मेची भन्सार कार्यालयद्वारा अम्रिसो निकासीमा यथार्थ मूल्य कायम « Khabarhub

मेची भन्सार कार्यालयद्वारा अम्रिसो निकासीमा यथार्थ मूल्य कायम


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा- झापाको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकामा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिए ।

यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आइएको उनले बताए । “रु ७० मा कायम गरेर अम्रिसो निकासी गरिँदै आइएको थियो”, अधिकृत कोइरालाले भने, “अहिले बजारभाउ बुझेरमात्र निकासी मूल्य कायम गर्ने गरिएको छ ।”

अम्रिसोको बजार मूल्य सरदर प्रतिकिलो रु एक सय २२ रहेको छ । यथार्थ मूल्य नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रु एक सय २० मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

स्वदेशी उत्पादनमा जिल्ला उद्योग वाणिज्य सङ्घले उत्पत्तिको प्रमाणपत्र दिने भएकाले जति मूल्य राखेर ल्याइन्छ सोही मूल्यमा निकासी गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

व्यापारीले गत वर्ष पनि किसानबाट रु एक सय १५ प्रतिकिलोले अम्रिसो किनेर भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत र बङ्गलादेश निकासी गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । स्थानीय व्यापारीले इलाम र पाँचथरका गाउँ–गाउँबाट सङ्कलन गरेको अम्रिसो झापाको बिर्तामोड, धुलाबारी, मेचीनगरका व्यापारीलाई केही नाफा राखेर बेच्ने गरेका छन् । झापाका व्यापारीले सामान्य ग्रेडिङ र प्याकेजिङ गरेर पूर्वी नाका काँकरभिट्टाबाट भारत, बङ्गलादेशलगायत मुलुकमा निकासी गर्ने गरेका छन् ।

अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याइन्छ । ग्रेडअनुसार मूल्य तोकेर निकासी गर्ने गरिएको छ । यसरी निकासी हुने कृषि वस्तुका लागि एउटा प्रज्ञापनपत्रमा रु एक सय १३ भन्सार सेवा शुल्कबाहेक केही पनि तिर्नु पर्दैन । व्यापारीले स्वयं घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुन्छ ।

स्वयं घोषणा गर्ने मूल्य व्यवसायीकै सङ्गठन नेपाल उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्सबाट निर्धारण हुन्छ । त्यसको पनि ९९ प्रतिशत उद्योग वाणिज्य सङ्घले हेर्ने गर्दछ ।

निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिलबाहेकको पैसा विदेशबाट हुन्डी या अरु माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढावा दिने जानकारहरुले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : १० बजे

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक