पशुपतिमा तीजको तयारी : चार ठाउँबाट दर्शनको व्यवस्था, तस्बिर र भिडियो खिच्न मनाही, पहिरन शोभनीय हुनुपर्ने « Khabarhub

पशुपतिमा तीजको तयारी : चार ठाउँबाट दर्शनको व्यवस्था, तस्बिर र भिडियो खिच्न मनाही, पहिरन शोभनीय हुनुपर्ने


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो ।

तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तिनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिचेमा मोबाइल सिज गरिनेछ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको उनले जानकारी दिए । कोषले तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

छलफलमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले तीजमा पशुपति क्षेत्रमा आउने महिलालगायत भक्तजनको पहिरन शोभनीय हुनुपर्ने बताए । दर्शनार्थीले अश्लील तस्बिर खिचेमा मोबाइल सिज गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइएको पनि उनले कार्यक्रममा सुनाए । पशुपति क्षेत्रमा दैनिक घरघरबाट बरालिएर आउने युवायुवतीलाई सम्झाउन सबैको सहयोग कोषले माग गरेको छ ।

सो अवसरमा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथको मूल मन्दिरसम्म गाडी लैजान बन्द गरिनुपर्नेमा जोड दिए । विगत वर्षमा कोषको पास लिएका र ज्याकेट लगाएर स्वयंसेवक बनेकालाई नै मूलमन्दिर परिसरबाट भगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिने गरी वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।

तीजका अवसरमा महानगरपालिकाले पशुपति क्षेत्रमा दुई वटा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विगत वर्षमा प्रवेश गरी कसैले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकामा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको जानकारी दिए ।

“पशुपतिनाथ मूल मन्दिरमा हिन्दूमात्र छिर्न पाइन्छ भन्ने आस्थासँग जोडिएको कानुन हो, परम्परादेखि चल्दै आएको या नियम पशुपतिनाथमा पालना हुन्छ”, प्रवक्ता अधिकारीले भने । छलफलमा कोष सञ्चालक परिषद् सदस्यत्रय शिक्षित पराजुली, डा भरतप्रसाद बडाल र आशा पाण्डेलगायतले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको बताएका थिए । यस वर्षको हरितालिका तीज व्रत असोज १ गते सोमबार परेको छ ।

पाँच दिने तीज पर्व भदौ ३१ गते आइतबारदेखि सुरु हुन्छ । तीजको पहिलो दिन आइतबार दर खाने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : १९ बजे

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई