विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतीय संसदमा सुरक्षा उल्लङ्घन प्रकरण : थप २ जना पक्राउ

भारतको राजधानी दिल्लीस्थित प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ । पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित सम्बन्ध रहेको बताइएको छ ।

स्पेसल सेलको काउन्टर इन्टेलिजेन्स युनिटको सोधपुछमा महेश पनि आक्रमणकारी टोलीमा समावेश हुन लागेको तर केही कारणले उनको परिवारका सदस्यले रोकेको सार्वजनिक भएको छ । यसका साथै महेशले पाँचौँ अभियुक्त तथा मास्टरमाइन्ड ललित झालाई दिल्लीबाट राजस्थानको कुचामन पुगेपछि उनका साथीहरूको मोबाइल फोन जलाउन पनि सहयोग गरेका छन् ।

अर्कातिर हिजो राति दुई प्रहरी अधिकारीसहित वरिष्ठ प्रहरी अधिकारीहरूले ललित झासँग सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताएका छन् । सूत्रका अनुसार हमलाको तयारी धेरै महिनाअघि भइरहेको खुलासा भएको छ ।

संसदमा प्रवेशका लागि प्रवेश पास आवश्यक थियो, त्यसैले यो उपलब्ध थिएन । ललितले सजिलै संसदमा प्रवेश गर्न कसले पासको व्यवस्था गर्न सक्छ भनेर सबैलाई सोधेका थिए । ललितले राजस्थानको होटलबाट लगातार समाचार च्यानलहरूमार्फत जारी घटनाक्रम र प्रहरीको गतिविधमाथि नजर राखिरहेका थिए । सूत्रका अनुसार लखनऊ, मैसुर, कर्नाटक, राजस्थान, महाराष्ट्र र हरियाणामा अभियुक्तहरूसँग सम्बन्धित स्थानमा जान र थप जानकारी प्राप्त गर्नका लागि दिल्ली प्रहरीको स्पेसल सेलले छ वटा टिम बनाएको छ ।

त्यसबाहेक स्पेसल सेलसँग अभियुक्तहरूलाई सात दिनको हिरासतमा राखेकाले उनीहरूलाई क्रस–भेरिफिकेसन र प्रमाणहरू पहिचान गर्नका लागि अलग अलग स्थानमा लगिने छ । संसदमा जुत्ताको जाँच गरिँदैन भन्ने थाहा पाएर जुत्ताभित्र धुवाँको डिब्बा सजिलै लैजान सकिन्छ भनी लखनऊमा दुई जोडी जुत्ता विशेष अर्डरमा बनाइएको पनि खुलासा भएको छ ।

यसैबीच सूत्रका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलले शनिबार वा आइतबार अभियुक्तहरूलाई संसद् परिसरमा पुनः लगेर बुधबार भएको संसद् सुरक्षा उल्लङ्घनको दृश्यलाई फेरि बनाउने छ ।

अपराध दृश्यको पुनः निर्माण गर्नका लागि अभियुक्तहरूलाई संसदमा लगिने छ । यसबाट अभियुक्तहरूले रङ्गीन स्प्रे लिएर संसदमा कसरी प्रवेश गरे र उनीहरूले आफ्नो योजनालाई कसरी सफल पारे भन्ने पत्ता लगाउन प्रहरीलाई सहयोग पुग्नेछ ।

विदेशी लगानी आकर्षण गर्न संविधान संशोधन आवश्यक : फिलिपिनी राष्ट्रपति मार्कोस

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विदेशी लगानी आकर्षण गर्नका लागि आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार निर्देशन दिएका छन् ।

राष्ट्रपति मार्कोसले गत वर्ष राष्ट्रपति बनेलगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए ।

फिलिपिन्सले सन् १९८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई छ वर्ष बनाइएको थियो ।

राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानहरूले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गरे ।

उनका अनुसार संविधानमा उल्लेखित आर्थिक प्रावधानले स्वेदेशी तथा विदेशी लगानीकर्ताबीचको समानतालाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्वदेखि समुद्रमा माछा मार्नेलगायतका विषयमा कायम गरिएको सीमितताबारे पनि राष्ट्रपति मार्कोसले चर्चा गरे ।

उनले आफ्नो प्राथमिक चासो देशलाई लगानीमैत्री राष्ट्र निर्माण गर्नु रहेको बताए । मार्कोसको कार्यकाल सन् २०२८ को मध्यमा सकिँदैछ ।

यसैबीच, फिलिपिन्सको प्रतिनिधिसभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी वर्ष संविधानका आर्थिक प्रावधानहरु परिवर्तन गर्न दबाब दिने बताएका छन् ।

चालु वर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।

राजनितिज्ञहरूले संविधान संशोधन गर्न चार्टर अभ्यास प्रयोग गर्ने र मार्कोसलाई संविधानको मर्म विपरित उनका बुवाजस्तै लामो समय सत्तामा रहने आकाङ्क्षा भन्दै अलोचना समेत सुरु भएको छ ।

पाकिस्तानमा भएका आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते

पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्धसैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दुई अर्धसैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई पक्राउ गर्नका लागि खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ ।

युक्रेनले वार्ता गर्न नचाहेको रुसी राष्ट्रपतिको आरोप

युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन् ।

‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भने ।

इरानमा जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा रहेको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।

“रास्क शहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतङ्कवादी जिहादी समूह’ ले गरेको आक्रमणमा ११ जना प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप–प्रशासक अलिरेजा मरहमतीले भने ।

सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ । अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।

यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल (आर्मी अफ जस्टिस) समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तान प्रान्तमा जारी अशान्तिका पछाडि लागूऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् ।

यसअघि पनि जुलाई २३ मा गस्तीमा रहेका चार जना प्रहरीको मृत्यु भएको थियो । सिस्तान–बलुचिस्तान प्रान्तमा भएको जैश अल अदल समूहले दाबी गरेको सशस्त्र झडपमा दुई प्रहरी र चार जना आक्रमणकारी मारिएको दुई हप्तापछि यो घटना भएको हो ।

गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहले’ गरेको थियो तर जसका सदस्यहरू’ घाइते अवस्थामा घटनास्थलबाट भाग्न सफल भएका थिए ।

फ्रान्सबाट बेलायत हिँडेको आप्रवासी सवार डुङ्गा दुर्घटना

फ्रान्सबाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० जनाभन्दा धेरै आप्रवासी बोकेको डुङ्गा दुर्घटनामा परेको छ । बिहीबार राति आप्रवासी बोकेको डुङ्गा इङ्लिश च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालेस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।

एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर (पाँच माइल) भन्दा कम दूरीमा समस्यामा फसेको जानकारी प्राप्त भएसँगै फ्रान्सेली समुद्री उद्धारकर्मीले तत्काल उद्धार प्रयास थालेका थिए ।

स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

चालक दलले आप्रवासी डुङ्गा तैरिन मद्दत गर्ने ट्यूबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी समुद्रमा हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालेमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन् ।

हरेक वर्ष दशौं हजार मानिसहरूले फ्रान्सबाट सानो डुङ्गामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँदै बेलायत पुग्ने गर्छन् । च्यानलले आप्रवासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ ।

अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुङ्गा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुङ्गा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो ।

सोही च्यानलमा यात्रा गरिरहहेका समय यसै वर्षको अगष्टमा सानो डुङ्गा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो । फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत स सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ ।

नोभेम्बरको अन्त्यसम्मको बेलायती सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन् । गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ५८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको