विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज जेठ १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह

अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग लगानीका लागि आग्रह गरेको छ ।

कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कान्दाहार भ्रमणमा रहेका बेला तालिबान समूहका प्रवक्ताले कतारलाई अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न अनुरोध गरेको टोलो न्यूजले जनाएको छ ।

‘हामीले कतारलाई उनीहरूको निरन्तर सहयोगको लागि आग्रह गर्‍यौँ र केही देशमा विद्यमान चिन्ता र शङ्का हटाउन कूटनीतिमा प्रभावशाली कदम चाल्न आग्रह गर्‍यौँ ।’

राजनीतिक विश्लेषक बर्ना सालेहीले भने, ‘तालिवानबारे चिन्ता व्यक्त गर्दै हालैको (दोहा) बैठकपछि अरब मुलुकहरूबाट अर्को सन्देश आएको थियो ।’ राजनीतिक विश्लेषक नेमातुल्लाह बिजानका अनुसार, ‘यदि अन्तर्राष्ट्रिय समुदायले कतारमार्फत तालिबानसँग आफ्नो सम्बन्ध सुधार्न चाहन्छ भने मलाई लाग्छ कतारको प्रमुख प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन र यसले तालिबानलाई उनीहरूको सम्बन्ध सुधारमा मद्दत गर्न सक्छ ।’

यसैबीच कतारका प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुरा गरी द्विपक्षीय सम्बन्ध र अफगानिस्तानको अवस्थाबारे छलफल गरेको कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्झौतामा हस्ताक्षर गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको हुनाले यसले हाल इस्लामिक इमिरेट्स र अन्तर्राष्ट्रिय समुदायबीच संलग्नता विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले भने ।

कतारले अमेरिका र तत्कालीन इस्लामिक इमिरेट्सको राजनीतिक कार्यालयबीच शान्ति वार्ताको आयोजना गरेको थियो जसको परिणामस्वरूप अमेरिका र तालिवानबीच शान्ति सम्झौता पनि भएको थियो ।

यस दृष्टिकोणको कतिपयले आलोचना गरेका थिए । कतारको मुख्य चासो क्षेत्रीय मध्यस्थकर्ताको रूपमा आफ्नो स्थितिलाई बलियो बनाउनु हो । कतार र तालिवानबीचको सम्बन्ध नयाँ मात्र हो । सन् २०१३ मा नै कतारले बाराक ओबामाको नेतृत्वमा अमेरिकी प्रशासनको सहयोगमा तालिबानलाई दोहामा कार्यालय खोल्न अनुमति दिएको थियो ।

त्यतिबेला वासिङ्टनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तयारीका लागि इस्लामिक मिलिशियासँग वार्ताका लागि तटस्थ स्थानको खोजी गरिरहेको थियो । सन् २०१८ देखि तालिबानका संस्थापक सदस्यमध्येका एक मुल्लाह अब्दुल गनी बरादरले कतारमा आफ्नो प्रतिनिधित्वको नेतृत्व गर्दै आएका छन् ।

इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगकाे आग्रह

इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो ।

अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् ।

मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् ।

सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए ।

भारतको उत्तर प्रदेशमा चालीस बाँदर मृत फेला

भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् ।

राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् ।

वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गरे ।

उनले भने, ‘गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौँ । हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड्का टुक्रा फेला पारेको छ,’वन विभागका एक अधिकारीले भने ।

‘मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ,’ उनले भने ।

प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ ।

‘घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना सङ्कलन गरिएको छ,’ उनले भने ।

यसैबीच, वन विभागका अधिकारीले केही शव परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् ।

सुडानको झडपमा परी करिब सात सय जनाको मृत्यु

सुडानी सेना र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ ।

सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल ( र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ ।

‘सुडानको सशस्त्र बल र र्‍यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तूम र आसपासका क्षेत्रमा कम्तीमा ६७६ जनाको मृत्यु भएको छ भने पाँच हजार ५७६ जना घाइते भएका छन्,’ ओसीएचएले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख ३६ हजार २०० आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन् ।

गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तूमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन् । झडपमा विशेष गरी दर्जनौँ कारखानाहरू लुटिएका वा जलाइएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसङ्ख्याको करिब एक तिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

मे ११ मा, सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह शहर जेद्दाहमा आपतकालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकहरूको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकहरूको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भए पनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन । हिंसात्मक झडपमा कमी आएको छैन ।

यद्यपि, दुवै पक्षले एक अर्कालाई सम्झौता उल्लङ्घन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन् ।

सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान शहरको अल–मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकहरूलाई गोली हानेको आरोप लगाएको थियो ।
यद्यपि आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ र यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।

गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या

पटियालाको गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।

पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो। पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दुख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन । सिंह नियमित गुरुद्वारा जाने गर्थे।

‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे ।

तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको लाइसेन्स प्राप्त रिभल्भरबाट महिलामाथि पाँच राउण्ड गोली हानेका थिए।’ टोलीबाट घाइते कौरलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सो घटनामा घाइते भएका एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । सो घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो ।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाईँ शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुर्‍याएका  थिए ।

“स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने ।

उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए ।

महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् । गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ०१ बजे

जीबी र रवि संलग्न कम्पनीमा मात्रै सहकारीबाट ६३ करोड ऋण लिएको भेटियो

काठमाडौं–सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

रूपन्देही– रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने 

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि