राइडरलाई सम्मान र प्रमाणपत्र दिएर सकियो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’  | Khabarhub Khabarhub

राइडरलाई सम्मान र प्रमाणपत्र दिएर सकियो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ राइडर्सलाई प्रमाणपत्र दिएर समापन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश, १७ जिल्ला, १००० किलोमीटर यात्रा गरेका राइडर्सलाई प्रमाणपत्र दिएर ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले काठमाडौँदेखि मकवानपुर, पर्सा राष्ट्रिय निकुञ्ज, सौराहा, भरतपुर, लूम्बिनी, जितगढी, पाल्पा, रानीमहल हुँदै पोखरा, बेगनासताल यात्रा गरेका राइडर्सलाई बधाई दिँदै प्रमाणपत्र दिएका हुन् । 

‘नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको यो गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रमले साँच्चिकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ’ टूरको डकुमेन्ट्री हेरेपछि बोर्डका सीईओ डा.रेग्मीले भने, ‘अब अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टूरिङमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा टूरका प्रमुख सल्लाहकार अच्युत गुरागाईंले ताप्लेजुङ–दार्चुला बाइक टूरपछि ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सम्पन्न गर्नुले नेपालमा बाइक टूरिङ संस्कृति बढ्दै गएकोमा खुशी व्यक्त गरे । कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई थोरै भएपनि गतिशिल बनाउन बाइक टूर अभियान चलाएकोमा पनि युवा पत्रकार, कलाकार, भ्लगर्स तथा राइडर टिमलाई उनले धन्यवाद व्यक्त गरे । 

‘नेपालमा पर्यटन अभियान चलाउन गाह्रो छ । त्यसमा पनि सरकारी निकायसँग मिलेर काम गर्न झनै गाह्रो छ’ गुरागाईँले भने, ‘यस्तो कठिन अवस्थामा पनि काठमाडौँबाट १०० जना बाइक राइडर्सले पर्यटन अभियान चलाएर यात्रा सफलतापूर्वक सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धी हो । यसलाई निरन्तरता दिनुपर्छ ।’

अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा असोज १० गते काठमाडौँको पर्यटन बोर्डबाट सुरु भएको गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम पाँच दिनमा पर्सा राष्ट्रिय निकुञ्ज, सौराहा, भरतपुर, लूम्बिनी, जितगढी, पाल्पा, रानीमहल हुँदै पोखरा, बेगनास पुगेर १६ गते सम्पन्न भएको थियो । 

गोल्डेन ट्रयाङ्गल बाइक टूरका संयोजक तथा आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर र रानीमहल तथा बेगनासताललाई केन्द्रबिन्दुमा राखेर ‘एक्सप्लोर’ गर्दै बाइक टूर सफल भएको बताए ।

‘अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा सुरु गरिएको पहिलो गोल्डेन ट्रयाङ्गल बाइक टूर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै राइडर्स तथा सरोकारवालालाई विशेष धन्यवाद छ । काठमाडौँ, चितवन र पोखरासँगै पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर, जितगढी, रानीमहल र बेगनासतालको प्रवर्द्धनमा गोल्डेन ट्रयाङ्गल बाइक टूरले केही महत्वपूर्ण भूमिका खेलेको छ,’ समापन कार्यक्रममा उनले भने ।

बाइक टूरले नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण आगामी मंसिरमा पोखरामा गर्न थप सहज र सफलता मिलेको पनि उनले बताए । यसअघि उनकै नेतृत्वमा ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ पनि सफल भएको थियो ।

यस्तै अर्का आयोजक एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले नेपालमा बाइक टूरिङ कल्चर बढ्दै गएकोमा यो टूरले झन् महत्वपूर्ण भूमिका खेलेको बताए । आगामी दिनमा अन्तर्राष्ट्रिय राइडर्सलाई पनि नेपाल ल्याएर नेपालको पर्यटन प्रवर्द्धन गर्न हौसला मिलेको पनि उनको भनाई छ ।

कार्यक्रममा नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले गोल्डेन ट्रयाङ्गल बाइक टूरमार्फत पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गरिएकोमा खुशी व्यक्त गरे । वर्षौदेखि पर्सा निकुञ्जको प्रवर्द्धन गर्ने योजना भएपनि अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार, भ्लगरराइडर्समार्फत भव्य रुपमा स्वागत गर्दै एक्सप्लोर गर्न पाइएकोमा राइडर्ससँगै पर्यटन बोर्ड, नाट्टा र सरोकारवालालाई उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा टूर सफलतापूर्वक सम्पन्न गरेका राइडर्स, पत्रकार, कलाकारलाई प्रमाणपत्र तथा मार्शल टिम, सहयोग गर्ने सरोकारवालालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मान तथा प्रमाणपत्र वितरणपछि ‘बाइक टूरिङ कल्चर र नेपालको पर्यटन प्रवर्द्धन’ विषयमा छलफल तथा बहससमेत गरिएको थियो । श्रद्धा क्षेत्रीले मोडरेट गरेको सेसनमा अच्युत गुरागाईं, मोहन शर्मा, विष्णु विवेक र कुन्दन श्रेष्ठ वक्ता रहेका थिए ।

एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स नेपाल, क्लबको आयोजनामा नेपाल आयल निगम, नाट्टा मधेस प्रदेश, भरतपुर महानगरपालिका, नाट्टा लूम्बिनी प्रदेश, नाट्टा पाल्पा च्याप्टर र पोखरामा महिला पर्यटन व्यवसायी संघ, नेपाल (टेवान)को सहयोगमा गोल्डेन ट्रयाङ्गल बाइक टूर गरिएको हो ।

धादिङमा ‘ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा 

साथै कार्यक्रममा आगामी कार्तिक १० र ११ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं। १ मा हुने ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरिएको थियो । पर्यटन बोर्डका सीईओ डा.रेग्मी, नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं र गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले संयुक्त रुपमा ब्यानर सार्वजनिक गर्दै ‘ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरेका थिए ।

एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेनीघाट रोराङ गाउँपालिकाको सहयोगमा दशैँको अवसरमा आउँदो कार्तिक १० र ११ गते धादिङको ब्रोम्दिङथमभञ्ज्याङमा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले पहिलोपटक पर्यटकीय गाउँका रुपमा सम्भावना बोकेका ब्रोम्दिङथमभञ्ज्याङको ‘एक्सप्लोर’ गर्नेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको