गर्मीले कैलालीको जनजीवन प्रभावित « Khabarhub

गर्मीले कैलालीको जनजीवन प्रभावित


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ । 

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । ‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ’, मायाले भनिन्, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।’

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउँछन्। ‘यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन’, उनले भनिन्, ‘कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।’ विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउँछन् ।

 ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । ‘गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ’, उनले भनिन्, ‘थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।’

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । ‘बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ’, उनले भने , ‘गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।’ गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सक्नुभएको छैन । ‘घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरूले अस्पताल लगेर उपचार गरेर बचाए’, राधेश्यामले भने, ‘त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।’

राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । यसैबीच बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् ।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ । गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो ।

टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : ३१ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु