विश्वप्रसिद्ध संगीतज्ञको प्रेमपत्र | Khabarhub Khabarhub

विश्वप्रसिद्ध संगीतज्ञको प्रेमपत्र

‘तिमिबिना बाँच्ने साहस छैन’ 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लामा काला नयन हरिणी झस्किए झैँ चनाखा
केही झुक्दी स्तन पृथुल भै नाभी गैह्रो  छ खासा
ब्रह्माजीले युवतीहरूमा रूप पैलो रचेकी
प्यारी मेरी जलधर त्यहाँ हेर होलिन् बसेकी ।
प्रेमको सम्मोहन अनुभूतिमा लट्ठिएर नै शायद कालिदासले प्रेमका यी सुन्दर पंक्ति जन्माएको हुनुपर्छ । माखो मार्न नसक्नेलाई पनि चन्द्रमा झारेर ल्याउने साहस जन्माइदिने प्रेमको अद्भूत शक्तिलाई परिभाषा गर्ने क्रम मानव सृष्टिदेखि अहिलेसम्म चलिरहेको छ । अरुका कुरै छाडौँ, इदि अमिन, बोकासा, हिटलरजस्ता विश्वका क्रूर तानाशाहहरू पनि प्रेममा नतमस्तक थिए ।

नेपोलियनजस्ता लडाकू युद्ध मैदानबाटै आफ्नी प्राणप्यारी जोसेफिनलाई प्रेमपत्र लेख्थे । समय र सीमानामा कैद गर्न नसकिने प्रेमले संसारका महान प्रतिभालाई पुजारी बनाउन सफल भएको छ । सास फेर्नसमेत फुर्सद नपाउने व्यक्तित्वहरू प्रेममा वशीभूत हुन्थे । आफ्नी प्रेमिकालाई प्रेमपत्र लेख्न घन्टौँ समय बिताउँथे । यस्तै प्रतिभामध्ये एक थिए– विश्वप्रसिद्ध संगीतज्ञ लुडविग फन विठोफेन

विठोफेनजस्ता व्यस्त कलाकार प्रेममा यस्तो लिप्त थिए भन्ने त्यसवेला कसैलाई विश्वास थिएन । उनको मृत्युपश्चात् प्राप्त उनीद्वारा लुकीछिपी लेखिएका पत्रले विठोफेनको रहस्यमय प्रेमपूर्ण जीवनको पर्दाफास गरिदियो । विठोफेनको सम्पूर्ण समय सिम्फोनिया, भायोलिन र पियानोको संगीत संयोजन गर्नमै बित्थ्यो । यद्यपि एकांकीपन, निराशा र प्रेमजस्ता आन्तरिक मानवीय भावनालाई कागजमा उतार्ने काममा विठोफेन पछि परेनन् ।

उनका हरेक पत्रमा आत्मीय भावको महासागर बगेको अनुभूति हुन्थ्यो । विठोफेनको संगीत आफैँमा अनुशासित र सृजनशील थियो । यस विपरित आफ्ना प्रेमपत्रमा भने उनले अलि बढी नै आशक्ति देखाएका छन् । अमर प्रेमिका भनेर सम्बोधन गरिएका ती पत्रको प्रति लक्षित थिए भन्ने अनुमानको विषय भएपनि उनका काउन्टेस ग्युइलिएटा ग्युसियार्डी, तेरेसफान, बेटिना ब्रेन्टानफोन नाम भएका तीन प्रेमिका थिए ।

त्यसैले अमर प्रेमिकाको सम्बोधन ग्युसियार्डीलाई नै थियो भनिन्छ । विठोफेन प्रेमविवाहमा आस्था राख्थे । र चाहन्थे आफ्नो वैवाहिक जीवन सुखपूर्ण होस् । उनको उन्मुक्त स्वभाव, जिद्दीपन र बहुलट्ठीपूर्ण चरित्रका कारण कुनै नारी विवाहका लागि तयार भएनन् । यसबाट उनीमाथि कस्तो आघात पर्‍यो, त्यसको वर्णन पत्रमा गरिएको छ । सबैभन्दा अचम्म त के भने उनले प्रेमिकाका नाममा दर्जनौँ पत्र त लेखे । तर त्यो पत्र प्रेमिकाको हातमा चाहिँ पुर्‍याएनन् । विठोफेनको मृत्युपछि बाकसमा भेटिएका केही पत्रको व्यहोरा यस्ता थिए ।

