विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै

चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको पाइएको हो ।

निक्के एसियाले जनाएअनुसार यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांकअनुसार चीनको प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक ११ अर्ब ८० करोड डलर पुगेको छ । सन् १९९८ यता चीनमा प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक भएको यो पहिलो पटक हो ।

चीनले साङ्घाईजस्ता ठूला महानगरमा लागू गरेको शून्य कोभिड नीतिका कारण सन् २०२२ को अप्रिल–जुन त्रैमासमा प्रत्यक्ष वैदेशिक लगानीमा तीव्र गिरावट देखिएको थियो । त्यसयता यसमा सुधार आउन सकेको छैन ।

यसै वर्षको सेप्टेम्बर महिनामा चीनमा जापानी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले गरेको सर्वेक्षणमा झण्डै आधा लगानीकर्ताहरुले सन् २०२३ मा आफूहरुले चीनमा लगानी गर्दै नगर्ने वा सन् २०२२ को अनुपातमा कम लगानी गर्ने जवाफ दिएका थिए ।

त्यस्तै, चीनमा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणमा ६६ प्रतिशतले चीन र अमेरिकाबीचको सम्बन्ध खराब बन्दै अवस्थामा चीनमा व्यवसाय गर्न चुनौति थपिएको बताएका थिए ।

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ । बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ ।

चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ । “सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित चार सय २३ टेरावाट प्रतिघन्टा (टिडब्लुएच) उत्पन्न हुनेछ जुन फ्रान्सको कूल विद्युत् खपतको बराबर हो”, सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ ।

नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेर कम कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युतमा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन विद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ ।

यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ । नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ । “यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ”, कार्बन ब्रिफले भनेको छ ।

चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए । भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए ।

बाइडेनको ‘नुडल कूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा अपराह्न भोजनका लागि गए र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो ।

यो साता राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उनीहरूको आफ्नै कूटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।

बाइडेन र सीले यसै साता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचारविमर्श गर्दैछन् । यो उनीहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ ।

बेइजिङको सात सय वर्ष पुरानो ड्रम टावर नजिक यात्रुहरूले दुवै नेताहरूले विश्वका लागि एक हुन सिक्न आवश्यक रहेको एएफपीलाई बताए ।

“चीन–अमेरिका सम्बन्ध तनावपूर्ण छ, तपाईं यो देख्न सक्नुहुन्छ तर उनीहरू अत्यन्त निकटसँग जोडिएका पनि छन्”, आफ्नो थर मात्र बताउने अर्थशास्त्रकी छात्रा युआनले भनिन्, “यी विशाल वैश्विक आर्थिक प्रणाली भएका दुई अत्यन्त ठूला मुलकु हुन्, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ, उनीहरूबीचको सम्बन्धले सम्पूर्ण विश्वको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पर्दछ ।”

सुप र बनहरूको तात्तातो कचौराले बाहिरको चिसोलाई राहत प्रदान गरिरहेको खचाखच भरिएको बिस्ट्रोबाहिर सेवानिवृत्त चालक यूले प्रतिद्वन्द्वी मुलुकका नेताहरूबीचको बैठकको स्वागत गर्दै अमेरिकी राष्ट्रपतिका लागि केही प्रशंसा गरे ।

“यो वास्तवमै राम्रो हो, मानिसले वास्तवमै यसको प्रतीक्षा गरिरहेका छन्”, उनले भने, “चीनमा हामीमध्ये अधिकांश वृद्धवृद्धाहरू अवकास भइसकेका छन् तर बाइडेन अहिले पनि अमेरिकी जनताका लागि लडिरहनुभएको छ, उहाँसँग धैर्य हुनुपर्छ साथै अमेरिकी जनताको समर्थन पनि हुनुपर्दछ ।”

चीनको राजधानीमा बाइडेनको रात्रिभोजपछि चीन–अमेरिका सम्बन्धमा गिरावट आएको छ र व्यापारदेखि ताइवानसम्मका थुप्रै मुद्दामा बेइजिङ र वासिङ्टनबीच विमति कायम छ ।

