सबैको मनमा शिव | Khabarhub Khabarhub

सबैको मनमा शिव

महा शिवरात्रि विशेष



यसपालिको महाशिवरात्रि पर्व यही फागुन ६ गते शनिबार परेको छ। सबैको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा सो दिन र यस वरिपरिका दिनमा शिवजीको दर्शनका क्रममा अपार भीड लाग्ने गर्छ।

विश्वमा नै पञ्चमुखी शिवलिङ्गको ठूलो महत्त्व रहेको छ। अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दी स्वरुपको हो र उत्तर मुखलाई उमा अनि दक्षिण मुखलाई भैरव स्वरुप मानिएको छ। माथितिरको मुख महादेवको हो। यस्तै पूर्वीमुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिण मुख अघोरको रुपमा लिइन्छ भने ऊध्र्वमुखलाई ईशान भनिन्छ। प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मको रुपमा चित्रण गरिएको छ। सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ विलय हुन्छ त्यो क्षेत्र शिवलिंग हो।

भोलेबाबाले दीन दुःखीदेखि उच्च घरानीयालाई समेत पालेका छन्। भिखारी त्यहीँ आउँछन् व्यपारी पनि त्यहीँ। धर्मशाला ठूलो होटलमा परिणत हुन्छ, पूजा सामान बेच्ने व्यापारी ढोकैमा बस्न रुचउँछन्। अवैध बनेका संरचना हट्न मान्दैनन्। देशैभर रहेका पशुपतिका नामका जग्गा अतिक्रमणमा परेका छन्। दर्शनार्थीलाई सवारी पार्किङको समस्या छ।

थरिथरिका एनजीओ खोल थापेर बसेका छन्। कर्मकाण्ड गर्ने ब्राह्मण घाटतिर लखेटिएका छन्। लास जलाउनेले मनग्गे पैसा तिर्नुपर्छ, किरियापुत्री ठगीमा पर्ने गरेका छन्, पवित्र उद्देश्य लिएर पशुपतिक्षेत्र पुग्ने त्यहाँबाट फर्कदा निराश बन्न बाध्य छन्। राजनीतिको रगेटाइ पनि कम छैन। सरसफाइको समस्या र आन्दोलनका पाटा छरपष्ट छन्। गाई बाच्छा पनि पीडामा र बाँदर अखाद्य सामग्रीमा पर्नाले रोगी छन्। वागमतीको अवस्था कुरुप छ। ठेक्का पट्टा र पैसा कमाउने धन्दा चलेको छ। प्राचीन क्षेत्रको पहिचान शून्य हुने स्थिति छ।

पशुपति क्षेत्र सन्चालनमा छुट्टै कानुन छ। तथापि व्यवस्थित हुन नसक्दा संसारभरिका अर्बौँ भक्तको मर्ममा प्रहार भएको भान हुन्छ। कोरोनाकालमा भक्तलाई तीव्र पीडा भयो, अन्य धर्मीहरुको मन्दिर खुल्यो त्यहाँ खुलेन र यसपालि पशुपतिक्षेत्र विकास कोषले शिवरात्रि भर्न १० औं लाख भक्त यहाँ उपस्थित हुने जनाएको छ।

नेपाल नगरी काठमाडौं पूर्वक्षेत्रमा रहेको बागमती किनारामा भष्माञ्चल पर्वत, भष्मतीर्थ, भष्मगङ्गा आदि नामले पुकारिने श्लेष्मान्तक क्षेत्र, पश्चिम भागमा पावन पशुपतिनाथको मन्दिर छ। यो द्वादश ज्योतिर्लिङ्गको शिरभाग हो। भारतका प्रसिद्धक्षेत्र बद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्वतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड, स्कन्द पुराणमा उल्लेख गरिएको छ।

यहाँ शिवरात्रि, जनै पूर्णिमा, तीज, एकादशी, सोमबार, शनिबारदेखि वालाचतुर्दशी जस्ता पावन दिनमा हजारौं भक्तको भीड लाग्छ। सबैभन्दा बढी भीड शिवरात्रिमा लाग्ने गर्छ। भारतलगायत अन्यत्रबाट समेत यहाँ आउनेको घुइँचो नै हुन्छ। पशुपतिनाथको मन्दिर करिब दुई हजार वर्ष पुरानो मानिन्छ। यद्यपि यो आधुनिक मन्दिर चाहिँ सन् १६९२ मा राजा भुपतीन्द्र मल्लले बनाउन लगाएका हुन्। वंशावलीका अनुसार यो मन्दिर बनाउने श्रेय सुपुष्प देवलाई जान्छ।

सन् ३२५ मा राजा हरिदत्त बर्माले मन्दिर बनाउन उत्सुकता देखाएका हुन् भन्नेहरु पनि धेरै छन्। यो मन्दिर कलात्मक छ। छानो धातुले बनेको छ भने सुनको जलप लगाइएको छ। ढोका चाँदीका छन्। मन्दिर पश्चिम फर्केको छ। मूल ढोका अगाडि शिवको बाहन नन्दी भण्डै १५ फिट लामो र आठ फिट अग्लो छ। मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पुरै ६४ शिव लिंग छन्। त्यसो त काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर आदि गरी १० जिल्लामा ६४ ज्योतिर्लिङ्गको आदीम थलो छ भने ६४ ज्योतिर्लिङ्गमध्ये सर्वप्रथम आदीम लिङ्ग सिन्धुली क्षेत्रको कुशेश्वर शिव लिंग हो। अन्तिम ज्योतिर्लिङ्ग पशुपति मन्दिर परिसर उत्तर क्षेत्र कैलाशमुनिको रुद्रगारेश्वर हो।