६ जुलाईको बिहानी सन् १८०१
मेरी अप्सरा ! मेरी सर्वस्व !! मेरी आत्मा !!! दुई शब्द त्यो पनि तिम्रै कलमबाट तिमीलाई नै अर्पँदैछु । भोलिको मेरो जीवनको कुनै ठेगान छैन । मेरो मन तिमीसँग यो प्रश्न गर्न बाध्य भएको छ– आत्म बलिदानबिना हाम्रो प्रेमले स्थायित्व लिन सक्ला ? तिमीलाई थाहा छ कि प्रेमले सर्वस्वको माग गर्छ । के तिमी आफ्नो भावनालाई परिवर्तन गरेर तिमी मेरी होइनौ र म तिम्रो होइन भन्ने कुरा प्रमाणित गर्न सक्छ्यौ ? हे भगवान !…. प्रकृतिको रमणीय सौन्दर्य हेरेर आफूलाई आनन्दित गर्ने प्रयास गर । यसबाट प्रेमको अनुभूति हुन्छ । मलाई लाग्छ, प्रेमप्रति म जति समर्पित छु, तिमी पनि त्यति नै छ्यौ । यदि हामी पूर्ण रुपमा एकाकार हुन सक्यौँ भने मेरोजस्तै तिमीले पनि व्यथा भोग्नुपर्ने छैन । 

हिजो सम्मको मेरो यात्रा अत्यन्त चुनौतिपूर्ण थियो । म बिहान चार बजेभन्दा पहिले तिमी भए ठाउँमा आउन असमर्थ रहेँ । घोडाको अभावका कारण त्यस ठाउँ आउन मैले गाडीको यात्रा गर्नुपर्यो । यात्रा अत्यन्तै भयानक थियो । तिमीले मलाई पहिले नै जङ्गलमा रातिको यात्रा नगर्नु भनेर चेतावनी दिएकी थियौ । तर मलाई यसप्रकारको यात्रा गर्ने उत्सुकता रहिरहन्छ । म प्रायश्चित गर्दैछु, मैले गल्ती गरेँ । मेरो थोत्रे घोडा गाडी भार थेग्न नसक्ने भएर सडकमै भत्किएर ध्वस्त हुन पुग्यो । म सडकमा पछारिन पुगेँ । तैपनि म यसलाई सफलता ठानेर हर्षविभोर भएर बसेँ ।

वाह्य जगत्को कुरा छोडेर एकछिन आन्तरिक कुरा लेखौँ ल । निश्चय नै हामी एक अर्कासँग शीघ्र भेट गर्नेछौँ । गएका केही दिनयता मैले आफ्नो जीवनका बारेमा सोचेका कुरा पत्रमा लेखेर साध्य छैन । हाम्रो आत्मा सधैँका लागि एक अर्काको सामीप्यमा रहेको भए मैले यी कुरा सोच्ने फुर्सद पाउने थिइनँ होला । मेरो आत्मा तिमीसँग धेरै कुरा गर्न हुटहुटिरहन्छ । वाह ! एक समय मैले यस्तो पनि अनुभव गरेको थिएँ कि तिम्रो बोली एकाएक शक्तिहीन, सामर्थ्यहीन भएको थियो । खुसी रहनु मेरी सत्य, मेरी एकमात्र सम्पत्ति, मेरी सर्वस्व भएर रहनु । जस्तो कि म सधैँका लागि तिम्रो हुँ । भगवानले पक्कै पनि त्यो वरदान दिन्छन्, जुन हाम्रो लागि सबभन्दा हितकर हुन्छ ।
तिम्रो वफादार
लुडविग

