काठमाडौँ– नेपाल भलिबल सङ्घले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । .
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
अध्यक्ष चन्दले प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने बताए। उनले सङ्घले यसअघि ठूला–ठूला भलिबल प्रतियोगिताहरू आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दाबी गरे ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख लाग्ने अनुमान सङ्घले गरेको छ । सरकारले २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।