पशुपतिनाथको मन्दिर दुई तले प्यागोडा शैलीको छ। झण्डै साढे तीन फिट अग्लो शिवलिङ्ग मन्दिरभित्र विराजमान छन्। हाल त्यहाँ सुनको जलप लगाइएको छ। मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौँ शताब्दीताका यहाँ आएका आद्यगुरु शङ्कराचार्यलाई जान्छ। महादेवले गुह्येश्वरी अर्थात् उमालाई साथै लिएर यहाँ विराजमान गर्ने गरेको भनिन्छ।

पूर्व दक्षिणतर्फ ब्रह्मनाल जसलाई आर्यावर्त भनिन्छ। यहाँ जल स्नान गर्नेहरु भवरोगबाट मुक्ति पाउँछन्। तर पानी फोहोर छ। ब्रह्मनालदेखि भष्मेश्वर क्षेत्र भष्मतीर्थ हो। यहाँ पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहबाट छुट्टी पाउँन सक्छन्।

पशुपतिनाथ मन्दिरपरिसरमै आफू नित्य निरंतर सेवा गर्ने अवसर पाउन लालयित शक्तिस्वरुपा उमाले शिवको प्रार्थना गरेपछि शिव आज्ञाअनुसार उमाले वत्सलाको रुप लिनु भएको र वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरेको पुण्य मिल्ने कुरा हिमवत् खण्डमा विर्णन गरिएको छ।

पार्वतीको रुपमा सतीको गुह्य पतन भएकोक्षेत्र विश्वको सात करोड पावन पीठको आदिमस्थल गुह्येश्वरीक्षेत्र पशुपतिनाथ मन्दिरको झण्डै एक किलोमिटर उत्तर पूर्वमा रहेको छ भने माघस्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किरातेश्वर भगवानलाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर पूर्वीक्षेत्र हो।

पशुपतिनाथको दर्शन गर्नु पूर्व गौरीघाटमा स्नान जल अर्चन गर्नुपर्ने, कैलाश क्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशाला क्षेत्रमा रहेकी जयवागेश्वरी आमाको स्तुति बन्दना गर्नुपर्ने कुरा नेपाल माहात्म्यमा वर्णन गरिएको छ। वत्सलादेवीकी पुत्र चन्द्र विनायक चावहिल क्षेत्र र त्यसक्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्द पुराणले वर्णन गरेको छ। वत्सलादेवी र नक्साल भगवती दिदीबहिनी हुन् भनिन्छ।

पशुपतिनाथको दर्शन पूर्व मन्दिर परिसर उत्तरतर्फ रहेको वासुकी नागको दर्शन गर्नुपर्ने हुन्छ। पशुपतिनाथ मन्दिरलाई पुरै परिक्रमाभन्दा पनि किरातेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जल अर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मङ्गला, राजेश्वरी, भुवनेश्वरी, भष्मेश्वर आदि क्षेत्रको दर्शन वढी महत्वपूर्ण रहेको छ। अष्टमातृका लगायत नारायणको दर्शन र सत्यनारायणको दर्शन झन् महत्वपूर्ण छ।

शिवरात्रि, तीज, वालाचतुर्दशी आदि विशेष भीड लाग्ने समय दर्शनार्थीले नियमतः दर्शन गर्ने गरेको पाइँदैन। भीड भाडको कारण र लामको व्यवस्थापन कार्यले पनि होला पुराणमा चर्चा गरिए अनुसारको नियम पालन भएको देखिँदैन। मृगरुपी शिवले विचरण गरेको स्थल मृगस्थली हो। कैलाशमा शिवलाई नदेखेर ब्रह्मा–विष्णु–इन्द्रले मृगस्थलीमा मृगरुप शिवलाई देखेपछि शिवजीलाई समात्न लाग्दा शिवस्वरुप मृगको स्वर्णसिंग ३ टुक्रा भएको र आफूलाई अपराध लागेकोले प्रार्थना गर्दा शिवजीले यो अपराध लाग्दैन, ३ वटा सिंगका टुक्राहरु स्वर्ग, पाताल र नेपालक्षेत्र गोकर्णमा लगेर स्थापना गर्नु भन्ने आज्ञा भएपछि मत्र्यमण्डलको अर्को पावनक्षेत्र वागमती तटमा गोकेर्णेश्वर क्षेत्रको उदय भएको हो। जहाँबाट वाग्द्वारदेखि झरेकी वागमती स्वरुपा शिवगङ्गा बग्दै आएर आर्यघाट हुँदै पवित्र शंखमूल पुग्छिन्।

मायारुपी पाशोमा बाँधिएका वद्ध प्राणीलाई पशु भनिन्छ। मायाबाट मुक्त पार्नेको नाम पतिका रुपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो। अज्ञानी मनुष्य नश्वर छन्। नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ। जीव र जगत् दुवै परमेश्वर शिवका गहना हुन्, खेलौना पनि हुन्। तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन्। अंशले अंशी प्राप्त गर्ने प्रयास स्वरुप जीवात्माहरु ब्रह्मादेखि स्थावर पर्यन्त सवै परमेश्वर शिवमा लय हुन चाहन्छन्। संसारको रचना सृष्टि हो, सृष्टिलाई चलाइ राख्नु पालना हो र सृष्टिलाई नाश गर्नु संहार हो।

जीवात्मावाट प्राण पखेरु निस्कनुलाई तिरोभाव भनिएको छ। यी चारै कार्यवाट उन्मुक्त हुनु चांहिँ “अनुग्रह” हो। अर्थात् यहाँ जम्माजम्मी ५ कार्यहरु भए संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पंचमुखी महादेव नै हुन्। मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो। शिवको पाँच मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण ! शिवरात्रिको महान अवसरमा सबैलाई शिव आशीर्वाद प्राप्त रहोस् शुभकामना।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : २९ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका