विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज भदौ २८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

किम र पुटिनबीच राइफल आदानप्रदान
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच रूसको सुदूरपूर्वी सहर भ्लादिभोस्तोकमा भएको उच्चस्तरीय शिखर वार्तापछि एकअर्कालाई राइफल उपहार दिएको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् । हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच पुटिनले किमसँग पनि भेट गरेका हुन् ।

‘पुटिनले किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिए” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ‘। बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन् ।

पेस्कोभले भने, ‘पुटिनले किमलाई अन्तरिक्षयात्रीले प्रयोग गर्ने सुटको पञ्जा’ पनि दिएका छन् । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ ।’ पेस्कोभले भने । पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरेको पनि जनाइएको छ ।

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता किम मङ्गलबार रूस पुगेका हुन् ।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु
उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् ।

भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ ।

सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ । यसैगरी हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी खेती डुबानमा परेका छन् ।

मौसम विज्ञान विभागले आगामी दिनमा अझै पानी पर्ने सम्भावना रहेको तथा बाढीपहिरोमा पर्न सकिने बताउँदै सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरगा गर्न तथा जनताका सम्पत्तिको संरक्षण गर्न राष्ट्रिय सेनालाई निर्देशन दिइएको छ ।

भियतानामको तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको पहिलो आठ महिनामा प्राकृतिक प्रकोपका कारण ७९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

यो अवधिमा आठ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको भौतिक सम्पत्ति नाश भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक नोक्सानी ६४।८ प्रतिशतले कम हो ।

लिबियामा बाढीका कारण २० हजारले ज्यान गुमाएको आशङ्का
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथधिचका अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ ।

दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तरराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् । बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ ।

लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन्भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् ।

नयाँ चिनियाँ नक्साले छिमेकी क्रुद्ध, कूटनीतिक द्वन्द्वको चिन्ता

छिमेकीको भूभागमा समेत सार्वभौमिकता दाबी गर्दै चीनले नयाँ नक्सा जारी गरेपछि हिन्द प्रशान्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । यस कदमबाट चीनका प्रतिस्पर्धी मानिने भारत र जापानसँगै दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका सदस्यहरु पनि चिढिएका छन् । यसबाट कूटनीतिक मात्रै नभइ सैन्य मुठभेड निम्तिने चिन्ता बढेर गएको छ ।

चीन र छिमेकी मुलुकबीच जारी तनावलाई कम गर्न हालैको समयमा कूटनीतिक पहल भइरहेको छ । यद्यपि चीनले नयाँ नक्सा जारी गरेपछि यस्ता कूटनीतिक प्रयास पनि खेर जानसक्ने विश्लेषण गरिएको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कानूनका प्राध्यापक डोनाल्ड रोथवेलका अनुसार चिनियाँ जनमुक्ति सेनाले नयाँ नक्साअनुसार आफ्नो सार्वभौमिकता र क्षेत्राधिकार रहेको क्षेत्रमा बल प्रयोग गर्नसक्ने भएकाले द्वन्द्वलाई अझ बल मिल्नेछ ।

पछिल्लो समय दक्षिण चीन सागरमा आसियानका सदस्य मुलुकका पानीजहाजलाई चिनियाँ तटरक्षकले दुःख दिने गरेको र ती पानीजहाजलाई गन्तव्यमा जान नदिइएको समाचार सार्वजनिक हुँदै आएका छन् । केही समयअघिमात्रै चिनियाँ तटरक्षक जहाजले फिलिपिनी पानीजहाजमाथि पानीको फोहोरा प्रहार गरेका थिए ।

यसबाट क्रुद्ध बनेका फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफूहरुले द्वन्द्व नचाहेको भएपनि दक्षिण चीन् सागरमा आफ्नो मुलुकको सार्वभौमिकता र सार्वभौम अधिकारको रक्षा गर्न तयार रहेको चेतावनी दिएका थिए ।

मलेसियाले पनि दक्षिण चीन सागरमा सार्वभौमिकता दाबी हुनेगरी चीनले जारी गरेको नयाँ नक्सालाई मान्यता नदिने स्पष्ट पारिसकेको छ । चीनले जारी गरेको नक्सा आफ्नो मुलुकमा मान्य नहुने मलेसियाको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी ताइवानले पनि चीनको नयाँ नक्साको विरोध गरेको छ । आफ्नो मुलुकको अस्तित्व रहेको तथ्यलाई चीनको नयाँ नक्साले परिवर्तन गर्न नक्सने ताइवानी पक्षको भनाइ छ ।

चीनले जारी गरेको नक्सामा कायम ‘नाइन ड्यास लाइन’ बाट दक्षिण चीन सागरको ९० प्रतिशत जलक्षेत्रमा चिनियाँ सार्वभौमिकता दाबी गरिएको छ । हालै हेगको अदालतले चीनको नाइन ड्यास लाइन सिद्धान्तलाई अस्वीकार गरिसकेको छ । यद्यपि चीनले सो क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्न भने छाडेको छैन ।

भारतले पनि चिनियाँ दाबीको खण्डन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ कदमलाई ‘हास्यास्पद’ को संज्ञा दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि घरेलु राजनीतिका कारण चीनविरुद्ध कठोर कदम चाल्ने दबाब छ । हालै भारतले सीमा क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।

चीनले नयाँ नक्सामा सार्वभौमिकताको विवादमा रहेको सेनकाकु ९दियाओयु० टापुलाई पनि समेटेपछि जापानले पनि कडा विरोध जनाएको छ । जापानका प्रमुख मन्त्रिपरिषदका सचिव हिरोकाजु मात्सुनोले उक्त टापु निर्विवादित रुपमा जापानी भूभाग रहेको भन्दै यसको रक्षा गर्ने दृढता व्यक्त गरेका छन् ।

प्यालेस्टाइनी शरणार्थी शिविरमा भीषण लडाइँ हुँदा ६ जनाको मृत्यु
लेबनानको सबैभन्दा ठूलो प्यालेस्टाइनी शिविरमा भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा अरु एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् ।

दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ ।

प्यालेस्टाइनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् ।

करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये आइन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन् ।

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एलडिसी०ले लगाएको छ ।

‘हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,’ एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ ।

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।

सन् २०२१ को फेब्रुअरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् । म्यान्मामा हिंसाका घटना निरन्तर बढिरहेका छन् । गत जुलाईमा उहाँलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन ।

यसअघि उनका कान्छा छोराले पनि सैनिक हिरासतमा रहेकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाएकी थिइन् । दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुगेको उनका छोरा किम एरिसले बताएका थिए । नेत्री सुची न्यून रक्तचापबाट पनि पीडित छिन् । उनले आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताएका छन् ।

म्यान्माका सबै राजनीतिक दलहरूको गठबन्धन निर्वासित राष्ट्रिय एकता सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ । विश्वका धेरै नेताले पनि उनको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ५९ बजे

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

पाँचथर – बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका

मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौं – पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ ।

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा,

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्, म बाँच्न सफल भएँ’

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका

एभरेस्ट महिला भलिबल : ललितपुर क्वीन्सको विजयी सुरुवता

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला