हवाई दुर्घटना : छानबिन समिति बन्छन्, प्रतिवेदन कार्यान्वयन हुँदैनन् | Khabarhub Khabarhub

हवाई दुर्घटना : छानबिन समिति बन्छन्, प्रतिवेदन कार्यान्वयन हुँदैनन्


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ ।

मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौँबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ ।

हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।

उनका अनुसार नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको यो पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ ।

हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरुको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना पनि आफैँमा ठूलो हो ।

सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनीयर एकराजजङ थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई प्रतिवेदन पेश गर्न ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ ।

यती एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भने ।

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु भएको थियो ।

यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।

हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : ०२ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार