राष्ट्रियसभा निर्वाचनका लागि दलहरूको रस्साकस्सी, दलीय मतभारमा गठबन्धन बलियो  | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि दलहरूको रस्साकस्सी, दलीय मतभारमा गठबन्धन बलियो 



काठमाडौं – दलहरूलाई राष्ट्रियसभा निर्वाचनको चटारोले छोएको छ । यसको तयारीका लागि आन्तरिक तथा बाह्य रूपमा दलहरू लागिरहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

यो निर्वाचनमा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले मात्र निर्वाचनमा भाग लिन पाउँछन् । जसका लागि निर्वाचन आयोगले उनीहरूको मत भार तोकेको छ ।

आयोगले संविधानको धारा २ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता हुन मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा निवेदन दिन सूचना जारी गरिसकेको छ ।

आयोगले आगामी पुस २३ गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, माघ ११ गते मतदान हुने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

दलीय मतभारमा गठबन्धन बलियो 

संवैधानिक व्यवस्थाको नयाँ नीति अनुसार प्रदेशसभा सदस्यको मत भार ५३  हो । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मत भार १९ छ । प्रदेशगत रूपमा मतभारको तुलना गर्ने हो भने सबै प्रदेशमा सत्ता गठबन्धन बलियो देखिन्छ ।

कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य छन् । १ सय ३७ स्थानीय तह रहेको कोशीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २ सय ७४ जना छ । यहाँको कुल मत भार १० हजार १ सय ३५ रहेको छ । कुल मतदाता संख्या ३ सय ६७ रहेको छ । यो प्रदेशमा गठबन्धन दलको मतभार बलियो छ ।

मधेस प्रदेशमा हाल कायम रहेको प्रदेशसभा सदस्यको संख्या १ सय ७ छ । स्थानीय तहका नगर प्रमुख उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको संख्या २ सय ७२ जना छ । यो प्रदेशको कुल मत भार हजार ८ सय ३९ रहन जान्छ । मधेशमा केन्द्रको गठबन्धनसँग तालमेल भएका कारण गठबन्धन दलहरूको मतभार बलियो रहेको छ ।

बागमती प्रदेशमा पनि सत्ता गठबन्धनको मतभार राम्रो छ । यो प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय १९ छ । १ सय १९ स्थानीय तह रहेको यो प्रदेशमा २ सय ३८ जना स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष रहेका छन् । यो प्रदेशमा ३ सय ४८ जना मतदाता छन् ।

उनीहरूको मत भार १० हजार ३ सय ५२ छ । यो प्रदेशमा  प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार छ । गठबन्धनको पक्षमा मात्र कुल मत भार ६ हजार ७ सय ५१ छ ।

यस्तै, गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । यहाँ ६० जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या १ सय ७० जना छ । प्रदेशको कुल मतदाता २ सय ३० जना छन् । यो प्रदेशमा जम्मा मत भार ६ हजार ४ सय १० छ । जसमा गठबन्धनको पोल्टामा ३ हजार ७ सय ७४ मत भार छ ।

लुम्बिनी प्रदेशमा पनि गठबन्धन दलहरूको मतभार नै बढी छ । यहाँ जम्मा ८७ जना  प्रदेशसभा सदस्य छन् । १ सय ९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २सय १८ छ। भने यो प्रदेशका कुल मतदाता ३ सय ५ छन् । कुल मत भार भने ८ हजार ७ सय ५३ रहेको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति र जसपा पार्टीको गठबन्धन सरकार छ । भने जनमोर्चा र एकीकृत समाजवादीले पनि साथ दिएका छन् । यसो हुँदा यहाँको गठबन्धनको कुल मत भार ५ हजार ४ सय ७७ हुन जान्छ ।

यस्तै, कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय तह छन् । यहाँ सबैभन्दा कम ४० जना प्रदेश संसदहरु छन् । कर्णालीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १५८ जना छन् । यो प्रदेशमा जम्मा मतदाता १ सय ९८ जना छन् । भने कुल मत भार ५ हजार १ सय २२ छ । यहाँ माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सरकार छ । जस अनुसार गठबन्धनको मत भार ३ हजार ७ सय ७ छ ।

यता सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन नै बलियो छ । यहाँ जम्मा ५३ जना प्रदेशसभा सांसद छन् । स्थानीय तहको संख्या  ८८ छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ सय ७६ जना छन् ।

यो प्रदेशको जम्मा मतदाता १ सय ९८ जना छन् । भने जम्मा मत भार ६ हजार १ सय ५३ जना छन् । यो प्रदेशमा गठबन्धनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीको ४हजार ५सय १० मत छ । तर यो प्रदेशका नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सामेल छ ।

यसरी हेर्दा हरेक प्रदेशमा सत्ता गठबन्धनको सरकार बलियो छ । राष्ट्रियसभाको निर्वाचनमा यो गठबन्धनमा कुनै फेरबदल नआए सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार निर्वाचित हुने देखिन्छ ।

गठबन्धन दलहरूको तयारी कस्तो ? 

