काठमाडौं । माछापुच्छ्रे बैंकले बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार नेपालीहरूको महान चाड वडा दशैंमा नयाँ नोट सटही गर्न चाहने सेवाग्राहीलाई केन्द्रित गर्दै क्यूआर कोड सञ्चालनमा ल्याइएको हो । उक्त सेवा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले शुक्रवार संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उक्त सेवाबाट राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही गर्न आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् ।
जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ । यस बाहेक बैंकले फरक–फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याइरहेको छ ।
नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा बैंक निरन्तर अगाडि बढिरहेको छ ।
प्रतिक्रिया