साँझ सोमवार, ६ जुलाई
मेरी प्रियतमा,
तिमीले ज्यादै दुख पाइरहेकी छ्यौ । मलाई भर्खरै थाहा भयो कि मैले बिहानै पत्र डाकमा छिराइ दिनुपर्ने थियो । किनकी सोमबार र मंगलबार मात्र डाक गाडी यहाँबाट क…. सम्म जाने गर्छ । तिमी सन्तप्त अवस्थामा छ्यौ । तिमी जहाँजहाँ पुगेकी हुन्छ्यौ म पनि प्रतिविम्ब भएर त्यहीँत्यहीँ पुगेको हुन्छु । अब मैले फैसला गरिसकेँ, प्रिय म बाँचे तिम्रा लागि बाँच्छु । जीवन पनि कस्तो । यस्तो जीवन ! यस्तो जीवन !!  यस्तो जीवन !!! तिम्रो अभावमा नियति नै पछि परेको भान पर्छ मलाई । म अहिले जति योग्य छु, त्यो भन्दा बढी योग्य हुने प्रयासमा छु । जब म ब्रह्माण्डलाई आफूसँग जोडेर हेर्ने प्रयास गर्छु, त्यसबेला म र ब्रह्माण्डबीचको फरक छुट्याउन मलाई गाह्रो पर्छ । यस्ता कुरा सोच्दा मलाई निराशाले सताउँछ  कि मेरो चिठ्ठी  तिमीसँग शनिवार अघि पुग्दैन । जति प्यार तिमी मलाई गर्छ्यौ, त्यसभन्दा बढी म तिमीलाई प्रेम गर्छु । यद्यपि आफ्नो भावनालाई तिमीले मबाट कहिल्यै नलुकाउनु । ठीक छ अलबिदा । अब म नुवाइधुवाई गरेर सुत्न जान्छु । ओहो भगवान् ! जति नजिक उति टाढा । हाम्रो प्रेम एक स्वर्गीय महलजस्तो होइन । बरु आकासको ध्रुवतारा जस्तो अचल र अटल ।

बिहान ७ जुलाई
अहिले म बिछ्‌यौनामा पल्टिरहेको छु मेरी अमर प्रेमिका । …..मेरो मन तिमीसँगै पुगिरहन्छ । कहिले प्रफुल्लित भएर त कहिले उदास भएर । के साँच्चै नै समयलाई हाम्रो मिलन स्वीकार्य छैन त ? मेरो जीवनको अस्तित्व तिम्रो हातमा छ । तिमी बिना बाँच्न सक्ने साहस म भित्र छैन । मैले प्रतिज्ञा गरिसकेँ त्यसबेला मात्र म तिमीदेखि टाढाको अनन्त यात्रामा निस्कन्छु– जुनबेला म तिम्रो अँगालोमा बेरिन सकूँ । ताकि मलाई मेरो घरमा फर्किएको अनुभूति होस् । मेरो आत्मालाई तुरुन्त आफ्नो आत्मामा बाँधेर आत्माको देशमा पठाइदेऊ । तिमी चाहिने भन्दा बढी दृढ निश्चयी छौ । लाग्छ– मेरो वफादारीप्रति तिमीलाई शंका छ । प्रिय ! अब मेरो हृदय तिमीविना कहिल्यै कसैको हुन सक्दैन । हे भगवान् ! यो कस्तो नियति हो जोसँग यति विधि प्रेम भएर पनि कालान्तरमा बिछोड सहनुपर्छ । मेरो जीवन नितान्त दयनीय भएको छ । तिम्रो प्रेमले मलाई एकसाथ सुखी र दुखी बनाएको छ । यो उमेरमा मेरो लागि शान्त र स्थिर जीवनको जरुरत छ । यद्यपि वर्तमानमा मैले शान्ति पाउन सम्भव छैन । मेरी अप्सरा, डाक गाडी हरेक दिन यहाँबाट जान्छ भन्ने मलाई भर्खरै थाहा भयो । यसकारण मैले छिट्टै छोट्याउनु पर्छ । त्यसो भए मात्र तिमीले यो पत्र छिट्टै हात पार्न सक्छ्यौ । धैर्य गर । धैर्य नै प्रेमलाई सफल बनाउने एकमात्र सिंढी हो । शान्त रहु । मलाई प्रेम गर । आजकल तिम्रो लागि मेरो जीवन आँसुको सागरमा निरन्तर पौडिरहेको छ । मेरी प्राण, मेरी सर्वस्व अलबिदा । मसँग अविरल प्रेम गरिरहनु । आफ्नो प्रेमीको वफादार हृदयलाई कहिल्यै अन्यथा नठान्नु । म सधैँ तिम्रो र तिमी सधैँ मेरी, हामी सधैँ एक अर्काको ।
यति हुँदाहुँदै पनि दुर्भाग्य ग्युइलिएटाले विठोफेनको प्रेमलाई उपेक्षा गरेर गेलेनवर्ग नामको व्यक्तिसँग लगनगाँठो कस्न पुगिन् । संगीत स्रष्टा विठोफेनका लागि यो घटना बज्रपात सिद्ध भयो । फलस्वरुप उनी आजीवन अविवाहित रहे । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : २० बजे

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान