लामो समयको खडेरीले ब्याडमै सुक्न थाल्यो धानको बीउ « Khabarhub

लामो समयको खडेरीले ब्याडमै सुक्न थाल्यो धानको बीउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रामपुर– खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । 

असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउँछन् ।

‘समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ’, उनले भने। तिवारीका अनुसार कुलोको पानी पालो अनुसार सिँचाइ दिन रातदिन धाउनुपरेको छ । प्रयाप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रँदै गरेको बीउ सुक्ने अवस्थामा छन् । रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको बताउँछन्, शोभा आले । 

‘पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ’, उनले भने, ‘दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ, खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।’ 

घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पङ्गेनीले बताए । रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ । 

हिले ब्याड बनाएर बीउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन । यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए।

उनले भने, ‘पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ, पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुँवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बीउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन् ।’

पाण्डेयका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बीउ राख्न अझै बाँकी नै छ । कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौँ धौँ अवस्था छ । बिहानैदेखि रात नपरुञ्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पुर्‍याउन कठिनाइ छ ।

ब्याडमा बीउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन् । महँगो मूल्यमा बजारका एग्रोभेटमा बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् । वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् । 

खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ४६ बजे

रास्वपाले थाल्यो स्थानीय निर्वाचन तयारी, उम्मेदवारबारे आचार्यको नेतृत्वमा ‘क्यान्डिडेट क्लब’ सम्पादन समिति

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भित्र्याउन किसानलाई आग्रह

काठमाडौं–  मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमल पन्तलाई

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई

इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स