दलितले उत्पादन गरेको दूध बिक्नै गाह्रो « Khabarhub

दलितले उत्पादन गरेको दूध बिक्नै गाह्रो


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ ।

दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताए । दैनिक १० लिटर दूध उत्पादन गर्ने गरेको बताउँदै उनले बिक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको उल्लेख गरे । चन्द्रबहादुरले छिमेकीले दूध बेचेर वार्षिक लाखौँ कमाउने गरे पनि आफूहरुको दूध बिक्री नहुँदा आम्दानी गर्न नसकेको दुखेसो पोखे । जातीय छुवाछूत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको उनको भनाइ थियो ।

“दलित समुदायले उत्पादन गरेको दूध बिक्री नहुँदा धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दूध बिक्री हुन्छ”, विकले भने, “यहाँ हामी सात घर परिवार छौँ । सबैले ५–१० लिटर दुध दैनिक उत्पादन गर्छन् । उत्पादन भएको आधा दूध बिक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो । नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने ?”

गाउँमा आफूहरुले उत्पादन गरेको दूध अरूको सँग मिसाउँदा गाडी दुर्घटना हुन्छ भन्ने गरेको उनले सुनाए । दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयवासीले दूध नकिन्ने उनको भनाइ थियो । दूध बिक्री नभएपछि अचेल भैँसीपालन पनि कम गर्न थालेको विकले बताए । चन्द्रबहादुर जस्तै बागलुङमा धेरै दलित समुदायका घरपरिवारले उत्पादन गरेका दूध बिक्री हुँदैन । जिल्लामा सञ्चालित दुग्ध सहकारीमा बारम्बार दूध मिसाउनका लागि आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसानको भनाइ थियो ।

दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरा लगायतका वस्तुहरु बिक्री हुने गरे पनि दूध बिक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताए । सरकारले डेढ दशकअगाडि छुवाछूतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्दै आएको उनको गुनासो छ । दूध उत्पादक सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँ–गाउँबाट सहकारीले सङ्कलन गरेर ल्याएको दूध आफूहरुले बिक्री विदरण गर्दै आएको बताए । गाउँबाट सहकारी संस्थाहरुले क–कसको दूध ल्याउँछन् भन्ने जानकारी नभएको भन्दै सबै समुदायको दूध आफूहरुले बिक्री गर्दै आएको उनको भनाइ थियो ।

दूध उत्पादन, प्रशोेधन र बजारीकरण गर्दै आएको सङ्घले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमले बताए । उनका अनुसार दुग्ध उत्पादक सङ्घमा हाल १४ दुग्ध सहकारी संस्था आबद्ध रहेका छन् । दैनिक दुई हजार पाँच सय लिटर दूध बिक्री वितरण हुने गरेको र सङ्घमा झन्डै एक हजार पाँच सय कृषक आबद्ध रहेको गौतमले जानकारी दिए । सहकारीले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेको उनले बताए । अध्यक्ष गौतमका अनुसार मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ ।

बिक्री नभएको दूधबाट दही, पनिर, छुर्पी लगायतका परिकार बनाई बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ । अध्यक्ष गौतम भने, “हामीले सबैको दूध राख्छौँ, गाउँ–गाउँका सहकारी संस्थाले क–कसको दूध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी सङ्घमा आबद्ध भएका जनसुकै किसानको दूध हामीले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पु¥याउँछौँ, बिक्री वितरण गरेर बाँकी रहेको दूधलाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने गरेका छौँ ।” बागलुङमा सबैभन्दा बढी दूध उत्पादन काठेखोला गाउँपालिकाका साथै बागलुङ र जैमिनी नगरपालिकामा हुने गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  २ : १९ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।