बेनी–जोमसोम सडक : बैसरीको पहिरो रोकथाम गरिँदै « Khabarhub

बेनी–जोमसोम सडक : बैसरीको पहिरो रोकथाम गरिँदै


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो । सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए ।

‘छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ’, उनले भने, ‘करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।’

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुङ्गामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ । पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढ्ङ्गामाटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताए । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा व्यवस्थापन गरिने उनको भनाइ छ ।

पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गरिएको छ । बैसरीको पहिराले साउन २१ गतेदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

बेनीबाट पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । पहिराले पुरेको जिप अझै निकालिएको छैन भने सवारीधनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा ढुङ्गा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ । पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ ।

बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्रयाक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको थियो ।

डोजर, ब्याकुहोलोडर, ट्रयाक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युमपाइप राख्ने काम भइरहेको कार्यालयका सबइन्जिनियर रविन चोखालले जानकारी दिए । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन लागिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ४५ बजे

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन

नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन

नारायणगढ– भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।