देशको प्रमुख शक्ति नेपाली कांग्रेस राष्ट्रियसभा निर्वाचनमा लागि माहोल बनाइरहेको छ । उसले गठबन्धनको ठुलो दल र प्रमुख शक्ति भएकाले राष्ट्रियसभा निर्वाचनमा अध्यक्षको दाबी गर्ने देखिन्छ । यसका लागि नेताहरू आन्तरिक तयारीमा पनि लागेका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलाको चर्चा भएको छ  । तर कांग्रेसका एक नेताका अनुसार विमलेन्द्र निधिलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार राष्ट्रियसभा निर्वाचनका बारेमा कांगेसमा औपचारिक रूपमा छलफल भएको छैन । शुक्रबार बस्ने बैठकमा यो एजेन्डामा छलफल हुने उनले बताए । राष्ट्रियसभा निर्वाचनमा गठबन्धन कायम रहने उनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल पनि यो विषयमा छलफल हुन बाकी रहेको बताउँछन् । उनी भन्छन्, ‘जिल्ला र प्रदेश अधिवेशनले यो विषयमा छलफल नै हुन पाएको छैन ।’

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार राष्ट्रियसभा निर्वाचनमा वर्तमान गठबन्धन नै कायम रहन्छ । उनले भने, ‘पात्रको विषयमा छलफल भएको छैन । शुक्रबार हुने बैठकमा यसले प्राथमिकता पाउँछ ।’

माओवादी केन्द्र पनि राष्ट्रियसभा निर्वाचनमा गठबन्धन कायम हुने बताउँदै आएको छ । माओवादीका महासचिव देव गुरुङ राष्ट्रसभा निर्वाचनमा गठबन्धन रहने बताउँछन् । उनी भन्छन्, ‘साझा भाग लगाएर जाने हो । पार्टीको क्षमताअनुसार सिट निर्धारण हुन्छ । हामीले पात्र र सिट संख्याबारे छलफल गर्न पाएको छैन । ’

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खबरहबसँगको कुराकानीमा गठबन्धन नै राष्ट्रियसभा निर्वाचनमा सामेल हुने बताएका छन् । उनले भनेका छन्, ‘गठबन्धन बाहेक अरूको विकल्प छैन । १९ वटा सिट नै गठबन्धनका उम्मेदवारले जित्छन् ।’

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि राष्ट्रसभा निर्वाचनमा गठबन्धन कायम रहने बताउँछन् । उनले खबरहबसँग भने, ‘गठबन्धनले सबै सिट जित्छ र जित्नु पर्छ हाम्रो मतभार बलियो छ । कस्लाई कति सिट भन्ने बारेमा छलफल भएको छैन । यसको विषयमा विस्तारै छलफल हुन्छ । हामी सहमतीका आधारमा अगाडि बढ्छौँ ।’

के भन्छ एमाले ?

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन भर्सेस एमाले हुने पक्का पक्की छ । तर एमाले गठबन्धनलाई एक हुन नदिने खेलमा देखिन्छ । महाकाली मेची अभियानमा व्यस्त रहेको एमालेले राष्ट्रियसभा निर्वाचनबारे छलफल नगरेको एमाले महासचिव शंखर पोख्रेल बताउँछन् ।

यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञावालीका अनुसार एमालेले आफ्नो अभियान सम्पन्न गरेर मात्र राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्नेछ । उनी भन्छन्, ‘हामीले दल दर्ता गरिसक्यौँ । पात्रको बारेमा छलफल पुस २ गतेपछि काठमाडौँ आएर हुन्छ ।’

राष्ट्रियसभा निर्वाचनमा सक्ता गठबन्धन अगाडि बढ्दा एमाले मतभारका हिसाबले कमजोर देखियो नि भन्ने प्रश्नमा उनले भने ‘गठबन्धन कायम रहन्छ भन्ने प्रस्ट छैन । हेरुम के–के हुन्छ । एमाले एक्लै लड्दा पनि कमजोर छैन ।’

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : १० बजे

‘वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ’

काभ्रेपलाञ्चोक– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक

दोहामा प्रधानमन्त्री ओलीसहितको टोली

दोहा- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त

४९ कम्पनीका मालिक केदारनाथ, जसले शिवशिखर डुबाएर तुलसी सहकारी खोले

काठमाडौं–तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहकारीको रकम हिनामिना

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले