दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज दिनभर वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन, उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, त्रिचन्द्र क्याम्पसमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने, भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य,  यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेशलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको गुनासो आएको भन्दै सो निर्देशन दिएका हुन् ।

‘वैदेशिक रोजगारीमा जाने युवाले पासपोर्ट बनाउँदा, स्वास्थ्य परीक्षण गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म पाउने दुःख जटिल छ’, उनले भने , ‘कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’

प्रधानमन्त्रीले मन्त्रालयका वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी काम समयमै सम्पन्न गर्न, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विकास निर्माणमा सहजीकरण गर्न समेत निर्देशन दिए। उनले भने ,’विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा लाग्नुहुने नै छ । साथै केही विषयमा अझ सक्रियताका साथ कार्यसम्पादन गर्न पनि म निर्देशित गर्दछु ।’

गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनलाई समसामयिक बनाउनेतर्फ आफू लाग्न र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन तत्काल गर्न उनले निर्देशन दिएका छन् ।

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ’, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भने , ‘मतपत्र पनि केन्द्रमा आइसकेको छ ।’ संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्ने छन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन् ।

संघीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए। ‘मतदानपश्चात् तत्काल मतगणना हुन्छ’, उनले भने, ‘साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छौँ ।’ उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाताका रुपमा रहेको छन् । उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

नेपालको संविधानको धारा ६७ मा नेपालमा एक उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संविधानमा उल्लेख छ । निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतःरिक्त हुने संवैधानिक प्रावधान छ । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।

नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

मौनअवधिमा बैठक बसेर उपराष्ट्रपतिबारे निर्णय नगर्न-नगराउन आयोगको ध्यानाकर्षण

काठमाडौँ– निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ ।

उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा गर्न नपाइने उल्लेख छ । यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आग्रह गरेको छ ।

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य
भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ कायम रहेको छ ।

त्रिचन्द्र क्याम्पसमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ ।

विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि नयाँ मिति सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए ।मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए।

मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिए ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहेका छन् ।

समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताए। मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए ।

कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई २ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि