पानी अभावले धान रोप्न ढिलाइ « Khabarhub

पानी अभावले धान रोप्न ढिलाइ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी  यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ । 

‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ’, चौधरीले भने, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’

यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् । 

भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन्। सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनी पानीको पर्खाइमा छन् । 

‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन’, चौधरीले भने, ‘यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।’

गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन् । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउँछन्  । 

‘सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ ।’ लक्ष्मणले भने , ‘गाउँमा हामी सबै किसान छौँ । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।’

भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन । चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्सातको समयमा बाढी र डुबानले विकराल रूप लिने गरेको छ । कैयौँ वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ । 

‘सिँचाइको समस्या छ । बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन ।’ स्थानीय कलशराम डङ्गौराले भने, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।’

वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पुर्‍याएको छ । किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहराले बताए । ‘पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ ।’ उनले भने, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।’ 

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । बर्सातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले दुई पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपुर्‍याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ३५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका