विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज  चैत २- २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १६, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दुरीको ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ,’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भनेका छन् । उनका अनुसार आज प्रक्षेपण गरिइको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालिेस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आह्वान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताए । जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताएका छन् ।

जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्नुहुने बताइएको छ । पैतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन् । क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताए ।

इराकमा हेलिकप्टर दुर्घटना : सात जनाको मृत्यु

उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस) ले बिहीबार जनाएको छ । युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति ८ः४० बजे दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाम नबताउने शर्तमा कुर्दिश सुरक्षा स्रोतले भनेको छ, ‘हेलिकप्टरभित्र भएको विस्फोटका कारण विमान दुर्घटना भएको र विमानमा रहेका सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । स्रोतका अनुसार हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन ।

कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन् ।

आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना

देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् । विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका हुन् ।

बेइजिङसँग सम्बन्ध जोड्ने निर्णयसँगै मध्यअमेरिकी राष्ट्र होन्डुरसले ताइवानसँगको ८० वर्षभन्दा लामो समयदेखिको कूटनीतिक सम्बन्ध तोड्ने छ । विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताए ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्त्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको कथन थियो । मध्यअमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।

एल साल्भाडोरः दुई हजार गुण्डागर्दीका सन्दिग्धलाई जेलमा कोचियो

एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी वाचा गरेका छन् । उक्त कारागारमा पहिलेदेखि नै दुई हजार बन्दीलाई राखिएको छ ।

राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दशौँ हजारलाई पक्राउ गरेको छ । उनीहरूमाथि कठोर कारबाही हुने चेतावनी दिएका छन् । बितेका तीन सय ५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन् । मानवअधिकार समूहहरूले भने पक्राउ परेका कैयौँ दुव्र्यवहारको शिकार भएका तथा निर्दोष मानिस पनि प्रहरी काराबहीमा परेका बताएका छन् ।

सरकारले सामाजिक सञ्जालमा सार्वजनकि गरेको भिडियोमा हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन बाध्य पारिएको देखाइएको छ । उनीहरूले सेतो सटमात्र लगाएका छन् । त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ ।

सरकारका न्याय एवम् शान्ति मन्त्री गुस्ताभो भिल्लाटोरोले गुणडकर्दी गर्ने गिरोहका सदस्य अब कहिल्यै सडकमा नफर्कने वाचा गरेका छन् । यद्यपि गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन् । हालसम्म करिब तीन हजार पाँच सय जनामात्र रिहा भएका छन् ।

पाँच हजार अफगान नागरिक स्वदेश फर्किए

इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।

उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा इरानबाट दुई लाख ८० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् । पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।

श्रीलंकममा खाद्य सुरक्षाको चेतावनी

श्रीलंकाका जनस्वास्थ्य निरीक्षकहरूले खाद्य विषाक्तताको घटनापछि खाद्य सुरक्षामा सतर्क रहन आग्रह गरेको सार्वजनिक स्वास्थ्य निरीक्षक सङ्घ ९पिएचआईयू० का प्रमुख रोहना डे सिल्भाले बताए छन् ।

कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकप्रिय धार्मिकस्थल श्री पाडामा आएका चार जनाको खाद्य विषाक्तताको लक्षण देखिएपछि मृत्यु भएको र अन्य १० जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

रोहनाले श्रीलंकाका सयौँ हजार तीर्थयात्रीमध्ये केहीको मात्र मृत्यु भएकाले नआत्तिन पनि आग्रह गरे। के भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको र नयाँ घटना भएमा जनतालाई जानकारी गराइने उनले बताए ।

लिबियाबाट २.५ टन युरेनियम हराएको पुष्टि

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले लिबियाको एक स्थानबाट साढे दुई टन प्राकृतिक युरेनियम हराएको र यसले रेडियोलोजिसम्बन्धी खतरा निम्त्याउन सक्ने बताएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूले भनेका छन्, ‘पहिले उपलब्ध करिब २.५ टन प्राकृतिक युरेनियम भएको १० ड्रमहरू त्यहाँ भेटिएका छैनन् ।’