चीनमा जनताको राय नाप्न कठिन छ । मिडियामा व्यापक सेन्सरसिप लगाइएकोछ र मिडियाले पार्टीको लाइनको पालना गर्दछन् । जनता पनि सामान्यतया विदेशी सञ्चारमाध्यमसँग विवादास्पद विषयमा विचार दिन अनिच्छुक हुन्छन् ।

चालक युले सम्बन्धहरूको वर्तमान स्थितिजस्ता ‘उच्चस्तरीय मामिला’ सँग आफूलाई कुनै सरोकार नभएको बताए । यद्यपि उनले दुई मुलुकबीचको भिन्नताका कारण उनीहरूले मिल्न सिक्नु महत्त्वपूर्ण हुने बताए ।

“अमेरिका निश्चितरूपमा केही पक्षमा चीनभन्दा बलियो छ र चीन निश्चितरूपमा अन्य पक्षमा अमेरिकाभन्दा बलियो छ”, उनले भने, “यी दुई मुलुक एकअर्काका परिपूरक हुन् ।”

यद्यपि केही मानिसले बेइजिङ र वासिङ्टनबीचको बढ्दो भिन्नतातर्फ सङ्केत गर्दै कुनै पनि सम्झौता गर्न कठिन हुने बताएका छन् । आफ्ना कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध मुलुकको विकास रोक्ने प्रयास हो भन्ने चिनियाँ सरकारको धारणालाई उनीहरूले दोहोर्याएका छन् ।

“निश्चितरूपमा बाइडेनले आफ्नो देशको हितको रक्षामा ध्यान केन्द्रित गर्नुहुन्छ”, छात्रा युआनले भनिन्, “उहाँले केही यस्ता निर्णय लिन सक्नुहुन्छ जुन हाम्रो बुझाइभन्दा पर हुनसक्छ ।”

अमेरिकी राष्ट्रपतिप्रति शत्रुतापूर्ण व्यवहार देखाउने अन्य केही मानिसले भने बाइडेनले वैश्विक मुद्दाको समाधान गर्नुको सट्टा घरेलु समस्याहरू सुल्झाउन अधिक समय दिनुपर्ने राय व्यक्त गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने, “जहिलेदेखि बाइडेनले सत्ता सम्हाल्नुभयो, सम्पूर्ण वैश्विक अर्थतन्त्र अधोगतिमा गइरहेको छ, उहाँले युक्रेन र इजराइलमा भएका युद्धतिर नभएर अर्थतन्त्रमा ध्यान दिनुपर्छ ।”

बाइडेनको उमेर आफ्नो विचार बनाउनका लागि महत्वपूर्ण कारक हो कि भनेर प्रश्न गर्दा उनले भने, “यो उमेरको कुरा होइन, चीनका नेताहरू पनि वृद्ध छन् ।”

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मंगलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।

हिमाली राज्य उत्तराखण्डमा एक्स्काभेटरहरूले आइतबार बिहानैदेखि सुरुङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरुङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन् ।

‘हाम्रो सबैभन्दा ठूलो सफलता भनेको हामीले मजदुरहरूसँग सम्पर्क स्थापित गरेका छौँ र अक्सिजन र खानाको आपूर्ति सम्भव भएको छ’, उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले भने, ‘उनीहरू बाँच्नका लागि जे आवश्यक पर्छ त्यो गरिँदैछ ।’ सुरुङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उनले बताए ।

सुरुङ भत्केलगत्तै सरकारी उद्धार टोलीहरूले जारी गरेको तस्बिरहरूमा फराकिलो सुरुङमा फोहरका थुप्रोहरूले अवरुद्ध बनाएको देखाइएको छ । सुरुङको छतबाट भाँच्चिएका धातुका बारहरू र कङ्क्रिटका स्ल्याबहरू अगाडि पसेका छन् । टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकारी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ ।

उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दु मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरु निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दू तीर्थस्थलहरू र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

भारतमा ठूला पूर्वाधार आयोजनामा दुर्घटना हुनुलाई सामान्य मानिन्छ । गत जनवरीमा पारिस्थतिकीयरूपमा कमजोर उत्तराखण्डमा अचानक आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । सो बेला विज्ञहरूले आंशिकरूपमा अत्यधिक विकासका कारण यस्तो विपत्ति आएको बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ७ : ५८ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी