आज जेठ २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारतले रुसी तेल युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले यसलाई रोक्नुपर्ने बताएका छन् ।
मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा उनले भनेका छन्, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नुपर्छ ।’
रुसले युक्रेनमा आक्रमण गरेदेखि भारत रूसी तेलको प्रमुख खरिदकर्ता भएको उल्लेख गर्दै उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताए ।
‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।
यद्यपि, बोरेलले यसबारे भारतीय विदेशमन्त्रीसँग कुरा उठाउने बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर र बोरेलबीच मंगलबार भेटवार्ता हुँदैछ ।
न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु
न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चारतले होस्टेल भवनमा रातभर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोमबार मध्यरात करिब साढे १२ बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको हो ।
आगलागी भएको उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको छ भने पाँच जनाको छतबाट उद्धार गरिएको छ । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइतेसहित पाँच जनालाई अस्पताल पठाइएको छ ।
बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् ।
उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवासमन्त्री मेगन वुड्सले बताएकी छिन् ।
११ वर्षदेखि बन्द सीमा नाका खोल्न सोमालिया र केन्या सहमत
केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सहमत भएका छन् ।
आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ ।
त्यसैगरी, गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यस्तै, अन्य नाकाहरु पनि क्रमशः खोलिनेछ ।
सोमालियाका आन्तरिक सुरक्षामन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भने, ‘हामी सोमालियामा प्रवेश गर्ने अर्को सीमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौं ।’
केन्याले सन् २०१२ मा अल शबाब आतङ्कवादी समूहबाट हुने हमलापछि सोमालियासँगको सीमा बन्द गरेको थियो । जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताएका छन् ।
साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उनले बताएका छन् ।
कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न तालिबानलाई राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसमक्ष कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न आह्वान गरेको छ ।
अफगानिस्तानमा राष्ट्रसंघको सहायता मिसनका मानव अधिकार प्रमुख फियोना फ्राजेरले जारी गरेको विज्ञप्तिमा तालिबानले दिन यस किसिमका सजाय अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको उल्लेख छ ।
उनले यस्ता सजाय तत्काल रोक्न माग गरेकी छिन् । यता तालिबानको नेतृत्वमा रहेको अफगानिस्तानको विदेश मन्त्रालयले भने मुलुकमा बसोबास गर्ने मानिसहरुले इस्लामिक कानूनको पालना गर्दै आएको भन्दै अफगानिस्तानको कानून इस्लाममा आधारित रहेको प्रस्टोक्ति दिएको छ ।
अन्तर्राष्ट्रिय कानून र इस्लामिक कानूनमध्ये एक मान्नुपर्ने अवस्था आए आफूहरुले इस्लामिक कानून पालना गर्ने तालिबानको भनाइ छ ।
सन् २०२१ को अक्टोबर महिनामा तालिबानले शासन सम्हालेयता अफगानिस्तानमा मृत्युदण्ड, यातना, मानवअधिकारको उल्लङ्घनजस्ता घटनामा वृद्धि भएको बताइन्छ ।
चीनको बीआरआई परियोजनाको साख खस्किँदै
इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन ।
जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको चेतावनी दिएका छन् । युक्रेनमा जारी आक्रमणसँगै पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धको असर पनि बीआरआईमा देखिएको विश्लेषकहरु बताउँछन् ।
पछिल्ला केही वर्षयता बीआरआई मातहतका सम्झौतामा पनि कमी आएको छ । चिनियाँ कम्पनीले बीआरआई सम्झौता भएका मुलुकमा साझेदार पाउन पनि कठिन हुँदै आएको बताइन्छ ।
चीनको साङ्घाईमा रहेको फुदान विश्वविद्यालयको ग्रिन डेभलपमेन्ट एण्ड फाइनान्स सेन्टरका अनुसार नेपाल अङ्गोला, रुस, श्रीलंकाजस्ता १४ वटा मुलुकमा सन् २०२१ को तुलनामा सन् २०२२ मा बीआरआईअन्तर्गतका लगानी र निर्माण परियोजनामा शत प्रतिशत गिरावट आएको छ ।
त्यसैगरी, बीआरआई मातहत मै निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोरमा ३४ प्रतिशत, सब सहारन अफ्रिकामा बीआरआईका लगानीमा ६५ प्रतिशत तथा निर्माणमा ४४ प्रतिशत गिरावट आएको जनाइएको छ । त्यस्तै, पश्चिम एसियामा पनि चिनियाँ लगानीमा उल्लेखनीय गिरावट देखिएको छ ।
पछिल्लो समय साझेदार मुलुकहरुले पनि बीआरआईलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । बीआरआई परियोजना अन्तर्गत सञ्चालित इक्वेडोरको कोका कोडो सिनक्लेयर जलविद्युत परियोजना र अङ्गोलाको आवास कार्यक्रमको भविष्यबारे पनि प्रश्न उठेको छ । भ्रष्टाचार, भारी ऋण, वित्तीय समस्या, पारदर्शीताको अभावजस्ता कारणले पनि बीआरआईको औचित्यमा प्रश्न उठ्ने गरेको छ ।
सन् २०२१ मा एडडेटाले प्रकाशित गरेको तथ्यांकअनुसार बीआरआईसँग सम्बन्धित ३५ प्रतिशत परियोजनाहरु भ्रष्टाचार, श्रमिकमाथि हुने दुव्र्यवहार, पर्यावरणीय क्षतिजस्ता समस्याले ग्रस्त छन् ।
हालै मलेशियाले ११ अर्ब ६० करोड डलर बराबरको चिनियाँ पूर्वाधार परियोजना रद्द गरिदिएको थियो । त्यसैगरी, कजाखस्तानले १ अर्ब ५० करोड डरल तथा बोलिभियाले १ अर्ब डलर बराबरका चिनियाँ परियोजना रद्द गरेका थिए । यसबाहेक कोस्टा रिका, सुडान, इथियोपिया, इक्वेडोर, जाम्बिया, क्यामरुनजस्ता मुलुकले पनि ३ अर्ब ३० करोड डलर बराबरका चिनियाँ परियोजना रद्द एवम् स्थगित गरेका छन् ।
कोरोना भाइरसको महामारीसँगै विकसशील मुलुकमा देखिएको आर्थिक कठिनाईले पनि बीआरआईबारे नकारात्मक धारणा उत्पन्न हुने गरेको छ । बेलायतको ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले विश्वभर २ अर्ब ४० करोड डलर बराबरका १५ वटा बीआरआईअन्तर्गतका परियोजनामा आर्थिक समस्या देखा परेको उल्लेख गरेको छ ।
बीआरआईको घट्दो लोकप्रियताबारे चिनियाँ नेतृत्वले पनि चासो देखाउन थालेको विश्लेषकहरु बताउँछन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बारम्बार बीआरआईलाई ‘शताब्दीकै परियोजना’ बताउने गरेका थिए तर सन् २०२२ मा राष्ट्रपति सीले कुनै पनि सम्बोधनमा बीआरआईको नामसमेत उच्चारण गरेनन् । यसबाट पनि बीआरआई अझ जटिल बन्दै गएको र यसका लागि बलियो जोखिम नियन्त्रण एवम् साझेदारी आवश्यक रहेको देखिन्छ ।
म्यानमामा मोचा आँधीका कारण पाँच जनाको मृत्यु
म्यानमामा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिनु भएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन् ।
आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप शहरका एक(एक जना र अय्यारवाडी क्षेत्रको येकी शहरका एक जना रहेको बताइएको छ ।
सञ्चारमाध्यमका अनुसार मोचा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल, ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्याएको छ ।
मोचा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन् । मोचा आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ । राखिन र चिन राज्यका शहरहरूमा थप हताहती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ ।
म्यानमाले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ । साथै मोचा चक्रवातका कारण दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ । सोमबार दिउँसो म्यानमाको मौसम निकायले जनाएअनासर अनुसार मोचा चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ।
प्रतिक्रिया