उक्त स्थलबाट आणविक पदार्थ हटाउने परिस्थिति स्पष्ट गर्न र उक्त सामग्रीको ‘हालको स्थान’ बारे अनुसन्धान गर्न पनि प्रतिवेदनमा भनिएको छ । आईएईएले यसको खोजीका लागि थप गतिविधिहरू सञ्चालन गर्नेछ ।

आईएईएले भनेको छ, ‘आणविक पदार्थको वर्तमान स्थानको बारेमा ज्ञान गुम्नुले ‘रेडियोलोजिकल’ जोखिमका साथै आणविक सुरक्षासम्बन्धी चिन्तापनि निम्त्याउन सक्छ ।’ प्रतिवेदनमा उक्त स्थानको पहिचान गरिएको छैन र लिबियाले किन उक्त सामग्री कब्जामा लिएको हो भन्ने बारे केही बताइएको छैन ।

लिबियाका पूर्व तानाशाह मोआमेर कद्दाफीको नेतृत्वमा सन् २००३ मा आणविक हतियार कार्यक्रम रद्द गरिएको थियो । तर सन् २०११ मा कद्दाफीको पतनपछि उत्तर अफ्रिकी देश सङ्कटमा फसेको छ र असङ्ख्य लडाकूहरूले विदेशी शक्तिहरूको समर्थनमा विरोधी गठबन्धन बनाएका छन् ।

लिबियाको पश्चिममा रहेको राजधानी त्रिपोलीमा नाम मात्रको अन्तरिम सरकार र पूर्वमा सैन्य शक्तिशाली खलिफा हफ्तारको समर्थनमा रहेको अर्को सरकारबीच विभाजित छ ।

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा०को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो ।

फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ । हरेक कार्यकाल चार वर्षको हुन्छ तर उनले गत डिसेम्बरमा आफ्नो पहिलो तीन वर्षको कार्यकाललाई पूर्णकार्यकालका रूपमा गणना गर्न नहुने तर्क गर्दै सन् २०३१ सम्म पदमा रहनसक्ने बताएका छन् ।

गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा कतारले प्रवासी कामदार, महिला र अल्पसङ्ख्यकका अधिकार रक्षामा बेवास्ता गरेको उनीहरूमाथि असल व्यवहार नगरेको आलोचनाको डटेर प्रतिरक्षा गरेका इन्फान्टिनोले महिला तथा पुरुष विश्वकप फुटबल प्रतियोगिताको विस्तारका साथै फिफाको आय वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् ।

इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ । यसअघि ३२ टोलीले स्पर्धा गरेको विश्वकपमा अब ४८ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो वर्षको अन्त्यमा अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३२ टोली भिड्ने छन् ।

हनोई अन्तरराष्ट्रिय म्याराथनमा १० हजार धावक सामेल हुने

भियतनामको राजधानी हनोईमा आगामी शरद ऋतुमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावकहरूलाई सामेल गराइने भएकाे छ।

आगामी अक्टोबर ८ मा आयोजना हुने ठूला स्तरको खेलकुद कार्यक्रमले स्थानीय फिटनेस र खेलकुद उद्योगलाई प्रवर्द्धन गर्ने अवसर सृजना गर्ने खेलकुद व्यवस्थापन महाशाखाका प्रमुख डिन्ह भान लुयेनले बताएका छन्।

आयोजकहरूले आशा गरेअनुसार म्याराथन ठूलो सङ्ख्यामा सहभागीहरूको साथ वार्षिक कार्यक्रम बन्नेछ जसले हनोईको ब्रान्ड र छविको प्रचार(प्रसारमा सहयोग पुग्नेछ।

सबैभन्दा लोकप्रिय प्रतिस्पर्धात्मक खेलहरू मध्ये एकको रूपमा, म्याराथनले हनोईको आकर्षण र यसको पर्यटक सम्भावनाप्रति अन्तरराष्ट्रिय ध्यान आकर्षित गर्न मद्दत गर्न कार्यक्रम आयोजकहरूले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : ५९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर